आज दर खाने दिन

काठमाडौं । यो वर्ष हरितालीका तीजको दर खाने दिन मंगलबार (आज) परेको छ । तीजको ब्रत बस्ने महिलाहरुले अघिल्लो दिन खाने मीठा मीठा परिकारलाई दर भन्ने गरिन्छ ।

केही वर्ष पहिलासम्म व्रत बस्ने अघिल्लो दिन दर खाने चलन थियो । तर, पछिल्ला वर्षमा महिना दिन अघिदेखि नै दर खाने थालिएको छ । हरितालीका तीजका दिन निराहार ब्रत बस्ने र नाचगान, पूजापाठमा गर्ने भएकाले दर खाने परम्परा रहि आएको छ ।

आजका दिन दिदिबहिनी छोरी चेली एकैठाउँमा भेला भएर रमाइलो गर्दै रातीमा खाने मीठा–मीठा परिकार फलफूललाई नै दर भन्ने गरिन्छ ।
दरको परिकारमा खिर, ढकने, हलुवा, आलुदम, आलु–कवाफ, दुध, कुरौनी, फलफूल, मिठाई लगायतका आडिला खाने चलन छ ।

बिवाहित महिलाहरुका लागि दरको महत्व अझ विशेष छ । माईतीको निम्तोमा दर खान पुगेकाहरु आजको दिन आमा, हजुरआमा, मावली, र भाउजुहरुको स्नेहका साथ खाने र रमाउने गर्दछन् ।

पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ ।

परापूर्वकालमा देवी पार्वतीले महादेव पति पाउँ भन्दै निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोली (बुधबार) ब्रत बस्ने चलन रहेको छ । यस्तै भोली देश भर शिवजीको मन्दिरमा पुजा सहित नाच गान गरेर महिलाले तीज पर्व मनाउँछन् ।

दरका रुपमा खाने परिकार स्वस्थ्य र पाचन युक्त हुनपर्ने चिकित्सकहरुको भनाई छ । आज पौष्टिक कुरा धेरै खाएर भोली दिनभर निराहार बस्दा स्वास्थ्य बिग्रन सक्ने उनीहरुको सुझाव छ ।

पछिल्ले समय दर सामाजिक संघ संस्था, राजनैतिक पार्टी र टाेल छिमेकमा समेत मिलेर खाने गरेकाे पाइन्छ । यसस अापसी सदभाव बढ्ने पनि बताउने गरिएकाे छ ।

समयसँगै तीज मनाउने परम्परामा पनि परिर्वतन भएको छ । पहिला पहिला तीजको अघिदेखि महिला टोल छिमेकमा भेला भएर दुख र पीडाका गित गाउथें । हिजो आज त्यसको स्थान आधुनिक गितले लिएको छ । मुखले गाउने भन्दा बजारमा किनेका गितले ओगटेको छ त्यसको स्थान।

प्रतिक्रिया