सिंहदरबारमा कुविचारको उत्पत्ति

बलात्कार र हत्याजस्तो घटनाका प्रमाण नष्ट गर्न जिल्लाको प्रहरी प्रमुख नै अग्रसर हनु र उसलाई राज्यले ज्वाइँझैँ पाल्नु भनेको शासन व्यवस्थाको दोष हो ? विश्वका कुन चाहिँ पुँजीवादी मुलुकमा यस्ता अपराधीलाई राज्यले ज्वाइँझैँ पालेको छ ? न्यायशास्त्रले भनेको छ, ‘अपराधीलाई संरक्षण दिनु महाअपराध हो ।’

पुराणमा वर्णित श्रवण कुमारका कथाहरू वैदिक सनातन धर्म मान्ने हरेक समुदायमा लोक कथाजस्तै बनेका छन् । सन्तानको कर्तव्यका सन्दर्भमा श्रवण कुमारका कथाहरूले नैतिक शिक्षा प्रदान गर्छ ।

श्रवण कुमार सानै थिए तर उनका मातापिता वृद्ध भइसकेका थिए, त्यसमाथि पनि आँखा देख्दैनथे । आँखा नदेख्ने वृद्ध बाबुआमालाई डो¥याएर श्रवणकुमार तीर्थमा लैजान्थे ।

मातापिता बाँचुन्जेल यसरी नै सेवा गरिरहने र दिवंगत भएपछि मात्रै आफ्ना लागि सोच्ने प्रण श्रवण कुमारले गरेका थिए । समयक्रममा श्रवणकुमार पनि जवान हुँदै गए, मातापिता अति वृद्ध भएकोले हिँड्न नसक्ने भए ।

त्यसपछि श्रवणकुमारले मातापितालाई खर्पनमा बोकेर तीर्थ यात्रामा निस्कन थाले । एक दिन बीच जंगलमा उनी थाकेर लखतरान भए ।चलन चल्तीको बाटो जाँदा बास बस्ने ठाउँमा पुग्न नसकिने निश्चित थियो ।

उनी चलन चल्तीमा नरहेको छोटो बाटोतर्फ लागे, जब कुनै दरबारको भग्नावशेष नजिक पुगे, अचानक उनको मनमा एउटा कुविचार आयो, ‘मेरो पनि त आफ्नै जिन्दगी छ नि, विवाह गरेर स्त्री सुख भोग्नु छ, सन्तान प्राप्ति गरी मुक्ति मार्गमा जानु छ, यी बूढाबुढी अझै कति वर्ष बाँच्ने हुन्, यिनको स्याहार गरेर म आफ्नो जीवन बर्बाद गर्दिनँ ।’

मातापितालाई यो कुरा सुनाउँदै खर्पन त्यँही छाडेर एक्लै अघि बढ्न लागे । उनका मातापिता तपस्वी भएकोले छोराको मनमा किन कुविचार आइरहेको छ ? भन्ने थाहा पाइसकेका थिए । मातापिताले भने, ‘तिम्रो कुरा ठीक हो छोरा तर यो जंगलमा होइन, नजिकैको गाउँमा लगेर हामीलाई छोडिदेऊ, हामी मागेर पेट भरौँला अनि तिमी घर फर्केर आफ्नो गृहस्थी सम्हालौला ।’

त्यसपछि भारी मन गर्दै खर्पन उठाएर उनी बाटो लागे । दरबारको भग्नावशेषबाट जति टाढा लाग्छन् उति श्रवणकुमारको मनमा कुविचार हराउँदै गयो, सुविचार आउन थाल्यो, उनले पश्चताप गर्न थाले । गाउँमा प्रवेश गर्दासम्म त उनको मनबाट कुविचार हटिसकेको थियो । बेलुका बास बस्ने वेलामा श्रवणकुमारले माता पितासँग क्षमा मागे ।

मातापिताले भने, ‘तिम्रो गल्ती होइन बाबु, दरबारको त्यो भग्नावशेषमा प्रवेश गर्ने वित्तिकै सबैको मनमा यस्तै कुविचार आउँछ । किनकि, त्यो भग्नावशेषमा धेरै पहिले ठूलो अपराध हुने गथ्र्यो, पाप र अपराधले भरिएको त्यो ठाउँमा नटेकी मान्छेहरूले घुमाउरो बाटो हिँड्ने गर्नुको कारण मनमा कुविचार नआओस् भनेर नै हो ।’

मातापिताबाट पाएको यो जानकारीपछि श्रवण कुमारले यस विषयमा गाउँलेसँग थप सोधपुछ गरे । गाउँलेहरूले भने, ‘त्यो ठाउँमा पहिले राजाको दरबार थियो, राजा ज्यादै अपराधी थिए, मान्छे मार्ने, बलात्कार गर्ने शोख थियो, उनको पाप कुर्लिँदै गएपछि पारिवारिक कहल भयो अनि राजाको वंश नै मासियो । अहिले पनि त्यो ठाउँमा जसले पाइला टेक्छ उसको मनमा पनि आपराधिक भावना आउने गर्छ ।’

