नेपालका युवा पुस्तामा खेलकुदप्रति रुचि बढ्दै गएको छ । त्यसको प्रभाव महिलामा पनि परेको छ । नेपाली महिला फुटबल खेलाडीलाई राम्रो प्रशिक्षण दिएर विदेशी खेलाडीसँग खेल खेल्ने अभ्यास गराउन सकेमा आउने केही दशकमा नेपाली महिला खेलाडीले विश्वकपजस्तो चर्चित खेलमा सहभागिता हुनेसक्ने क्षमता रहेको नेपाली प्रशिक्षकहरूको दाबी रहेको छ ।
महिला खेलाडीको दक्षता बढाउन र त्यस प्रकारको वातावरण बनाउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनीहरूमाथि अहिले गरिरहेको लगानी बढाउनुपर्ने खेलाडीहरूको माग छ । खेलसँग सरोकारवाला निकाय एन्फाले भने अन्य सहयोगी संस्थाले पनि हातेमालो नगरे महिला फुटबललाई उकास्न कठिन हुने कुरा उल्लेखित गरे ।
रुसमा भएको २०१८ को विश्वकपमा आआफ्ना टोलीको समर्थन गर्दै आधारातसम्म नसुती खेल हेर्ने नेपालीको संख्या निकै थियो । संसारमै सबैभन्दा धेरै रुचाइने खेलका रूपमा फुटबललाई लिने गरिन्छ । तर, महिला फुटबल भने पुरुषको तुलनामा ओझेलमा पर्ने गरेका छन् । कैयौँ महिलालाई त विश्वकप कहिले र कहाँ सम्पन्न भएको थियो भन्नेसम्म थाहा छैन ।
यस्तै, महिला फुटबलमा अमेरिका शक्तिशाली राष्ट्र होभन्दा कतिपयले नपत्याउन पनि सक्छन् । तर, अमेरिकी टोली महिला फुटबल विश्व विजेता हो । यस्तै, नेपालमा पनि महिला फुटबलको राम्रो सम्भावना रहेको खेलाडीहरू बताउँछन् ।खेल भनेपछि प्रायः पुरुषहरूकै चर्चा हुने गर्छ र दर्शक पनि उनीहरूकै खेलमा बाक्लो उपस्थिति जनाउँछन् ।
मान्छेको सोचाइमा खेल भनेको कठिन चिज हो र खेलका लागि पुरुष मात्रै मैदानमा उत्रन सक्छन् भन्ने धेरैको धारणा छ । खेलमा रुचि भएका र खेल्नका लागि विश्वकपमा सहभागी हुने ठूलो सपना हो । रुसमा सम्पन्न विश्वकप फुटबल हेर्दा त्यो रहर अझ बढ्छ ।
तर, नेपाली खेलाडी त्यसमा पनि महिला खेलाडीले पाएका प्रशिक्षण र अवसर हेर्दा नेपालीहरूका लागि विश्वकप खेल्ने सपना मात्र हुने हो कि, जस्तो लाग्छ । नेपाली खेलाडीहरूको आत्मविश्वास र लगनशीलता हेर्दा राम्रो अवसर र वातावरण भएमा त्यो सपनामात्र नभएर विपना हुनसक्ने पनि देखिन्छ ।
तर, नेपालमा सरकारी तवरबाट खेल क्षेत्रलाई गरिने सहयोग, यहाँको वातावरण हेर्दा चाहिँ नेपाली खेलाडीहरूका लागि विश्वकप खेल्ने सपना दिवा सपनामा मात्रै रहने हो कि, भन्ने लाग्ने स्ट्राइकर सावित्री भण्डारी बताउँछिन् । उनले भनिन, ‘विश्वकप खेल्ने हरेक खेलाडीको सपना हुन्छ ।
केही समयअघि रुसमा भएको प्रतियोगिता हेर्दा यो रहर अझ बढ्छ, त्यो खेलाडीका लागि स्वाभाविक पनि छ । तर, हामीले पाइरहेको प्रशिक्षण र वातावरण हेर्दा विश्वकप खेल्ने सपना मात्र हुने हो कि, जस्तो लाग्छ ।’ भण्डारी भन्छिन, ‘महिला फुटबल खेलाडीका लागि वर्षमा जम्मा दुईवटा नियमित प्रतियोगिता हुन्छन् ।
प्रशिक्षण पनि नियमति छैन । हामीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि धेरै कम छन् ।’ यस्तो अवस्थामा विश्वकप खेल्नका लागि लामो र संघर्षपूर्ण यात्रा तय गर्नुपर्ने भण्डारीको बुझाइ छ । यसका लागि एन्फाले कुनै गुरुयोजना बनाएर त्यसलाई कार्यान्वयन गरे महिला खेलाडी मिहिनेत गर्न तयार रहेको उनी बताउँछिन् ।
महिला फुटबल टोलीका पूर्वप्रशिक्षण ध्रुव केसी पनि महिला खेलाडीले पाएको प्रशिक्षण र अन्य सुविधाको तुलनामा राम्रो प्रदर्शन गरेको बताउँछन् । उनले भने, ‘राम्रो प्रशिक्षण दिने हो, उनीहरूलाई चाहिने पौष्टिक आहारदेखि अन्य प्राविधिक विषयमा पनि ध्यान दिने हो भने महिला टोलीले अर्को अबको २०÷२५ वर्षमा विश्वकप खेल्न सक्छन् ।’
