अध्यक्षले पाउने सबै रकम अक्षय कोषमा

दार्चुला । व्याँस गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले आफूलाई प्राप्त हुने कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका छन् । जिल्लाकै सबैभन्दा विकट गाउँपालिकाको नामले चिनिने व्याँस गाउँपालिकाका अध्यक्ष बुढाथोकीले सरकारी क्षेत्रबाट तथा गाउँपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने बताएका छन् ।

जिल्लाकै विकट गाउँपालिका व्याँस गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने उद्देश्य बोकेका अध्यक्ष बुढाथोकीले आफूलाई प्राप्त हुने सेवासुविधा पनि गाउँपालिकाको विकासमा लगानी गर्ने घोषणा गरेका छन् । जिल्लाको उत्तर पश्चिम त्रिदेशीय सीमा क्षेत्रमा अवस्थित व्याँस गाउँपालिकामा थुप्रै समस्याहरू रहेका छन् ।

व्याँस गाउँपालिकाका स्थानीयले जिल्ला सदरमुकाम खलंगासम्म आवतजावत गर्नसमेत महाकाली नदीमाथिको जोखिमपूर्ण तुइनको यात्रा गर्नुपर्ने बाध्यता छ । व्याँस गाउँपालिका अन्तर्गतका ६ वटा वडामध्ये कुनै पनि वडाहरू सडकले छोएको छैन । सडक सञ्जालसँग नजोडिएको व्याँस गाउँपालिकालाई समृद्धि र नमुना बनाउने दृढ लक्ष्यका लिएका गाउँपालिका अध्यक्षले आफूलाई प्राप्त हुने कुनै पनि सेवासुविधा नलिने बताएका छन् ।

व्याँस गाउँपालिका अन्तर्गतका नागरिकहरूले थुप्रै समस्याको सामना गरिरहेकाले नागरिकहरूलाई महसुस हुने गरी विकास निर्माण गर्ने उद्देश्यले आफूलाई प्राप्त सबै सेवासुविधासमेत गाउँपालिकामै लगानी गर्ने उनको भनाइ छ ।

भौगोलिक दृष्टिकोणले विकट मानिने व्याँस गाउँपालिका–१ व्याँसमा बाहै्र मास मानवीय बसोवास गर्ने सकिने अवस्था नै हुँदैन । मौसमका दृष्टिकोणले पनि व्याँस गाउँपालिका निकै समस्या रहेको गाउँपालिका मानिन्छ । सामरिक महत्व बोकेको व्याँस गाउँपालिका–१ मा हिउँदमा भारी हिमपात हुने भएकाले पनि व्याँसी सौकाहरू गर्मी याममा ६ महिना मात्रै व्याँसमा बस्ने गरेका छन् ।

६ महिना व्याँस क्षेत्रमा मानवीय बस्ती बसाल्न नसकिने हुँदा ६ महिना सदरमुकाम खलंगा बस्दै आएका छन् । यस्तै, विभिन्न समस्याहरूले जेलिएको व्याँस गाउँपालिकालाई नमुना बनाउन सरकारी बजेटले मात्रै सम्भव नहुने देखिएपछि आफ्नो सेवासुविधासमेत गाउँपालिकाको विकासमा लगानी गर्न लागेको अध्यक्ष बुढाथोकीको भनाइ छ ।

अध्यक्ष बुढाथोकीले आफूलाई प्राप्त हुने सेवा सुविधाहरू अध्यक्ष अक्षय कोष स्थापना गरी उक्त कोषमा जम्मा गर्ने गरेका छन् । अध्यक्ष अक्षय कोषमा हालसम्म एक लाख ३० हजार रुपैयाँ जम्मा भएको छ । अध्यक्ष अक्षय कोषमा जम्मा भएको उक्त रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उनको भनाइ छ ।

शिक्षाको गुणस्तर सुधार बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले कोषमा जम्मा भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् । शिक्षा क्षेत्रको विकासले मात्रै सामाजिक विकास हुने भएकाले शिक्षा क्षेत्रमा उक्त कोषको रकम लगानी गर्ने बताए ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत दिलीपसिंह धामीले शिक्षा नियमावली बनिनसकेकाले शिक्षा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न नसकिएको बताए । शिक्षा नियमावली निर्माण भए सामुदायिक विद्यालयमा विद्यमान समस्याहरू समाधान हुने दाबी गरे ।

प्रतिक्रिया