फाल्गुनन्द मार्ग कालोपत्रे हुने

इलाम । महत्वकांक्षी योजनाका रूपमा रहेको पूर्वका तीन जिल्ला जोड्ने सडक दमक–रवि–चिसापानी सडक (फाल्नुगन्द मार्ग) कालोपत्रे हुने भएको छ । सो सडकका लागि संघीय सरकारबाट बजेट छुट्टिने भएसँगै कालोपत्रे हुने पक्का भएको हो ।

निर्माण सुरु गरेको २५ वर्षपछि सडक कालोपत्रे हुने निश्चित भएको हो । गत २९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले २ अर्ब २० करोड रुपैयाँको बजेट बहुवर्षीय ठेक्काका लागि स्वीकृत गरेको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतीराज पुरी (गगन) ले जानकारी दिए ।

आगामी चार वर्ष भित्रमा सडक कालोपत्रे भइसक्ने अध्यक्ष पुरीले बताए । उनका अनुसार इलामको माङसेबुङदेखि चिसापानीसम्मको २५ किलोमिटर सडक खण्डलाई कालोपत्रे गरिनेछ । यसअघि सो सडकको ६ दशमलव २ किलोमिटर कालोपत्रे भइसकेको छ ।

दमक–चिसापानी–रवि सडक ०५० सालदेखि निर्माण सुरु गरिएको थियो । हालसम्म सडकले पूर्णता भने पाएको थिएन । अप्ठ्यारो र जोखिमक्षेत्र मानिएको रतुवा खोला क्षेत्रमा गएको हिउँदमा मात्र ट्रयाक जोडिएको थियो ।

लामो प्रयासपछि सडक कालोपत्रे हुने भएपछि स्थानीय उत्साहित भएका छन् । वर्षौंदेखिको कष्टपूर्ण यात्रा गर्दै आएका त्यस क्षेत्रका बासिन्दा सडक कालोपत्रे हुने खबर पाएपछि हर्षित भएका छन् ।

यस सडकखण्डमा पाँच वटा पुल रहेका छन् । त्यसमध्ये रतुवा खोलास्थित पुल निर्माण भइसकेको छ भने अन्य चार वटा निर्माणाधीन अवस्थामा छन् । यो सडक निर्माण पूरा भएपछि झापादेखि ताप्लेजुङसम्मको यात्रा मेची राजमार्गभन्दा ७० किलोमिटर छिटो हुनेछ ।

प्रतिक्रिया