विद्यालय जान थाले डुम बालबालिका


घरदेखि दुई मिटरको दूरीमा विद्यालय भएर पनि सप्तरीको डिमनका १० वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैनथे । पढ्ने रहर भएर पनि सामाजिक रूपमा गरिँदै आएको अपमानजनक व्यवहार र चेतनाको अभावमा उनी विद्यालय नगई बाँसको सामान बनाउने काममा आफ्ना बुबालाई सघाउँदै आएका थिए ।

स्थानीय महिलाहरूको लामो प्रयासपछि विगत एक वर्षदेखि उनी नियमित विद्यालय जान थालेका छन् । १२ वर्षको उमेरसम्म विद्यालयको मुखसम्म हेर्न नपाएका अर्जुन मरिक पनि विद्यालय जान थालेका छन् । स्थानीय डिमन माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्दै आएका सन्तोष र अर्जुनले अगुवा महिलाहरूको सक्रियतामा आफूहरू विद्यालयसम्म पुगेको बताएका छन् ।

महिलाहरूको पहलमा अर्जुन र सन्तोष मात्र होइन, शिक्षाबाट वञ्चित डुम बस्तीका सबै १२ जना बालबालिका विद्यालय भर्ना भएर पढ्न थालेका छन् । दलित समुदायमा पनि सबैभन्दा तल्लो जातिको मानिने डुम समुदायका बालबालिकाहरू अझै विद्यालयसम्म पुग्न सकिरहेका छैनन् ।

सामाजिक, आर्थिक र शैक्षिकलगायत सबै क्षेत्रमा पछाडि परेको डुम समुदायका बालबालिकाहरूलाई विद्यालयसम्म ल्याउन धेरै मिहिनेत गर्नुपरेको सामाजिक क्षेत्रमा क्रियाशील अगुवा महिलाहरू बताउँछन् । ‘सुरुसुरुमा चेतनाको अभावमा डुम समुदायका अभिभावकहरू आफ्ना बच्चाहरूलाई विद्यालय पठाउनै मान्दैनथे ।

तर, नियमित रूपमा महिलाहरू समूह बनाएर दबाब दिएपछि बल्ल उनीहरू आफ्ना बच्चाहरूलाई विद्यालय पठाउन मञ्जुर भए’, डिमन गाविस–१ निवासी ज्योतिकुमारी भण्डारीले भनिन्, उनी भन्छिन्, ‘सुरुसुरुमा धेरै गाह्रो थियो । तर, अहिले डुम अभिभावकले काम छोडाएर आफ्ना बच्चाहरूलाई नियमित स्कुल पठाउन थालेका छन ।

डुम बस्तीका विद्यार्थी विद्यालय जान थालेपछि तिनका अभिभावकहरूसमेत उत्साहित बनेका छन् । समग्र विकास सेवा केन्द्रको सहयोगमा सञ्चालित सशक्तीकरण अभियानअन्तर्गत डिमन–१ मा गठित जनजाति सामाजिक परिवारमा आबद्ध ती महिलाहरूको सक्रियतामा दलित र गैरदलितबीच हुने भेदभावसमेत न्यून हुँदै गएको स्थानीय बासिन्दाहरू बताउँछन्।

छुवाछूत र भेदभावलाई त्यागेर सो गाउँका महिलाहरू अहिले गाउँको सामाजिक विकास र आयआर्जनको काममा समेत नेतृत्व लिँदै आएका छन् । ‘छुवाछूत भनेको अन्धविश्वास हो, यसले मानव समाजलाई नै अघि बढ्न दिँदैन,’ ज्योतिकुमारीले भनिन्, ‘उचनिचको कुरा गर्नु हुँदैन भन्ने ज्ञान हामीलाई भयो ।’

