लापरवाहीले विद्युत् उपकरण चोरी

डोटी । उचित सुरक्षा नहुँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल नजिकै रहेको समूहगाड जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री चोरी हुन थालेका छन् ।

कूलपाते नजिक समूहगाड खोलामा निर्मित दुई सय किलोवाट क्षमताको सो विद्युत् गृहमा गत ०६६ भदौमा आएको बाढीले क्षति पुर्याएपछि बेवारिसे अवस्थामा रहेकाले सामग्री चोरी भइरहेका छन । बाढीेले विद्युत् गृहको ‘पेनस्कटक’ पाइप तथा आयोजनामा क्षति पुर्याएपछि अहिलेसम्म मर्मत नगरिँदा दिनहुँ चोरी हुन थालेको स्थानीयवासी बताउँछन् ।

साना जलविद्युत् कार्यालयका सबस्टेसन प्रमुख भरत द्वारियाले सो विद्युत् गृहमा मर्मत गरेर विद्युत्् पुन सञ्चालन गर्न केन्द्रबाट टोली आएको र खर्च बढी लाग्ने देखिएपछि केही नगरिएको बताए । सो विद्युत् गृह पुनः नचल्दा जिल्लामा अहिले दैनिक दुई घण्टा विद्युत्भार कटौती हुन थालेको छ ।

बाढीले क्षति पुर्याएपछि चौकीदारलाई सबस्टेसनमा सारिएको थियो । सबस्टेसनका प्रशासन प्रमुख बलबहादुर विकले भने, ‘बाढीले विद्युत्गृहमा बस्ने अवस्था नभएकाले कर्मचारी सबस्टेसनमा सारेका हाैं विद्युत् सामग्री चोरिदैँछन् भन्ने थाहा पाएपछि सुरक्षाका लागि एक जना कर्मचारी खटाएका छौँ ।’

सो विद्युत्गृहमा साना तथा काम लाग्ने कतिपय उपकरण चोरिएको उनले स्वीकार गरे । प्रमुख द्वारियाले विद्युत् उपकरण चोरी गर्नेका बारेमा जानकारी लिने काम भइरहेको बताए । सो विद्युत्गृह ०३८ सालमा निर्माण गरिएको थियो ।

प्रतिक्रिया