हाम्रो मुलुकमा आपराधिक मानसिकता बढ्नुमा वातावरण प्रदूषण पनि एउटा कारण हुनसक्छ । जुन ठाउँमा धेरै मान्छेको रगत बगेको छ, जुन ठाउँमा जघन्य अपराध भएको छ त्यो ठाउँमा बस्नेहरूको दिमागमा अपराधको सोचले हरदम डेरा जमाइरहेको हुन्छ भन्ने कुरा खप्तड स्वामीले आफ्नो विचार विज्ञान नामक पुस्तकमा उल्लेखित गरेका छन् ।

सद्दे दिमाग भएको व्यक्तिले पनि सिंहदरबार र बालुवाटारमा बस्न थाल्ने वित्तिकै विछिप्त व्यवहार देखाउन थालेका धेरै नजीरहरू हाम्रै मुलुकमा छन् । कुनै वेला सिंहदरबारमा बलात्कार तथा हत्याको क्रीडा स्थलको रूपमा रहेको बताइन्छ । त्यसैगरी, प्रधानमन्त्री निवास बालुवाटार पनि कुनै बेला चिहानघारी रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।

यसैगरी, पछिल्लो समय कुन–कुन ठाउँमा धेरै हत्या तथा बलात्कार भएका छन् ? भनेर खोज्ने हो भने १० वर्षे द्वन्दका समयमा जुन ठाउँमा सबैभन्दा धेरै खुन खराब भएको थियो त्यही ठाउँमा धेरै अपराधका घटना भएका छन् । विगत पाँच महिनाको अवधिमा ९ सय बलात्कार र ५ सय ३६ इच्छा विपरीतका करणी गरी १ हजार ४ सयभन्दा बढी जघन्य अपराधका घटना भएको तथ्यांक छ ।

गृहमन्त्री रामबहादुर थापा बादल भन्छन्, ‘पुँजीवादी राज्य व्यवस्था भएको समाजमा यस्तै हो ।’ कम्युनिस्ट पार्टीको सरकार आउनासाथ पँुजीवादी राज्य व्यवस्था सुरु भएको हो ? यस्ता जघन्य अपराधका घटनालाई राजनीतिक शासन व्यवस्थासँग जोड्नु भनेको गृहमन्त्री बादलको हदैसम्मको अयोग्यता हो ।

‘छोरीको बलात्कार भयो, उसको हत्या गरियो, देशमा महिला राष्ट्रपति छन्, प्रधानमन्त्री ओली पनि काठमाडौंमा बस्छन् त्यही सोचेर न्याय खोज्दै काठमाडाै‌ं आएका हौँ ।’ एक साक्षात्कार कार्यक्रममा निर्मला पन्तका बाबुआमाले यसरी गुहार मागेका थिए । यो गुहार सुन्ने अवस्थामा सरकार नरहनुको कारण शासन व्यवस्थाको कमजोरी हो कि, सरकारमा रहनेहरूको असक्षमता ?

कञ्चनपुरका एसपी निर्मला पन्तको बलात्कारमा आफैं सलग्न थिएँ भन्ने पुष्टि हुन नसके पनि घटनाका प्रमाणहरू नष्ट गराउन उनको सर्वोपरि भूमिका देखिएको पुष्टि भइसकेको छ । बलात्कार र हत्याजस्तो घटनाका प्रमाण नष्ट गर्न जिल्लाको प्रहरी प्रमुख नै अग्रसर हनु र उसलाई राज्यले ज्वाइँझैँ पाल्नु भनेको शासन व्यवस्थाको दोष हो ?

विश्वका कुन चाँहि पुँजीवादी मुलुकमा यस्ता अपराधीलाई राज्यले ज्वाइँझैँ पालेको छ ? न्यायशास्त्रले भनेको छ, ‘अपराधीलाई संरक्षण दिनु महाअपराध हो ।’ यहाँभन्दा ठूलो असक्षमता अरू के हुन सक्छ ? यस्ता व्यक्तिलाई गृहमन्त्रीका रूपमा मुलुकले पालेर राख्नु हुँदैन । पछिल्लो समयमा मुलुकमा जघन्य अपराधका घटना बढेर गएको सत्य हो ।

यी घटना बढ्नुका कारणहरू खोज्नु जरुरी छ । अपराधका कारणहरूलाई समयमै उपचार नगर्ने हो भने अझै भयावह अवस्था उत्पन्न हुनसक्छ । जसरी फोहोरको थुप्रो यथावत् राखेर लामखुट्टे नष्ट गर्ने प्रयास सफल हुँदैन त्यसैगरी, समाजको आपराधिक मानसिकता कायमै राखेर अपराध नियन्त्रण गर्न सकिन्न । मुलुकमा अपराधीहरू यसरी बढ्नुको मुख्य कारण माओवादीको कथित जनयुद्ध नै हो ।

