स्विट्जरल्यान्डबाट २ अर्ब सहयोग

काठमाडौं । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्विट्जरल्यान्ड सरकारले दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ ।

अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव डा. राजन खनाल र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन भई १५ जुलाई २०२२ सम्म रहनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मुख्य संयोजनमा सामी परियोजना सात वटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका पालिकामार्फत कार्यान्वयनमा आउनेछ ।

यसअघि पनि सो मन्त्रालयले सामी परियोजना पहिलो र दोस्रो चरण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ती जिल्लाबाट बर्सेनि पाँच हजारभन्दा बढी वैदेशिक रोजगारीमा जाने तथ्यांक छ । परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा सहयोग पु¥याउनेछ ।

प्रतिक्रिया