मासु बजारमा मनपरी

नेपालीहरूको महान् चाड बडादसैँ नजिकिएको छ । दसैँ पर्वका अनेक विशेषता छन् त्यसमध्ये पहिलो विशेषता भनेको माछा मासुको अत्यधिक खपत हो । खसीबोका,भेडा, च्यांग्रा, राँगाको कारोबार दसैँमा अत्यधिक हुने गर्दछ । खासगरी खसीबोका दसैँको अर्थतन्त्रसँग जोडिएको विषय छ । आफूले पालेका खसीबोका बिक्री गरेर दसैँ खर्चको जोहो गर्ने परिवारको संख्या नेपालमा धेरै ठूलो छ । ग्रामीण भेगमा दसैँका लागि आवश्यक नयाँ कपडा, मरमसाला, दान–दक्षिणा, खाद्यान्न लगायतको जोहो खसीबोका बिक्रीबापत आएको रकममार्फत गरिन्छ । सहरी क्षेत्रमा ग्रामीण भेगबाटै खसीबोका बिक्रीका लागि आउँछन् । परम्परादेखिकै आर्थिक चक्र हो यो । सहरको पैसा गाउँ जाने माध्यम पनि हो दसैँ । तर, पछिल्ला दिनमा गाउँमा पालिएका खसीबोका समयमै बिक्री नहुने र भारतबाट ठूलो परिमाणमा खसीबोका आउने प्रचलन सुरु भएको छ । यसको यकिन तथ्यांक त छैन, तर कृषि विकास मन्त्रालयको मोटामोटी आँकडाअनुसार दसैँका बेला मुलुकमा करिब १२ अर्ब रुपैयाँ बराबरको खसीबोका खपत हुन्छ, जसमध्ये करिब १० अर्ब रुपैयाँ भारतमा पुग्छ । यो कहालीलाग्दो अवस्था घट्नुको सट्टा झन्झन् बढ्दो छ । दसैँको खसीबोका बजारलाई सरकारले हस्तक्षेप गर्न नसकेका कारण यो कहालीलाग्दो अवस्था दिन प्रतिदिन बढ्दो छ ।
भारतबाट अत्यधिक खसीबोका आयात हुने गरेकोले एकातिर नेपाली रकम बिदेसिइरहेको छ भने अर्कातिर आफूले पालेका खसीबोका उचित मूल्यमा बिक्री नहुने भएकोले किसानहरू निरुत्साहित भएका छन् । बाख्रापालन व्यवसाय हराउँदै गएको छ । स्वदेशभित्र बाख्रापालन व्यवसाय जति हराउँदै जान्छ खसीबोकामा परनिर्भरता त्यति नै बढ्दै जान्छ । अहिले हाम्रो मुलुकमा भएको त्यही हो । स्वदेशी खसीबोकाले उचित मूल्य तथा बजार नपाउनु र भारतीय खसी बोकाको निर्भरता बढ्नुको मुख्य कारण भनेको सरकारको गलत नीति नै हो । पहिलो कुरा भारतबाट खसीबोका आयात सजिलो छ । भारतमा ठूलो स्केलमा खसीबोका पालिन्छ, त्यहाँ सरकारले किसानलाई अनुदान दिने गरेको छ । सीमा पारिका स्थानीय व्यापारीहरूले दसैँको केही दिनअघि ट्रकका ट्रक खसी–बोका जम्मा पारिसकेका हुन्छन् । ती खसीबोका फूलपातिको दुई÷तीन दिनअघि काठमाडौं आउँछन् । तर, स्वदेशमा भने किसानले अनुदान पाउँदैनन् । गाउँ भरिको जम्मा गर्यो भने पनि ट्रक भरिँदैन । दसैँ खर्चको जोहो गर्नुपर्ने बाध्यताका कारण दसैँ आउनुभन्दा १५÷२० दिनपहिले नै आफ्ना खसीबोका बजारमा पुर्याइसक्नुपर्ने बाध्यता नेपाली किसानलाई हुन्छ । जसका कारण उनीहरूले उचित मूल्य पाउँदैनन् । १५–२० दिनपहिले नै खसीबोका खरिद गरेर कहाँ पाल्ने, त्यतिन्जेल त्यसको संरक्षण कसरी गर्ने ? भन्ने समस्यामा व्यापारीहरू पनि पर्छन् । यो समस्या पेचिलो पनि छ । ‘श्वासको धन, गन्दै नगन्’ भन्ने नेपाली उखान छ । एउटा मात्रै खसी मर्यो भने पनि सामान्य व्यापारीको हालत चौपट हुन्छ । त्यसैले यो समस्या समाधानका लागि दसैँको मासु बजारमा सरकारले हस्तक्षेप गर्नु जरुरी छ ।
विगतमा दसैँका बेला नेपाल खाद्य संस्थानमार्फत खसीबोका, भेडा, च्यांग्राको कारोबार गरिन्थ्यो । च्यांग्राहरू तिब्बत र स्वदेशकै हिमाली तथा उच्च पहाडी क्षेत्रबाट जम्मा गरिन्थ्यो भने खसीबोका पनि स्वदेशकै ग्रामीण भेगबाट जम्मा गरिन्थ्यो । जसका कारण एकातिर स्वदेशी किसानले प्रचुर लाभ पाएका थिए भने अर्कोतर्फ उपभोक्ताहरूले सर्वसुलभ मूल्यमा मासु पाउने गरेका थिए । तर, नेपाल खाद्य संस्थानले लत्तो छाड्नासाथ न स्वदेशी किसानले लाभ पाए न उपभोक्ताले दसै“का बेला सुलभ मूल्यमा मासु पाउन सक्ने अवस्था रह्यो । खसीको मासुको मूल्य अन्धाधुन्ध बढ्ने र त्यही मूल्य वर्षदिनभरि कायम रहने अवस्था उत्पन्न भयो । खसीबोका, भेडा, च्यांग्राको कारोबारका क्रममा खाद्य संस्थानमा व्यापक भ्रष्टाचार हुन थालेका कारण पनि निजी क्षेत्रका नाफाखोर व्यापारीहरूले लाभ उठाएका हुन् । मुलुकको नीति निर्माण तहमा रहेका व्यक्तिहरूलाई केही लाभ हुने भएकै कारण दसैँको मासु बजारमा निजी क्षेत्रका नाफाखोर व्यापारीको एकाधिकार कायम रहन दिइएको हो ।

प्रतिक्रिया