विश्वकै लामो उडान सञ्चालनमा


सिंगापुर । सिंगापुर एयरलाइन्सले विश्वमा अहिलेसम्मकै लामो उडान भर्ने भएको छ । बिहिबार सिंगापुर एयरलाइन्सले सिंगापुरदेखि न्युयोर्क, अमेरिकासम्मको उडान लगातार १९ घण्टा तय गर्न लागेको हो । जुन विश्वमा अहिलेसम्मकै लामो उडान हुनेछ ।

यस उडानका क्रममा सिंगापुर एयरलायन्सको विमानले १५ हजार किलोमिटरभन्दा बढीको दुरी पार गर्नेछ । यसअघि सिंगापुर एयरलायन्सले नै १९ घण्टाको लगातार उडान भर्ने योजना ल्याएको थियो । केही समय सञ्चालनमा आए पनि यस सुविधा महंगो भएपछि पाँच वर्षपछि बिहीबार एयरलायन्सले सोही योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

सिंगापुरदेखि न्युयोर्क लगातार उड्ने विमानमा १ सय ६१ यात्रु क्षमता रहेको छ । एयरलाइन्सले यात्रुहरूको अनुरोधपछि पुन : यस्तो सुविधा प्रदान लागेको बताएको छ । सिंगापुर–न्युयोर्क रूटमा विशेषगरी, व्यापारीहरूले यात्रा गर्छन् । यी दुवै व्यापारिक हब मानिन्छन् । विश्वकै लामो यो उडानमा इकोनोमी क्लास हुने छैन ।

बिजनेस क्लास तथा प्रिमियम इकोनोमी क्लास मात्र छन् । एयरलाइन्स यो उडानमा इकोनोमी क्लास राख्न पनि इच्छुक देखिएको छैन । विश्वभर लामो दुरीको उडान भर्ने लहर नै चलेको अवस्थामा सिंगापुर एयरलाइन्सले न्युयोर्क उडान सुरु गरेको हो ।

यसैवर्षको सुरुआतमा क्यान्टसले १७ घण्टासम्म लगातारको उडान सञ्चालनमा ल्याएको थियो । यो उडान पर्थदेखि लण्डनसम्म पुग्छ । यस्तै कतारले समेत साढे १७ घण्टा अकल्यानडदेखि दोहाको उडान गर्दै आएको छ ।

प्रतिक्रिया