माओवादीले कथित जनयुद्ध सुरु गर्नु अघिसम्म मुलुकमा यस्ता अपराधका घटना नगन्य हुन्थे । पहिलो कुरा त ०५२ साल पछिको एक दशकसम्म समाजका अपराधीहरू माओवादीमा सामेल भए । जस्तासुकै जघन्य अपराधलाई पनि ‘जनयुद्ध’ को संज्ञा दिइयो । ‘जनयुद्ध’ का क्रममा बन्दुक लिएर लुट्ने र मान्छे मार्ने काम मात्रै गरिएन बन्दुक लिएर बलात्कारसमेत गरियो ।

कतिपय हत्यारा तथा बलात्कारीहरू शान्ति प्रक्रियापछि सांसद बने, मन्त्री बने, राजनीतिक ओहोदाको पदमा पुगे, समाजमा उनीहरूको प्रभुत्व स्थापित भयो । नयाँ पुस्ताले त्यसैको देखासिखी गर्यो । ०५२ साल अघिसम्म समाजका अपराधीहरूको गतिविधिबारे खबर गर्न सर्वसाधरण जनता आफै‌ं प्रहरी कहाँ पुग्थे ।

एउटा सिपाही हातमा छडी बोकेर गाउँघरतिर छिर्यो भने मात्रै पनि उसले सम्पूर्ण अपराधीहरूको तीन पुस्ते फेहरिस्त प्राप्त गर्ने अवस्था थियो । जब माओवादीले ‘जनयुद्ध’ सुरु गर्यो तब प्रहरीले अपराधीका बारेमा सूचना पाउने अवस्था रहेन । जसले सूचना दियो ऊ घर फर्किन नपाउँदै मारिने अवस्था रह्यो ।

कतिपय प्रहरी नै आफ्नो ज्यान जोगाउन माओवादीका लागि सुराकीको काम गर्न थाले । प्रहरी नै अपराधीहरूका लागि सूचना संवाहक हो भन्ने मानसिकता जब जनताको दिमागमा छिर्यो तब प्रहरीको अपराध नियन्त्रण सञ्जाल तहसनहस भयो । यतिवेला प्रहरी संगठन अपराध नियन्त्रणमा असफल हुनुको कारण त्यही हो ।

कुमार घैँटे तथा दिनेश अधिकारी दोहोरो भिडन्तमा मारिँदा प्रहरी नै दोषी हुन् भन्दै संसद्मा कारबाहीको मागसमेत गरियो । जसका कारण इमानदार प्रहरीको पनि मनोवल गिर्यो । अपराधीमाथि कारबाही गर्दा जागरिको जोखिम हुने र अपराधीको संरक्षण गर्दा पुरस्कृत भइने मनस्थितिमा प्रहरी संगठनको जनशक्ति पुग्नुको कारण पनि मुलुकमा यो अवस्था सिर्जना भएको हो । धेरैपछाडि फर्कनु पर्दैन ।

तीन वा चार दशकअघिको अवस्थालाई मात्र हेरे पुग्छ । त्यसवेला मानिसमा सत्यता थियो । १ सयमा १० बेइमान वा फटाहा भेटिए पनि नब्बे सत्यवादी थिए । १० जना बेइमानले कसैलाई दुःख दिने मनसाय राख्यो भने बाँकी नब्बेले त्यसको दुष्टतालाई ठीक ठाउँमा ल्याउँथे । अहिले अवस्था ठीक उल्टो छ ।

१ सयमा १० राम्रा भेटिएलान्, नब्बे बेइमान छन् । भएका ती १० जना राम्रालाई पनि नराम्राले आफ्नो परिधिमा तान्ने खतरा उत्तिकै छ । विज्ञान र प्रविधिको विकासले अहिले मानिसको दैनिकी सहज बनेको छ । विगतको मानिसले भन्दा अहिलेको मानिसले व्यापक सुविधा भोग गरेको छ । अर्कोतिर त्यही प्रविधिले मानिसको आवश्यकतालाई बढाएको छ ।

पन्छाएरै नसकिने अनगिन्ती आवश्यकताबाट आज मान्छे थिल्थिलिएको छ । विज्ञान र प्रविधिले आर्थिक उपार्जनका प्रशस्त ढोका खोलिदिएको छ । विलासी जीवन मानिसको प्रतिष्ठा बन्दै छ । चोर बाटो हिँड्नेको जीवन फट्याइँ गरेरै विलासी बनेको छ । यस वर्गका मानिसले भ्रष्टाचार, व्यभिचारजस्ता गलत बाटो अँगालेर जीवनलाई विलासमय बनाएका छन् ।

अर्कोतिर फट्याइँ गर्न नसक्ने सोझा मानिसहरू आफ्नो गास काटेर र शरीर बेचेर विलासी जीवनमा होमिँदै छन् । केही समयअघि दुर्गम बस्तीका केही युवाले मोबाइल फोनसँग आफ्नो मृगौला साटेको समाचार आएको थियो, यो फट्याइँ गर्न नसक्ने समूहले विलासी जीवन रोजेको उदाहरण हो ।

प्रतिक्रिया