करोडौंको कम्पनी अर्कैको नाममा

काठमाडौं । किर्ते कागज खडा गरी कम्पनी अर्कैको नाममा गर्ने कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत दुई उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान विभागको टोलीले प्रक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खोजी गरिरहेका उप–रजिस्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई बबरमहलको वन परिसरको भवनअगाडिको सडक किनारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । ‘शंकर इलेक्ट्रिकल इन्डस्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको भन्ने आधारमा खटिएको टोलीले उनीहरूलाई बुधबार बबरमहलबाट पक्राउ गरेको हो,’ प्रवक्ता दंगालले जानकारी दिए ।

प्रहरीले किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँ बराबरको धनसम्पत्ति बेचबिखनमा संलग्न १२ जनालाई यसअघि पक्राउ गरेको थियो भने उपसचिवद्वय पौडेल र रोकाय फरार थिए ।

सिआइबीले शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको सेयर बेचबिखनमा किर्ते कागजपत्र बनाउन सघाउने कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकृत, सहायक रजिस्ट्रार नारायणप्रसाद पोखरेल र उमेशमान जोशीलाई पक्राउ गरेको थियो । यस्तै, किर्ते कागजपत्रकै आधारमा कम्प्युटरमा रजिस्ट्रेसन गर्ने प्राविधिक शाखाका कर्मचारी आशिष महर्जन र पुष्पकला राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै, पक्राउ पर्नेमा मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौंका निरजकुमार मानन्धर, रामेछापका जीतबहादुर मगर, काभ्रेका पुण्यप्रसाद खरेल, काभ्रेकै साइँला भन्ने राजकुमार तामाङ, हिमाल महर्जन, काठमाडौंका चिरिबावु महर्जन, बाराका अमृत थापामगर छन् ।

ब्युरो स्रोतका अनुसार भारतीय नागरिक रामनिरञ्जन जटियाको नाममा रहेको सम्पत्ति नियमविपरीत बेचबिखन र नामसारीमा सघाउने उपसचिवद्वय पौडेल र रोकाया फरार रहँदै आएका थिए । उनीहरूले नियमअनुसार कामकारबाही नगरी ठगीमा संलग्नहरूलाई सरकारी कागजपत्र किर्ते गरेर हिस्सेदार बनेको अनुसन्धानमा खुलेको हो । पौडेललाई कार्यालयका गुनासो सुन्ने अधिकारी र रोकायालाई सूचना अधिकारी तोकिएको थियो ।

जटियासँग १६ वर्षदेखि काम गर्दै आएका जीतबहादुर मगरको समूहले शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको असली मालिक जटिया भए पनि किर्ते कागजपत्रका आधारमा सेयरधनी, सञ्चालक र कम्पनीको अध्यक्ष जीतबहादुरलाई बनाएर ७० करोड रुपैयाँ बराबरको सम्पत्ति किनेबचका लागि बैंकमार्फत तीन करोड बैनासमेत लिएका थिए ।

जीतबहादुरले हेटौंडाका राजनप्रसाद लम्साल र निरजकुमार मानन्धरको सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी सेयरधनी सञ्चालक अध्यक्ष रामनिरञ्जन जटियाको नामको सम्पूर्ण सेयर खरिद गरेको भनी कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए । निवेदनपछि कम्पनी रजिस्ट्रारको कार्यालयबाट जीतबहादुर मगरको नाममा नामसारी समेत गराई कम्पनीको नाममा रहेको करिब ७० करोडको सम्पत्ति बेचबिखनको काम भएको देखिन्छ ।

प्रतिक्रिया