‘पहिला डुम भनेको सानो जात हो, यसले छोएपछि हाड नै छोइन्छ भन्ने हामीमा कुविचार कायम थियो, त्यसैले दलितहरूसँग छोइछिटो गर्दथ्यौँ,’ सामाजिक परिवारका अध्यक्ष तथा अगुवा महिला चन्दनदेवी भण्डारी भन्छिन्, ‘तर अहिले हामी डुम समुदायका महिलाहरूसँगै बसेर कुरा गर्छौँ । बैठकमा बसेका वेला हामी चिया पनि सँगै खान्छाैं ।’

विभिन्न संघ÷संस्थाहरूबाट गाउँमा हुने कार्यक्रमहरूमा जातपात भन्नु हुँदैन, जातीय विभेद गर्नेमाथि कानुनी कारबाही हुन्छ भन्ने सुनेपछि आफूहरूमा सकारात्मक सोचको विकास भएको सुनाउँदै सामाजिक परिवारका सदस्य रञ्जना यादवले भनिन्, ‘अहिले हामी पनि गाउँमा जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अभियान सञ्चालन गरिरहेका छौँ ।’

घर नजिकै डुम बस्ती रहेको भए पनि विगतमा उनीहरूसँग कुनै सम्बन्ध नराख्ने तर, अहिलेसँगै बस्न र बोल्न थालेपछि एउटै परिवारको सदस्यजस्तै अनुभूति हुन थालेको ती महिलाहरू बताउँछन् । रञ्जनाले भनिन्, ‘अहिले हामीसँगै एकआपसमा दुःखसुखका कुरा गर्छाैँ । सरसफाई र विकासका कुरा पनि सँगै गर्ने गरेकाले गाउँमा बिस्तारै विकास हुन थालेको अनुभूति हुन थालेको छ ।’

समूहमा दलित महिलालाई समेत सहभागी गराएर एकआपसमा आयआर्जन र सरसफाइको कुरा चलाएपछि डुम जातिमा पनि सरसफाई र आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाउनुपर्छ भन्ने सोचको विकास भएको छ ।

आर्थिक रूपले विपन्न दलित समुदायको आयआर्जनका लागि बचत र ऋण लगानीको वातावरण बनाइएपछि उनीहरूको आर्थिक अवस्थामा समेत सुधार आएको सामाजिक परिवारका सचिव ज्योति कुमारीले बताइन् ।

‘समूहमा हामीसँगै डुम जातिका महिलाहरूसमेत बचत गर्छन, ऋण लिएर आयआर्जनको काम समेतसँगै गर्ने गरेका छन।’ स्थानीय उर्मिलादेवी मरिक (डुम) भन्छिन्, ‘समूहमा आबद्ध भएपछि गैरदलित महिलाले छुवाछूतको व्यवहार गर्दैनन् । उनीहरूसँगै बसेर दुःखसुखको कुरा गर्न पाएकामा खुसी लागेको कुरा बताइन् ।’

सामाजिक परिवारमा आबद्ध भएका २१ जना सदस्यमध्ये १३ गैरदलित र आठजना दलित महिलाले संयुक्त रूपमा मासिक ५० रुपैयाँका दरले बचत गर्ने गर्छन् र बचत रकममध्येबाट एक रुपैयाँ व्याजदरमा समुदायकै सदस्यहरूमा आयआर्जनका लागि लगानी गर्ने गरेका छन् ।

ऋण लिएर यहाँका महिलाहरूमध्ये कतिपयले पशुपालन गरेका छन् भने कतिपयले तरकारी खेती र व्यवसाय सञ्चालन गर्दै आएका छन् । दलित दलितबीच नै भेदभाव रहेकाले यसलाई अन्त्य गर्न सके मात्र दलित र गैरदलितबीचको भेदभाव अन्त्य हुने चर्चा चलिरहेका वेला सप्तरीको डिमन गाविसका महिलाहरूले देखाएको साहसिक कदमलाई स्वागत गर्नुपर्ने दलित अगुवा युक्तिलाल मरिक बताउँछन् ।

प्रतिक्रिया