इन्टरनेटले वन्यजन्तुलाई हानी


बिबिसी । कुनै पनि जनावर प्रेमीका लागि तिनीहरूको तस्बिर लिनु वा भिडियो बनाउनु रमाइलो कुरा हुनसक्छ तर कतै यसले तिनलाई हानी त पु्याइरहेको छैन भन्ने प्रश्न पनि उत्तिकै जरुरी भइसकेको बताइएको छ । नेपालमै पाइने दुर्लभ जन्तु रेड पान्डाको कुरा गर्नुपर्दा यसलाई इन्टरनेटको सबैभन्दा चर्चित जनावर मानिन्छ ।

इन्टरनेटमा सानो, सुन्दर र ‘क्युट’ छवि बनाएको यस जीवबारे यति प्रचार भयो कि, यसको नाममा ब्राउजर, ‘फायर फक्स’ समेत खोलियो ।  तर, विश्वमा २५ सय मात्र बाँकी रहेको यो प्रजातिलाई केवल इन्टरनेट प्रयोगकर्तालाई लोभ्याउने ‘क्युट’ जीवका रूपमा मात्र लिइनु उचित मानिएको छैन ।

किनकि, यिनलाई पनि सुरक्षित वातावरणमा जिउने उत्तिकै अधिकार र मौका दिइनुपर्छ । त्यसैकारण यस विषयमा सचेत गराउनकै लागि ‘रेड पान्ड डे’ नामक विशेष दिनसमेत राखिएको हो ।  तर, विभिन्न प्रयासका बाबजुद गत जनवरीमा लाओसमा एक दर्जनभन्दा बढी रेड पान्डालाई तस्करहरूको हातबाट उद्धार गरिएको थियो ।

उनीहरूले कालो बजारमा त्यसलाई घर पालुवाका रूपमा बिक्री गर्न लगिरहेको पाइएको थियो ।  यसरी इन्टरनेटमा क्युट जनावरका रूपमा चर्चित भएकै कारण यसको माग सुरु भएको बताइन्छ ।

यस प्रकारले पछिल्लो समय विभिन्न दुर्लभ जनावरहरूका तस्बिर र भिडियो इन्टरनेटमा हाल्दै गर्दा त्यसले मानिसहरूलाई उत्साहित गराइ उनीहरूमा त्यसलाई घर ल्याउने चाहना बढाइरहेको पाइएको छ ।

यसका निम्ति उनीहरूले भारी रकमसमेत दिन तयार हुने गर्दा यो प्रवृत्ति सबैतिर चिन्ताजनक बन्दै गएको बताइएको छ । वास्तवमा भिडियोमा हेर्दा रमाइलो देखिए पनि ती जनावरको अवस्था कस्तो छ भन्नेमा चाहिँ कसैले ध्यान नदिने गरेको पाइन्छ । पछिल्लो समय वन्यजन्तु कारोबारको प्रचार कम भएको बताइएको थियो ।

तर, पनि यसलाई ज्यादै ठूलो उपलब्धि मान्न सकिएन किनकि, अर्कोतर्फ तिनै पशुको किनबेचका लागि अवैध रूपमा खोलिएका छुट्टै वेबसाइटहरूको संख्या भने वृद्धि भइरहेको पत्ता लागेको थियो जसमार्फत एक कमेन्टकै भरमा प्रत्यक्ष किनबेच गर्न सकिने बताइएको छ ।

यसअघि यही विषयमा सचेत गराउने उद्देश्यले लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्रामले नयाँ अभियान सुरु गरेको हो । त्यसअन्तर्गत कसैले ह्यासट्याग ‘टाइगरसेल्फी’ सर्च गरेमा त्यसको तल सो जीव र त्यसको वातावरणलाई सुरक्षित राखिनुपर्नेबारे जानकारी दिइने बताइएको छ ।

यस्तोमा सबैलाई सुन्दर जीवको तस्बिरमा ‘आहा !’ भनी कमेन्ट गर्नुको सट्टा त्यसको सुरक्षा र अवस्थाबारे पनि ध्यान दिन आग्रह गरिएको हो ।

प्रतिक्रिया