नागबेली झार बिक्रीमा कमी

पर्वत । विगतमा नागबेली झारबाट मनग्य आम्दानी गर्दै आएका यहाँका बासिन्दा अहिले निराश छन् । सामुदायिक वनमा प्रशस्त मात्रामा पाइने नागबेली झार बिक्री हुन छाडेपछि उनीहरू निराश बनेका हुन् ।

जलजला गाउँपालिका ९ लेखफाँट, ६ शालिजा तथा मोदी गाउँपालिका १ भुकताङले र क्याङमा नागबेली पर्याप्त पाइन्छ । नागबेली झारबाट उत्पादित पाउडर विदेश निर्यात गर्दै आएका किसान हाल निराश छन् । दुई वर्षयता नागबेलीको पाउडर निर्यात हुन सकेको छैन ।

उपभोक्ताले सामूहिक रूपमा नागबेली संकलन गरी बिक्री गर्दै आएका थिए । हाल नागबेली बिक्री हुन छाडेको छ । अहिले लाखौँ रुपैयाँको सो झार वनमै कुहिन थालेको छ । स्थानीयस्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाललगायत झार विवाह व्रतबन्धलगायतका काममा प्रयोग गरिँदै आएको थियो । सो झारको कोसाबाट विभिन्न शृृंगारका सामग्री बन्ने थाहा पाएपछि किसान उत्साहित भएका थिए ।

कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्याम प्रकाश पुर्जाका अनुसार यहाँका तीन सामुदायिक वन समूहले छुट्टाछुट्टै समूहमा नागबेली कोसा संकलन गर्ने गरेका थिए । संकलन गरिएको कोसालाई घाममा सुकाएर प्रशोधन गरी पाउडर बनाएर बिक्री गरिंंदै आएको थियो ।

दुई वर्षअघि लोहोसे सामुदायिक वन उपभोक्ता समूह खुइजुरीबाट दुई सय किलो तथा छहेरे तथा कमेरा पाखा वन समूहबाट १ सय ५० किलो पाउडर उत्पादन गरी बिक्री गरिएको थियो । चिसापानी वन समूह लेस्पारले भने कोसा नै बिक्री गरेको थियो । किसानले प्रतिकिलो ७ सयदेखि ८ सयसम्म आम्दानी गर्ने गरेका थिए । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा १० टनभन्दा बढी पाउडर उत्पादन हुने अनमान गरिएको छ ।

प्रतिक्रिया