पशुपंछी तथा मासुजन्यको बजार अनुगमन

काठमाडौं । पशु सेवा विभागले असोज २४ गतेबाट पशुपंछी तथा मासुजन्यको बजार अनुगमन गर्ने भएको छ । चाडबाड लक्षित गरी विभागले अर्को साताबाट स्वास्थ्यकर तथा गुणस्तरीय मासु अपभोक्तामाझ पुगोस् भन्ने उदेश्यका साथ दैनिक अनुगमन गर्न लागेको हो ।

देशभर जिवित पशुपंछीको अनुगमनमा पशु सेवा विभागले ८ टोली खटाउने भएको छ भने उपत्यकामा सञ्चालित मासुको अनुगमन भने विभागले खटाएको अर्काे टोलीले गर्नेछ । दसैंमा बढि खसि बोका उपत्यकामा आयात हुने हुंदा पशु र मासुबाट कुनै रोग नफैलियोस भनेर बिभागले निगरानी बढाउने जनाएको छ ।

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा.मोदनाथ गौतमका अनुसार उपत्यकाका प्रमुख नाकाहरु नागढुङ्गा, सतुङ्गगल, बल्खुको माछा बजार, कालीमाटिको माछा बजार, खसीबजार, भक्तपुरको सल्लाघारी, टुकुचा, बिजुलि बजार र कलंकीमा विभागले अनुगमन गर्र्ने योजना छ ।

दसैंमा बाराको पथलैया र चितवनको रामपुरमा पनि विभागले अनुगमन गर्ने भएको छ । खसीबजार र नाकाको अनुगमन भने पशु सेवा विभागले निरन्तर गरिरहेको गौतमले बताए ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भारतबाट ५ लाख ३० हजार खसी बोका र ६० हजार राँगाभैँसी पनि नेपाल भित्रिएका थिए । हाल चीनको तातोपानी नाका र रसुवा गढीबाट खसीबोका आयात गर्न सरकारले रोक लगाएको छ ।

पशु विभागका वरिष्ठ चिकित्सक गौतमले भने, ‘नेपालमा लगभग १ करोड १० लाख खसी, बोका र पाठापाठी उत्पादन भएका छन् ।’ नेपालमा खपत हुने मासुमध्ये भारतबाट हरेक वर्ष २५ प्रतिशत आयात हुने गरेका छन् ।

प्रतिक्रिया