अस्ट्रिचको मासु छ्यापछ्याप्ती

बुटवल । अस्ट्रिच नेपाल प्रालिले दसैंलाई लक्षित गरी यसवर्ष दैनिक पाँच टन अर्थात् पाँच सय केजीका दरले बजारमा अस्ट्रिच चराको मासु पठाउन सुरु गरेको छ । पर्व नजिकिँदै जाँदा उपभोक्तालाई स्वादिष्ट मासु सहजरूपमा उपलब्ध गराउने उद्देश्यले प्रालिले दैनिक मासु उत्पादन गरी बजारमा पठाउन थालेको हो ।

मासु उपभोक्ताले नेपालमा मुख्यमुख्य बजारमा सहजै किन्न पाउनेछन् । रूपन्देहीको तिलोत्तमा नगरापलिका–१७ मा फर्म रहेको प्रालिले दसैंलाई लक्षित गरी बजारमा विक्रीका लागि मासु पठाउन सुरु गरेको जनाएको छ । यसवर्ष प्रालिले अस्ट्रिच चराको मासु बिक्रीका लागि प्याकेजिङ गरी तयार पारेर बजारमा पठाउन सुरु गरेको हो । १५ असोजदेखि नै बजारमा मासु पठाउन थालिएको हो ।

अघिल्लो वर्षमा दसैंमा सय टन बढी मासु बिक्री गरेको प्रालिले यसवर्ष दैनिक पाँच टनका दरले मासु बिक्रीका लागि पठाएको हो । पर्वलक्षित गरी भुटुवा प्रतिकिलो पाँच सय, हड्डीसहितको मासु प्रतिकिलो ९ सय ७० र फल मासु प्रतिकिलो १५ सय ९० रुपैयाँका दरले तीन प्रकारको मासु बजारमा पठाइएको प्रालिका अध्यक्ष सिपी शर्माले बताए ।

प्रालिले मासु आफ्नै फर्ममा रहेको बधशालामा काटेर प्याकेजिङ गरी बजारमा पठाउने गरेको छ । अस्ट्रिचको मासु देशका प्रमुख सहरमा रहेका भाटभटेनी डिपार्टमेन्टल स्टोरहरू, काठमाडौंको बिग मार्ट तथा अन्य डिपार्ट मेन्टल स्टोर, साना ठूला मार्टहरू र नाम चलेका फ्रेस हाउसमा सहजै पाइने व्यवस्था मिलाइएको छ ।

खासगरी थोरै क्यालोरी, क्लोस्टोरको मात्रा निकै कम हुनु, बोसो नहुने, भिटामिन प्रशस्त पाइने भएकाले पनि अस्ट्रिचको मासु अन्य मासुजन्य पदार्थभन्दा निकै स्वास्थ्यवर्धक हुने अध्यक्ष शर्माले बताए ।

ब्लडप्रेसर, मुटुका रोगीहरूलाई पनि अस्ट्रिचको मासु निकै लाभदायक हुने डाक्टरहरू बताउँछन् । अस्ट्रिचको मासु तयार गरी १८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ । रूपन्देहीसँगै दाङको बिजौरीमा समेत अस्ट्रिच पालन गर्दै आएको प्रालिले दसैँकै लागि मासु खानमिल्ने ६ हजार अस्ट्रिच चराहरू तयारी राखेको जनाएको छ ।

प्रतिक्रिया