दुई कोरियाबीचको शिखर बैठक २ असोजमा

उत्तर कोरियाबाट आणविक निःशस्त्रीकरण प्रक्रियामा व्यक्त प्रतिबद्धता बमोजिम पर्याप्त काम नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले विदेशमन्त्री माइक पोम्पेओको पूर्वनिर्धारित उत्तर कोरिया भ्रमण केही दिनअघि रद्द गरेका थिए

सिओल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए¬–इन र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मुनका विशेषदूतले बताएका छन् ।

उत्तर कोरियाको भ्रमण गरेका राष्ट्रपति मुनका विशेषदूत चुङ उई–योङले उच्चस्तरीय बैठकको तयारीका लागि वार्ता र सहमति हुने क्रममा रहेको जानकारी दिए ।

राष्ट्रपतीय राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुखसमेत रहेका चुङले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उत्तर कोरिया भ्रमण गरेका थिए । उनका साथ राष्ट्रिय गुप्तचर निर्देशक सुह हुन पनि सहभागी थिए ।

मुन र किमबीचको यो तेस्रो शिखर बैठक हुनेछ । यसअघिका दुइवटा भेटवार्ता सीमावर्ती गाउँ पानमुनजोममा भएका थिए ।

चुङले आगामी शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर–कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुने बताए । ‘दुवै मुलुकबीच पानमुनजोम घोषणापत्रको कार्यान्वयनको समीक्षा गर्न सहमति भएको छ र दिगो शान्ति स्थापनाका लागि व्यावहारिक उपायको खोजीका विषयमा छलफल हुनेछ । साथै, बैठकमा कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरणसहित समृद्ध कोरियाली द्वीप बनाउने उपायको खोजी गरिनेछ ।’

उत्तर कोरियाली नेताले आणविक निःशस्त्रीकरण प्रतिको प्रतिबद्धतालाई पुनः दोहोर्याएको, र त्यसका निम्ति संयुक्तराज्य अमेरिकासँग मिलेर काम गर्न उत्सुक रहेको चुङले जानकारी दिए ।

‘अध्यक्ष किम जोङ–उनले कोरियाली द्वीपमा पूर्णआणविक निःशस्त्रीकरण गर्न पुनः प्रतिबद्धता व्यक्त गरेका छन्, र त्यसका निम्ति दक्षिण कोरिया मात्र नभई अमेरिकासँगसमेत मिलेर काम गर्ने इच्छा जाहेर गरे,’ दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार जो ङले बताए ।

दक्षिण कोरियाली प्रतिनिधिमण्डलले तेस्रो शिखर बैठकको मिति तय गर्ने मात्र उद्देश्य राखेको थिएन, यसले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच आणविक निःशस्त्रीकरणका विषयमा देखिएका कठिनाइलाई फुकाउने पनि उद्देश्य राखेको थियो ।

उत्तर कोरियाबाट आणविक निःशस्त्रीकरण प्रक्रियामा व्यक्त प्रतिबद्धता बमोजिम पर्याप्त काम नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले विदेशमन्त्री माइक पोम्पेओको पूर्वनिर्धारित उत्तर कोरिया भ्रमण केही दिनअघि रद्द गरेका थिए ।

तर, उत्तर कोरियाली नेता किमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्लेषणप्रति असहमति प्रकट गरे । नेता किमको भनाइ उद्धृत गर्दै चुङले भने, ‘उत्तर कोरियाले आणविक निःशस्त्रीकरणका बारेमा गरेका कार्य अर्थपूर्ण र महत्वपूर्ण रहेका छन् ।’

किमले पुन्ग्ये–रीको आणविक परीक्षणस्थल ध्वस्त बनाइसकेको र आफूसँग अरू थप आणविक परीक्षण गर्ने स्थल नरहेको स्पष्ट गरेका थिए । नेता किमले भने, ‘अन्तर्राष्ट्रिय समुदायले आफ्ना कार्यको समर्थन गर्न हिच्किचाएको घटनाबाट आफूलाई दुःख लागेको छ ।’

नेता किमले जनवरी २०२१ अघि नै उत्तर कोरिया र अमेरिकाबीचको शत्रुतापूर्ण सम्बन्धलाई अन्त्य गर्ने र कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरणबाट मुक्त राख्ने आशा व्यक्त गरे । ‘नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आशामा कुनै परिवर्तन भएको छैन भने,’ चुङले भने ।

सन् १९५०–५३ मा भिषण युद्ध लडेका दुई कोरिया प्राविधिकरूपमा अझै पनि युद्धकै स्थितिमा छन् । दुई कोरियाबीच हतियार बिसाउने (युद्धविराम) सम्झौता भएको छ, तर शान्ति सन्धि भएको छैन । मुन र किमले औपचारिक रूपमै यस वर्षको अन्त्यअघि नै युद्ध समाप्त भएको घोषणा गर्न सहमति जनाएका छन् ।

यस्तो घोषणाप्रति अमेरिकीको धारणा केही फरक छ, किनभने युद्ध समाप्त भएको घोषणा हुनासाथ दक्षिण कोरियामा तैनाथ हजारौँ अमेरिकी सेनालाई फिर्ता लैजानुपर्ने दबाब सिर्जना हुन्छ ।

प्रतिक्रिया