जलविद्युत् आयोजनाको प्रगति न्यून

म्याग्दी । म्याग्दीमा सञ्चालित पाँचवटा जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ । विद्युत् विकास विभागका अनुसार ०७२ ३० साउनभित्र उत्पादन अनुमति लिएका ती आयोजनाको अहिलेसम्म पाँच प्रतिशत पनि भौतिक प्रगति भएको छैन ।

४० मेगावाटको रघुगंगा, २० मेगावाटको अपर म्याग्दी, चार मेगावाटको रुप्सेखोला, २५ मेगावाटको दरवाङ म्याग्दीखोला र ८.४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्त देखिएको विभागले जनाएको छ ।

अनुमतिपत्र लिई आयोजनाको भौतिक प्रगति २० प्रतिशत पु¥याउन नसकेका ३६ वटा आयोजनाको विवरण १५ दिनभित्र बुझाउन प्रवद्र्धक कम्पनीहरूलाई पत्राचार गरिएको विभागका महानिर्देशक नवीनराज सिंहले बताए ।

उनका अनुसार उत्पादन अनुमतिपत्र लिएको एक वर्षभित्र निर्माण सुुरु गर्नुपर्ने व्यवस्था विद्युत् नियमावली २०५० को नियम २१ मा गरिएको छ, तर ती आयोजनाले यसलाई परिपालना गरेका छैनन् । आयोजना प्रगति न्यून हुनु र नियमित विवरण नबुझाउनुका कारण खुल्ने विवरण पेस गर्न उनीहरूलाई ताकेता गरिएको हो । प्रत्येक ६÷६ महिनामा आयोजनाको प्रगति विवरण विभागमा पेस गर्नुपर्ने नीतिगत व्यवस्था छ ।

३ साउन ०६८ मा उत्पादन अनुमतिपत्र पाएको र नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको रघुगंगा हाइड्रोको अहिलेसम्मको भौतिक प्रगति दुई प्रतिशत मात्रै छ । पुरानो सिभिल ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि ऊसँगको सम्झौता रद्द गरेर ०७४ मंसिर पहिलो साता ६ अर्ब रुपैयाँमा सम्झौता गरेको जेपी एसोसियट्स गत असार पहिलो हप्ता कार्यक्षेत्रमा परिचालन भएको छ ।

रघुगंगा हाइड्रोका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत् गृहको काम एकैसाथ अघि बढाउने तयारी गरेको बताए ।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोलाले ४ फागुन ०७१ मा उत्पादन अनुमति पायो, तर लगानीसम्बन्धी विवादका कारण उसको अहिलेसम्म तीन प्रतिशत मात्रै प्रगति भएको छ ।

विवाद समाधान भएपछि हालै सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन गरेको धौलागिरि कालिका हाइड्रोका सञ्चालकहरूले आगामी हिउँददेखि भौतिक पूर्वाधारको काम सुरु हुने बताएका छन् ।

हाइड्रो इम्पाएर प्रालिले धवलागिरि गाउँपालिकामा निर्माण गर्न लागेको २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले ६ चैत ०७० मा उत्पादन अनुमति पाएको थियो । दुई प्रतिशत भौतिक प्रगति भएको आयोजनाले आगामी दसँैलगत्तै पहुँच मार्ग, बाँध र सुरुङको काम सुरु गर्न लागेको छ । भौगोलिक विकटताका कारण आयोजना निर्माणमा ढिलाइ भएको प्रवद्र्धकहरूको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित पर्यटकीयस्थल रुप्से झरना क्षेत्रमा म्याग्दी रिसर्च एण्ड डेभलपमेन्ट गु्रपले चार मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत् आयोजनाका लागि ५ वैशाख ०७१ मा उत्पादन अनुमति पाएको थियो ।

आयोजना निर्माण कार्यले प्रसिद्ध रुप्से झरनाको सौन्दर्यमा असर पर्ने र त्यसबाट पर्यटकको आगमन घट्ने स्थानीय बासिन्दाको अडानका कारण अल्झिएको छ । विवादपछि वातावरणीय असर नपर्ने गरी पहिले प्रस्ताव गरेभन्दा अर्कै ठाउँमा बाँध बनाउने डिजाइन तयार गरेर आयोजनाको निर्माण अघि बढाउने तयारी भएको छ । रुप्से खोलाको अहिलेसम्मको प्रगति ० दशमलव ५० प्रतिशत छ ।

अन्नपूर्ण गाउँपालिका ६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणका लागि ११ असार ०७२ मा उत्पादन अनुमति पाएको म्याग्दी हाइड्रोपावर लिमिटेडले ०७४ चैतदेखि पूर्वाधार निर्माणको काम सुरु गरेको छ । बाँध रहने ठाउँ शिख र घारको सिमाना कुरिलाबगरसम्म पहुँचमार्ग पुर्याएर बाँध, सुरुङ, विद्युत् गृहको निर्माण सुरु गरिसकेको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए ।

०७७ मा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको ५० प्रतिशत र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको ९२ प्रतिशत निर्माण कार्य सकिएको छ । एकसय मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यास्केटले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएका छन् ।

विभागका अनुसार म्याग्दीमा ३ सय ८ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । यसबाहेक १ सय ४४ दशमलव ३ मेगावाट क्षमताका सात आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् । १ सय ६४ मेगावाट क्षमताका चार आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् ।

३ सय ५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रवद्र्धक कम्पनीहरूलाई अनुमति दिइएको विभागको वेबसाइटमा उल्लेख छ । यसैगरी, २ सय ४२ मेगावाट क्षमताको आठवटा आयोजना सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ ।

म्याग्दीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न अन्नपूर्ण गाउँपालिका–३ दानामा २ सय २० केभी क्षमताको सब–स्टेसन निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत दानादेखि पर्वतको खुर्कोटसम्म प्रसारण लाइन निर्माण भइरहेको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए ।

यसैगरी, मालिका गाउँपालिका–७ बिमको डाँडाखेत र रघुगंगा गाउँपालिका–३ पिप्लेको राहुघाटमा सब–स्टेसनका साथै डाँडाखेतदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया