फुङलिङ बजारमा मदिरा बन्द

ताप्लेजुङ । सदरमुकाम फुङ्लिङ बजारमा अबेर रातीसम्म मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार बसेको सर्वपक्षीय बैठकले शनिबारदेखि लागू हुनेगरी राती ९ बजेपछि मदिरा बेचबिखन र सेवनमा रोक लगाउने निर्णय गरेको हो ।

यस्तै, बिना इजाजत मदिरा बेचबिखन गर्नमा समेत रोक लगाइने भएको छ । इजाजत लिए नलिएको विषयमा अनुगमन गरिने छ भने तोकिएको समयभन्दा पछिसम्म बेचबिखन र सेवन गरेको पाइएमा कडाइका साथ कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

यता पाथीभरा मन्दिरमा आउने तिर्थयात्रीलाई सहजताका लागि आवश्यक व्यवस्थापनको समेत तयारी भएको छ । पाथीभराको सहज यातायातका लागि नगरपालिका उपप्रमुखको संयोजकत्वमा एक समिति बनाई आवश्यक व्यवस्थापन मिलाउने जिम्मा दिइएको छ भने उद्योग वाणिज्य संघको संयोजकत्वमा सदरमुकाम, सुकेटार, काफ्लेपाटी लगायतका चार ठाउँमा हेल्प डेक्स स्थापना गर्ने निर्णय भएको छ ।

यस्तै, सदरमुकाम र काफ्लेपाटीमा इन्फरमेसन डेक्स स्थापना गरिने भएको छ भने सुकेटारदेखि काफ्लेपाटीसम्मको सडकको अवस्थालाई बुझ्नसमेत समिति बनाइएको छ । उक्त समितिले ७ दिनभित्रै सुकेटारदेखि काफ्लेपाटीसम्मको सडक खण्डमा मर्मत र निर्माण गर्नुपर्ने ठाउँको पहिचान गर्ने छ ।

सोहीअनुसार पाथीभरा सिजनअगावै आवश्यक व्यवस्थापन गरिने बताइएको छ । यता यातायातलाई व्यवस्थित बनाउन बनेको समितिले सदरमुकामदेखि काफ्लेपाटीसम्मको भाडा दर, यातायातका कर्मचारीको पोसाक र परिचयपत्र लगायतको टुंगो लगाई कार्यान्वयनमा सहयोग पुर्याउने छ ।

हरेक समितिमा सुरक्षा निकायहरू, होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायीका प्रतिनिधिहरू संलग्न हुने बताइएको छ । पाथीभरा सिजनको पूर्वसन्ध्यामा तिर्थयात्रीलाई सहजताका लागि आवश्यक व्यवस्थापनका लागि बिहीबार बैठक बसेको प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ ।

यसैबीच, ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जय सिंह थापाले ताप्लेजुङमा बढ्दै गएको उच्छृंखल गतिविधिलाई पूर्णरूपमा नियन्त्रण गरिने बताए । मादक पदार्थ सेवन गरेर झगडा गर्ने, अनावश्यक धाकधम्की लगाउने, बजार क्षेत्रमा सवारीसाधनको स्पिड बढाउने, लागुपदार्थ ओसारपसार तथा सेवन गर्नेलाई कडाइका साथ निगरानी लिन थालिएको उनको भनाइ छ ।

उच्छृंखल गतिविधि गरेर शान्ति सुरक्षामा चुनौती थप्नेलाई कसैको प्रभाव र दबाबमा नपरी कारबाहीको दायरामा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे । यस्तै, सदरमुकाम क्षेत्रमा सिसी क्यामेरा थप गरी हरेक आपराधिक घटनालाई नियन्त्रणमा लिने पनि उनको भनाइ छ ।

प्रतिक्रिया