आरोपी छुटे, प्रहरी अक्षम

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका आरोपी दिलिपसिंह विष्ट मंगलबार रिहा भएका छन् ।

विष्टलाई साधारण तारेखमा रिहा गरिएको कञ्चनपुर सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । विष्टसँगै निर्मलाकी साथी रोशनी र उनकी दिदी बबिता बम पनि रिहा भए । दुवै जनालाई सरकारी वकिलको हाजिरी जवानीमा रिहा भएका प्रहरी प्रमुख कुवेरसिंह कडायतले बताए । रोशनी बम साधारण तारेखमा रिहा भएकी छन् । दिदी बबिता बम ३० हजार धरौटीमा रिहा भएकी हुन् ।

मुलुकी फौजदारी कार्यविधि (संहिता) ०७२ को दफा १५ अनुसार अनुसन्धानको सिलसिलामा हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई धरौटी वा जमानत लिई वा उसलाई अभिभावकको जिम्मामा हाजिर जमानीमा छोड्न सक्ने व्यवस्था छ । त्यसै व्यवस्थाअनुसार प्रहरीले निर्मला हत्याको अनुसन्धानमा पक्राउ परेका विष्ट र बम दिदीबहिनीलाई रिहा गरेको हो ।

१० साउन रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएन । आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिर्वतन गरेपछि मात्र बम दिदीबहिनी पक्राउ परेका थिए ।

‘निर्मलाको डिएनएको प्रोफाइल तयार भएको छ । उनको शरिरमा भेटिएको अपराधीको डिएनएसँग विष्टको डिएनए नमिलेको वकिल भट्टले बताए । घटनाको २४ दिनपछि भदौ ४ गते प्रहरीले विष्ट नै घटनाका मुख्यअभियुक्त भनेर पक्राउ गरेको थियो । घटनामा संलग्न नभएको व्यक्तिलाई पक्राउ गरेर प्रहरी अक्षम भएको पीडित पक्षले बताएका छन् ।

घरबाट साथीको घरमा पढ्न गएकी निर्मलाको ११ साउनमा शव फेला परेको थियो ।

स्थानीयले प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै विरोध गरेका थिए । विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै आक्रोशित स्थानीयले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १ जनाको ज्यान गएको थियो । पछि सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गरेको थियो । सोही मुद्दामा पक्राउ परेका रोशनी बमलाई अभिभावकको जिम्मा लगाइएको र उनकी दिदी बबितालाई ३० हजार धरौटीमा छोड्न सरकारी वकिलको कार्यालयले सहमति दिएको छ ।

निर्मलाको ११ साउनमा शव घर नजिकैको उखुबारीमा शव फेला परेको थियो । निर्मलाकोे योनीभित्रको तरलवस्तु) मा रहेकोे डिएनए र दिलिपसिंहको डिएनए फरक भएको पाइएको थियो । विधि विज्ञान प्रयोगशालाले दीलिपको डिएनए नमिलेको रिपोर्ट प्रेषित गरेको छ ।

निर्मलाको हत्या प्रकरणको अनुसन्धानमा सरकारको ध्यानाकर्षण गर्न आमाबुबासहित महिला अधिकारकर्मीको टोली कञ्चनपुरबाट काठमाडौं आएको छ । निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएपछि निर्मलाका बुबा यज्ञराज पन्त, दुर्गा पन्तलगायतको टोली काठमाडौं आइपुगेको हो ।

त्यसैगरी, राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा सांसदहरूले निर्मलाको बलात्कार गरेर हत्यापछि बनाइएको छानबिन समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाबारे सरकारलाई प्रश्न गरेका छन् ।

सांसदहरूले सरकारले नै गठन गरेको छानबिन समितिकै सदस्य सुरक्षित हुन नसक्ने देशमा अरूले न्याय पाउन नसक्ने बताए । बैठकको विशेष समयमा सांसद बद्री पाण्डेले छानबिन समितिका सदस्य केसीले असुरक्षाको कारण देखाउँदै राजीनामा दिनु गम्भीर विषय भएको बताए । केसीले निष्पक्ष छानबिन हुन नसक्ने देखिएपछि राजीनामा दिएको अभिव्यक्तिबारे गृहमन्त्रीसँग ठोस जवाफ माग गरेका छन् ।

