पहिरोले १३ घर उच्च जोखिममा

संखुवासभा । पहिरोका कारण जिल्लाको सिलिचोङ गाउँपालिका–३ ताम्कुको याचम्खाका १३ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । केही दिनदेखि परेको लगातारको वर्षाको कारण ठाउँठाउँमा पहिरो जाने र जमिन चिरिन थालेपछि पहिरोको जोखिम बढेपछि स्थानीय त्रसित बनेका छन् ।

पहिरोको कारण जमिन चर्किएसँगै घरहरू पनि चर्किन थालेका छन् । याचम्खा गाउँमा ३२ घरपरिवारको बसोवास रहेको छ । त्यसमध्ये १३ घरपरिवार उच्च जोखिममा रहेका छन् भने अन्य घरपरिवारको अवस्था सामान्य रहेको ३ नम्बरका वडासदस्य मणिकुमार कुलुङले जानकारी दिए ।

उनका अनुसार याचम्खाका साथै छिमेकी टोल साप्तेलमा पनि पहिरो जान थालेको छ । साप्तेल टोलका १७ घरपरिवार पनि पहिरोको जोखिममा रहेका छन् । याचम्खा र साप्तेल टोल दुवैतिर पहिरोको कारण घरसमेत चर्किन थालेपछि वडासदस्य कुलुङका अनुसार स्थानीय ताम्कु प्रहरीचौकीका प्रहरीले स्थलगत अनुगमन गरेका छन् ।

स्थलगत अध्ययन अनुगमन गरेपछि स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला रेडक्रस सोसाइटीमा प्रतिवेदन पेस गरी र बस्ती सार्न पहल गरिने वडासदस्य कुलुङको भनाइ छ ।

जिल्लामा केही दिन अघिदेखि निरन्तर वर्षा भइरहेको छ । यस्तै, वर्षा निरन्तर भइरहे याचम्खा र साप्तेलमा जनधनको ठूलो क्षतिसमेत हुने वडासदस्य कुलुङले चिन्ता व्यक्त गरे । ‘लगातार वर्षा भइरहेको छ, तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायहरूलेसमेत चासो दिनुपर्छ’, उनले भने ।

पहिरो गएको स्थान सदरमुकाम खाँदबारीबाट एकदिनको पैदल दुरीमा पर्छ । यातायातको सुविधा नपुगेको सिलिचोङमा प्राकृतिक विपद् परेमा उद्धार गर्नसमेत समस्या रहेको स्थानीयहरूको गुनासो छ ।

प्रतिक्रिया