तेस्रो तिज गीत प्रतियोगिता सम्पन्न

काठमाडौं । तिजको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितिले तेस्रो ‘मौलिक तिज गीत प्रतियोगिता’ सम्पन्न गरेको छ ।

राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा प्रतिष्ठानको मातहतमा रहेका नौ वटा समितिमध्ये आठले भाग लिएका थिए । जसमध्ये सातवटा समितिलाई पछि पार्दै ललितपुर समिति प्रथम भएको छ । त्यस्तै, लाजिम्पाट दोस्रो र कोटेश्वर तथा बानेश्वर समिति तेस्रो भएका छन् ।

प्रतियोगितामा प्रथम हुने समूहले ३३ हजार ३ सय ३३ नगद र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी, द्वितीय हुनेले २२ हजार २ सय २२ र प्रमाणपत्र, तृतीय हुनेले ११ हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानको नयाँ बसपार्क समितिका अध्यक्ष रमेशबाबु थापाले जानकारी दिए ।

उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रको मातहतमा रहेर लोकदोहोरी क्षेत्रमा लागेका कलाकारको संरक्षण, संबर्धन तथा संस्कृतिको विकासमा योगदान दिने लक्ष्य राखेर कार्यक्रमको आयोजना गरिएको बताए ।

मौलिक नेपाली गीत तथा संगीतको संरक्षण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा लोक संगीतको क्षेत्रमा कलम चलाउँदै आएका दुई दर्जन पत्रकारलाई सम्मानसमेत गरिएको अध्यक्ष थापाले जनाए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले नेपाली मौलिक गीत संगीतको संरक्षण, प्रवद्र्धन तथा विकासका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘नेपाली गीत संगीतमा लोक दोहोरीको विशिष्ट स्थान छ । यसको मौलिकतालाई बचाउन कलाकारले खेल्ने भूमिका महत्वपूर्ण हुने भएकाले प्रतियोगिता गरिएको हो ।’

प्रतिष्ठानका पूर्वअध्यक्ष तथा सल्लाहकार दुर्गा रायमाझीले नेपालीलाई भावनात्मक एकतामा जोड्ने मौलिक गीतको प्रवद्र्धनात्मक कार्यमा प्रतिष्ठानले उल्लेखनीय कार्य गरेको धारणा व्यक्त गरे । निवर्तमान अध्यक्ष चन्द्र शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश बिजी, गायिका शर्मिला गुरुङ लगायतका कलाकारले नेपाली गीत संगीतको विकासमा प्रतिष्ठानले सबै कलाकारलाई समेट्दै राम्रा कार्य गर्दै आएको बताए ।

प्रतियोगितामा रमेश बिजी, शर्मिला गुरुङ्ग, राधिका हमाल, पिएन सापकोटा लगायतका कलाकार निर्णायकको भूमिकामा रहेका थिए । सोही कार्यक्रममा गायक दुर्गा रायमाझीलाई एघार हजार १ सय १ रुपैयाँसहित प्रतिष्ठानले अग्रज स्रष्टा सम्मान गरेको छ ।

त्यस्तै, नयाँ बसपार्क समितिमा क्रियाशील सदस्य तथा उत्कृष्ट गायिका रूपी सिञ्जाली मगरलाई पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको थियो । ०६९ सालदेखि दोहोरी गीत संगीतमा क्रियाशील रहँदै आएका अर्का गायक बखन गुरुङलाई १० हजार नगदसहित सम्मान गरियो ।

त्यस्तै, प्रतिष्ठानकै मातहतमा रहेर उत्कृष्ट दोहोरी सञ्चालन हुँदै आएको गोर्खा मनकामना दोहोरी साँझलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया