फिनाका लागि खेलाडी छनोट

काठमाडौं । निसर्ग स्कुल आठौँ एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन भएको छ । नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको लिंकनले ४९ र तेस्रो भएको राजर्षि गुरुकुलले ३७ अंक हात पारे ।

मित्र राष्ट्र चाइनाको ह्वांगजाउमा आयोजना हुने १४औँ फिना विश्व–च्याम्पियनसिपका लागि छनोट प्रतियोगितासमेत रहेको प्रतियोगिताबाट दुई महिला र दुई पुरुषका साथै एक–एक वैकल्पिक खेलाडी छनोट भएका छन् ।

२५ मिटरको सर्टकोर्स पौडी पोखरीमा भएको प्रतियोगितामा पुरुषतर्फ फिना अंकको आधारमा शुभम श्रेष्ठ र अनुभव सुब्बा छनोट हुन सफल भए । शुभम ५ सय २१ अंक र अनुभव ४ सय ६५ अंक प्राप्त गर्दै फिना विश्व–च्याम्पियनसिपका लागि छनोट भएका हुन् ।

पुरुषतर्फ वैकल्पिक खेलाडीको रूपमा सैयद हमजा शाह रहे । उनले ४ सय ४६ अंक हासिल गरेका थिए । महिलातर्फ टिसा शाक्य र डुवाना लामा छनोट भए । टिसाले ५ सय १० र डुवानाले ४ सय ६४ अंक हासिल गरे । वैकल्पिक खेलाडीको रूपमा छनोट भएकी खेलाडी उपास्ती महर्जनले ४ सय ४१ अंक हासिल गरिन् ।

१४औँ फिना वल्र्ड च्याम्पियनसिप मित्र राष्ट्र चाइनाको ह्वांगजाउमा ११ देखि १६ डिसेम्बरसम्म सर्टकोर्स (२५ मिटरको पुलमा) आयोजना हुँदै छ । विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १ सय ५५ खेलाडीहरूले खुलातर्फ १८ तथा उमेर समूहतर्फ ३३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया