बालीको विविधीकरणमा जोड

काठमाडौं । कृषि क्षेत्रमा हुने खडेरीसँग जुध्न यससम्बन्धी सूचनाको आदानप्रदान र कृषि बालीको विविधीकरण आवश्यक रहेकोमा जोड दिइएको छ ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) द्वारा आयोजित खाद्य सुरक्षा र कृषिको नीतिगत तहमा भौगोलिक अन्वेषण र जलवायुको सेवासम्बन्धी तीनदिने क्षेत्रीय सम्मेलनमा यस क्षेत्रका विज्ञहरूले बालि विविधीकरणमा जोड दिएका हुन् ।

विज्ञहरूले दक्षिण एसिया र दक्षिण पूर्वी एसिया क्षेत्रमा खाद्य सुरक्षा र कृषिको मुख्य चुनौती खडेरी भएको र यससँग जुझ्ने उपायका सम्बन्धमा भएका अनुसन्धानको बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा विज्ञहरूले सुख्खायाममा हुने खडेरीको समाधानका लागि पूर्वतयारी र सोही अनुसारको कृषि प्रणालीमा विविधीकरण गर्न सकिने बारेमा सुझाव दिए ।

सम्मेलनमा खडेरीसँग जुध्न तत्कालीन र दीर्घकालीन समाधानको उपायका साथै पूर्व तयारीका बारेमा समेत विभिन्न सत्रमा छलफल भइरहेको इसिमोडको ‘सर्भिएर’ कार्यक्रमका संयोजक वीरेन्द्र बज्राचार्यले बताए ।

सम्मेलन खडेरीबाट जुध्न वैज्ञानिक तरिकाले अध्ययन गर्ने र नीतिगत सरकारी निकायलाई सुझाव दिने उद्देश्यले आयोजना गरिएको हो । सम्मेलनमा अनुुसन्धानकर्ताले खडेरीको सामना गर्न अन्तरिक्षमा आधारित तथ्यांकको प्रयोग र उपयोगिताको आवश्यक रहेकामा जोड दिएका छन् । मुलकबीच आपसी सहयोग र समन्वयका बारेमा पनि छलफल भएको छ ।

यही २२ देखि २४ असोजसम्म चल्ने सम्मेलन मुख्य रूपमा यस क्षेत्रका सूचना संकलन, आदानप्रदान र उपयोगमा लाभदायी हुने आयोजकको अपेक्षा छ । नासा, युएसआइडी लगायत निकायको सहयोगमा भएको सम्मेलनमा १५ देशका १ सयभन्दा सम्बन्धित सरकारी अधिकारी, अनुसन्धानकर्ता, वैज्ञानिक, विश्वविद्यालयका पदाधिकारी लगायतको उपस्थिति छ ।

प्रतिक्रिया