ट्राफिक नियमन कमजोर

दैनिक सडक दुर्घटना बढ्दो छ । सरकारले नियम बनाउँछ । लागू गर्दैन । फलस्वरूप एउटै प्रकृतिका घटना दोहोरिइरहेका छन् । शनिबार बाँकेमा माइक्रोबस दुर्घटना हुँदा अनाहकमा ६ जनाले ज्यान गुमाए । २५ बढी घाइते भए । ज्यान गुमाउनेका परिवारले आफ्नाे सन्तान गुमाए । घाइतेलाई जीवनभर अपांग भएर बाच्नुपर्ने पीडा छ । माइक्रोबसले ट्रकलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरी बताउँछ । यस्ता घटना सधैँ भइरहन्छन् । तर, राज्य किन कमजोर बन्दै छ ?सरकार आफैँले बनाएको नियम कार्यान्वयन गर्दैन । नियम पालना गर्न सरकारले दण्डको व्यवस्था गरेको छ । तर, सरकारका निकाय पंगु छन् । कारण, दुर्घटनाको संख्या घटेको छैन । गाँठो यही छ । सडकको अवस्था र सवारीको किसिमअनुसार, नियम फरक–फरक छन् । यात्रुबाहक सवारीको जिम्मेवारी अन्यभन्दा विशेष छ । किनकि, धेरै व्यक्तिको जिन्दगी एउटै चालकको हातमा हुन्छ । एउटा चालकको लापरबाहीले कैयौँ नागरिकले अनाहकमा जिन्दगी गुमाउन पुग्छन् । सरकार यस्तो विषयमा गम्भीर बनेको पाइँदैन । चालकको सनकको भरमा कसैले ज्यान गुमाउनुपर्ने विडम्बना अहिले गम्भीर विषय हो ।
सरकारले सार्वजनिक सवारीको नियमनमा कडाइ गर्नुपर्छ । सरकारको दायित्व सबै प्रकारका सवारीलाई नियममा बाँध्नु हो । अन्य सवारीभन्दा सार्वजनिक यातायातमा राज्य बढी गम्भीर बन्नुपर्छ । किनकि सार्वजनिक सवारीमा धेरैको जीवन जोडिएको हुन्छ । यतिवेला चाडपर्व सुरु भएको छ । घर जान मानिसहरू सार्वजनिक सवारीमा त“छाड–मछाड गर्छन् । यहीवेला व्यवसायी धेरैभन्दा धेरै यात्रु ओसार्न खोज्छन् । यात्रु पनि ठाउँ मिलेसम्म कोचिएर यात्रा गर्छन् । चालकले यहीवेला लापरबाही गर्न खोज्छ । गन्तव्यमा छिटो पुग्ने, धेरैभन्दा धेरै यात्रु ओसार्ने मात्र चालकले उद्देश्य राखेका हुन्छन् । अधिकांश सार्वजनिक यातायातका चालक जिम्मेवार देखिँदैनन् । उनीहरूमा कर्तव्यवोध पाइँदैन । अहिले नेपालका सडकमा देखिएको मुख्य समस्या यही हो । सरकारले हर्न बजाउन निषेध गर्यो । तर, सडकभरि हर्नको आवाजले दिक्क लाग्दो छ । झुन्डिएर यात्रा गर्न नपाउने नियम बनायो । सवै सार्वजनिक सवारीमा यात्रु झुन्डिएर यात्रा गरिरहेका छन् । जथाभावी पार्किङ गर्न नपाइने भन्यो । तर, सडकमा असरल्ल सवारीले भद्रगोल ट्राफिक अवस्था छ । यदि सरकारले आफूले लागू गरेका नियमको कार्यान्वयन गर्ने हो भने एकातिर राजस्व उठतीमा वृद्धि हुन्छ । अर्कोतिर, सवारी दुर्घटना कम र ट्राफिक व्यवस्थापन चुस्त हुँदै जान्छ । निषेध गरेको हर्न बजाउने प्रवृत्ति मात्र रोक्न सक्ने हो भने दैनिक लाखौँ राजस्व उठ्छ । यसले हाम्रा सडक अलि सभ्य देखिनेछन् । अहिले हर्नको आवाजले छाडा र निम्न दर्जाको समाज जस्तो चित्रण भइरहेछ ।

ठूला सहरमा ट्राफिक व्यवस्थापन निकै भद्रगोल छ । सार्वजनिक सवारीमा खलासी प्रणाली तुरुन्त बन्द गर्नुपर्छ । यात्रुलाई झम्टेर ‘यता आऊ’ भन्ने यस्तो खलासी पवृत्ति असभ्य समाजको सूचक हो । कुनै पनि यात्रुले आफू कहाँ जाने हो उसलाई गन्तव्य थाहा हुन्छ । कुन सवारीमा जाने हो त्यो पनि थाहा हुन्छ । थाहा नहुने यात्रुका लागि हरेक सवारी स्टेसनमा सोधपुछ कक्ष राखिदिए पुग्छ । तर, सवारीका खलासीको दिक्दार लाग्दो व्यवहार अहिले नेपालको सार्वजनिक सवारीको अर्को समस्या देखिएको छ । उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बढीमा पाँच मिनेट मात्र रोक्ने व्यवस्था हुनुपर्छ । यसले यात्रु समयमै गन्तव्यमा पुग्छन् भने हरेक सवारीले कोचेर यात्रु बोक्ने झन्झट पनि हुँदैन ।लामो दुरीका सवारीको अनुगमन सरकारले गम्भीर भएर गर्नुपर्ने अर्को दायित्व छ । राजमार्गमा सार्वजनिक सवारीका आफ्नै मनपरि चल्ने गर्छ । यसले यात्रुलाई ठूलो मर्कामा पारेको छ । कानुनको पालना हुन नसक्दा दुर्घटना बढेको बढ्यै छ । यात्रु पट्यार लाग्दो यात्रा गर्न बाध्य छन् । हरेक सार्वजनिक सवारी यात्रुमैत्री हुनुपर्छ भनेर राज्यले चालकलाई खबरदारी गर्नुपर्छ । अटेर गर्ने चालकलाई तत्काल कारबाही गर्नुपर्छ । कानुन नमान्ने सवारीका कर्मचारीलाई कारबाही हुने हो भने अर्को सार्वजनिक सवारी स्वतः सतर्क हुन थाल्छ । यसको प्रभावले सबैलाई सचेत पार्छ । सरकारले अहिलेसम्म सडकमा कानुन पालना गराउने होइन, प्रहरीको पहुँच मात्र विस्तार गर्न खोजेको देखिन्छ । ट्राफिक प्रहरीले आफ्नो पहुँच होइन, कानुन पालना गर्न लगाउन सक्नुपर्छ । अनि मात्र दुर्घटनामा कमी आउनेछ । कानुन मात्र पालना गर्न लगाउने हो भने सार्वजनिक सवारी साच्चिकै यात्रुमैत्री हुनेछन् ।

प्रतिक्रिया