महिला खेलाडीहरू फुटबल खेलेनन् वा उनीहरू खेल्न सक्दैनन् मात्र भनेर मात्र हुँदैन, उनीहरूका लागि कस्तो वातावरण बन्यो, खानापिना बसाइदेखि अन्य आवश्यक वातावरण बन्यो कि बनेन् भनेर कहिल्यै हेरिँदैन । अझ कैयौँ अवस्थामा उनीहरूको क्षमताको जाँच नै नगरी सक्दैनन् भन्ने सोचसमेत छ ।
पूर्वप्रशिक्षण ध्रुव केसी भन्छन्, ‘एसियाका शक्तिशाली मुलुक भनेको जापान, थाइल्यान्ड हुन् र हाम्रो शारीरिक बनावट पनि उनीहरूको जस्तै छ । यसकारण पनि राम्रो योजना बनाएर नियमित प्रतियोगिता गर्ने र विदेशी टोलीहरूसँग पनि समयसमयमा प्रतिस्पर्धा गर्ने अवसर दिन सके उनीहरू विश्वकप खेल्न सक्छन् ।’
यी सबै कुरा पुर्याएर महिलालाई मैदानमा उतार्न राम्रै लगानी चाहिने एन्फाको भनाइ छ । १९८० र ९० को दशकतिर विश्वकपको छनोट खेल मानिने एसियाली छनोट खेलमा नेपाली महिला फुटबल टोलीले पनि खेल्ने गथ्र्यो । तर, हाल आएर महिला टोली दक्षिण एसियाली प्रतियोगितामै सीमित हुन पुगेकोमा दुःखेसो गर्ने धेरै छन् ।
दक्षिण एसियामा शक्तिशाली देश भारतपछि नेपाल नै पर्ने गर्छ महिला फुटबलमा । विगतका साफ च्याम्पियनसीप प्रतियोगितामा भारतसँग फाइनलमा पराजित हुँदै नेपाल दोस्रो स्थानमा आइरहेको छ । तर, दुई वर्षअघि भएको प्रतियोगितामा सेमिफाइनल खेल नै भारतसँग खेल्न परेका कारण तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।
महिला फुटबलले पाइरहेकको प्रशिक्षण र खेलहरू निकै कम छ । तर, हाम्रो प्रयास मात्रै पर्याप्त नभएको हामीले पाएका छौँ । यसका लागि विभिन्न क्लब र व्यापारिक प्रतिष्ठानहरूले पनि हातेमालो गर्न जरुरी छ । पछिल्लो प्रतियोगितामा एक दर्जनभन्दा धेरै गोल गरेकी एन्फाकी केन्द्रीय सदस्य पेमा लामा, भन्छिन्, ‘अरू देशले तयारी सुरु गरेको हामीले थाहा पाएका छौँ ।
हामीले पनि अन्तिम समयमा मात्र तयारी गर्ने परिपाटीलाई निरन्तरता दिने हो भने हामीले हासिल गर्दै आएको दोस्रो स्थान पनि खस्किन सक्छ ।’ महिला फुटबलको स्तरोन्नति गर्न अखिल नेपाल फुटबल संघले पहल गरे पनि त्यो मात्र पर्याप्त नदेखिएको एन्फाकी केन्द्रीय सदस्य र महिला कमिटीकी अध्यक्ष पेमा लामाले बताइन् ।
उनले भनिन, ‘महिला फुटबलले पाइरहेकको प्रशिक्षण र खेलहरू निकै कम छ । तर, हाम्रो प्रयास मात्रै पर्याप्त नभएको हामीले पाएका छौँ । यसका लागि विभन्न क्लब र व्यापारिक प्रतिष्ठानहरूले पनि हातेमालो गर्न जरुरी छ ।’ महिला फुटबललाई विभागीय भनिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभागीय टिमले जोगाइ राखेको भन्नेमा कसैको दुईमत देखिँदैन ।
तर, राष्ट्रिय टोलीको नेतृत्व गरिसकेकी प्रतिभाशाली खेलाडी सजना राना नै रोजगारीका लागि विदेश पलायन भएको समयमा त्यो मात्र पर्याप्त नभएको खेलाडीहरू बताउँछन् । यस्तो अवस्थामा विश्वकप पुग्नु टाढाको सपना हुन जाने स्वाभाविक रहेको कतिपय फुटबल विज्ञ बताउँछन् ।
तर, महिलाहरूले त्यो सपना जीवितै राख्नका लागि हाल उनीहरूले गरिरहेको प्रदर्शन खस्कन दिन नहुने उनीहरू बताउँछन् । यदि, राज्यले त्यसै अनुसारको योजना बनाएर सहयोग गर्ने र खेलाडीको मनोबल उठाउने काम गरेमा उनीहरूले आफूसँग भएको दक्षता देखाउन सक्ने देखिन्छ । त्यसलाई सही रूपमा प्रयोग गरे उनीहरूको सपना पूरा हुने देखिन्छ । एजेन्सीकाे सहयाेगमा
प्रतिक्रिया