सांसद नन्दा चपाईंले निर्मला पन्त घटनाका अपराधी पत्ता नलाग्नु गम्भीर कमजोरी भएको बताउँदै यस्ता घटनाबारे राज्यको सक्रियता बढ्नुपर्ने उल्लेख गरिन् । उनले अपराध नियन्त्रणका लागि तीनै तहका सरकारी संयन्त्रलाई परिचालन गर्नुपर्ने औँल्याइन् ।

सांसद बिना पोखरेलले गत चैतदेखि असार मसान्तसम्म १ सय ५० भन्दा बढी महिलामाथि हिंसा र बलात्कारका घटना भएको उल्लेख गर्दै यस्ता अमानवीय घटनालाई राजनीतिक स्वार्थसँग जोड्न नहुने बताइन् । उनले निर्मला हत्या बारे छानबिन समितिका सदस्य केसीलाई आएको धम्कीप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

अनुसन्धान मोडियो

निर्मला हत्याकाण्डको वास्तविकता दबाउन व्यक्तिगत प्रभावको दुरूपयोग गरेको आरोप लागेका निलम्बित एसपी डिल्लीराज विष्टको पृष्ठभूमि पत्ता लगाउन अनुसन्धान सुरु भएको प्रशासक स्रोतले जनाएको छ ।

एसपी विष्ट विभिन्न समयमा सरुवा भएका दार्चुला, बैतडी, जोगबडा र डोटीमा उनको व्यक्तिगत व्यवहारबारे अनुसन्धान भइरहेको स्रोतले जनायो । उनीबारे जानकारी बाहिर ल्याउन विष्टलाई चिन्नेहरूलाई सूचना दिन स्रोतले बतायो ।

कञ्चनपुरमा प्रहरी प्रमुख भएर गएपछि एसपी विष्टको कार्यकालमा भएका शिवराज राना र नैनराम सार्कीको हत्या प्रकरण बारे पनि छानबिन भइरहेको छ । ती दुई प्रकरणमा एसपी विष्टले गरेको शंकास्पद भूमिकाबारे छानबिन गरी उनीमाथि कारबाहीका लागि प्रमाण संकलन गरिने स्रोतको भनाइ छ । सिआइबी डिएसपी अंगुर जिसीको अनुसन्धानले पनि गलत रिपोर्ट तयार पार्न लागेको पीडित पक्ष स्रोतको दाबी छ ।

किरण विष्टले फोटोसुट गरेको भनिएको ओपेरा होटलको सिसी क्यामेराको अभिलेख मेटिएको छ । होटल व्यवस्थापनले १५ दिनको मात्रै अभिलेख रहने र बाँकी सबै मेटिने गरी प्रोग्राम गरिएको जानकारी दिएको छानबिन उच्चस्तरीय समिति स्रोतको भनाइ छ ।

निर्मला हत्याकाण्डको काठमाडौंमा विभिन्न खालका चलखेल भइरहेको देखिएको छ । एसपी विष्टले नेता तथा राजनीतिक बिचौलियाहरूमार्फत शक्तिकेन्द्रलाई प्रभाव पार्ने प्रयास गरिरहेका स्रोतहरूको दाबी छ । केही नेता र केही राजनीतिक बिचौलिया एसपी विष्टलाई बचाउन लागिपरेको स्रोतले भन्यो ।

स्रोतका अनुसार, गृहमन्त्रालयमाथि निलम्बित विष्ट, डिएसपी ज्ञानबहादुर सेटीलगायत सिआइबी डिएसपी अंगुर जिसी र अनुसन्धान प्रक्रियामा खटिएका अन्य प्रहरी अधिकृतसहित १२ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने दबाब आएको छ ।

प्रतिक्रिया