भन्सारकै मिलेमतोमा तस्करी

रौतहट । भारतसँग सीमा जोडिएको बजार गौरमा राजस्व छली बढेको छ । मुख्य नाका गौर भन्सारबाट कर्मचारीकै मिलेमतोमा व्यापारीले न्यून मूल्यांकनको प्रज्ञापनपत्र बनाएर राजस्व छल्दै तस्करी गरेका हुन् ।

तस्करले लाखौँ रुपैयाँ राजस्व तिर्नुपर्ने आयातित वस्तुको मूल्यांकन तथा परिमाण न्यून राखेर राजस्व बुझाउने गरेका छन् । भन्सार कर्मचारीको मिलेमतोमा राजस्व छल्दै दैनिक लाखौँ रुपैयाँको कपडा, खाद्यान्न तथा मेसिनरी पार्टस्को तस्करी हुँदै आएको खुलेको छ ।

‘मुख्य भन्सार नाकाअगाडि विद्युतीय पोल, भन्सार विभाग तथा गौर भन्सार कार्यालयमा समेत सिसिटिभी क्यामेरा छन् । तर, तस्करीका दृश्य र भन्सार कर्मचारीका बदमासीहरू भने क्यामेराले कैद गरेको छैन,’ स्रोतले भन्यो, ‘मुख्य प्रवेशद्वारबाटै पिकअप गाडीले तस्करी गर्छ ।

तस्करले भारतबाट आएको सामानको मूल्यांकन ६० प्रतिशतभन्दा तल पुर्याएर भन्सार अधिकृतको सेटिङमा सामान रौतहटका विभिन्न स्थानमा पुर्याउने प्रज्ञापनपत्र तयार गराउँछन्

भन्सारका कर्मचारी मिलेका छन्, राजस्व छली आएको सामान बरामद गरिँदैन ।’ पाँच लाख राजस्व तिर्नुपर्ने सामान एक लाखभन्दा कममा पास भइरहेको स्रोतले जनायो । भन्सार कर्मचारीले कपडाका पोका तथा कबाडीका प्रत्येक ट्रकको रेट नै राखेर घुस रकम तोकेका छन् । भन्सार अधिकृतको मिलेमतोमा दैनिक लाखौँको राजस्व चुहावट हुँदासमेत राजस्व कार्यालय तथा भन्सार विभाग मौन छ ।

कसरी हुन्छ तस्करी ?

तस्कर आफैँ बिचौलिया बन्छन् । भारतबाट मगाएका सामानको भन्सार तिर्दैनन् । तस्करले भारतबाट आएको सामानको मूल्यांकन ६० प्रतिशतभन्दा तल पुर्याएर भन्सार अधिकृतको सेटिङमा सामान रौतहटका विभिन्न स्थानमा पुर्याउने प्रज्ञापनपत्र तयार गराउँछन् । व्यापारीले भारतीय बजारमा हजारमा किनेको एउटा साडीको मूल्यांकन भन्सारले दुई सय रुपैयाँभन्दा बढी गर्दैन, सोहीअनुसार राजस्व लिन्छ ।

भन्सार कर्मचारीको मिलेमतोमा कागजात तयार भइसकेपछि एउटै प्रज्ञापनपत्रमा तस्करले पटक–पटक सामान ओसार्छन् । पाँच पोकाको प्रज्ञापनपत्र बनाएका तस्करले २० पोका सामान भित्र्याउन्जेल त्यही प्रज्ञापनपत्र देखाएर सुरक्षाकर्मीलाई छल्ने गर्छन् । भन्सार अधिकृत विमल साहको मिलेमतोमा गौरका शत्रुघन साह, मनोज साह र कौशल साहले संगठित रूपमा तस्करी गरिरहेका छन् ।

तस्करले भारतबाट आएको पाँच लाखको सामान कुनै व्यापारीको पसलसम्म पुर्याएपछि पाँच लाखको १२ देखि १४ प्रतिशतको रकम उनीहरूले कमिसन लिन्छन् । पाँच लाखको सामानलाई एक लाखको मूल्यांकन गराएर राजस्व तिरेर व्यापारी, भन्सार कर्मचारी र तस्करले गौर भन्सारलाई लुट्दै आएका छन् ।

गौर भन्सारबाट संगठित रूपमा तीनजना तस्करले भन्सार अधिकृतको मिलेमतोमा तस्करी गरेको स्रोतले जनायो । राजस्व संकलनमा खट्नुपर्ने भन्सार कर्मचारीले नै तस्करहरूलाई सुरक्षाकर्मीबाट जोगिने कागजात बनाएर दैनिक लाखौँ राजस्व छली गर्न मद्दत गर्दै आएका छन् । लक्ष्मीपुर, बेलबिछवा र ब्रह्मपुरीबाट सबैभन्दा बढी मदिरा, खाद्यान्न सामग्रीको तस्करी भएको छ ।

विहार सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करले यो नाकाबाट प्रत्येक दिन हजारौँ कार्टुन मदिरा भारत पठाएका छन् । सदरमुकामभन्दा पूर्वपट्टि रहेको बेलबिछवा र ब्रह्मपुरीबाट भारतीय गाउँ आदमबान र मुसाचकसम्म तस्करले मदिरा पु¥याउने गर्छन् । कुनै समय भारतीय कुखुराको चल्ला तस्करीको लागि बदनाम यो ठाउँमा अहिले मदिरा तस्करी फस्टाएको छ ।

रौतहटको पश्चिमी नाका बंकुलबाट कुखुराका चल्ला, खानेतेल, चिनी, दाल, कपडा, मोटर तथा स्पेयर पार्टस् तस्करी हुने गरेको छ । सीमावर्ती भारतीय बजार घोडासहनबाट झरोखर पोखरी हुँदै नेपाली सीमामा तस्करले सामान भित्र्याउने गर्छन् । सामान बंकुलबाट सोनरनिया, शीतलपुर बैरगनिया हँुदै कटहरीया बजारसम्म पु¥याउने गरेका छन् । कटहरीया आइपुगेको राजस्व छलेको सामान काठमाडौं जाने गरेको छ ।

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलले चोरी निकासीमा कडाइ तथा निगरानी बढाएपछि भन्सार कार्यालयबाट कागजपत्र मिलाएर सुरक्षाकर्मीलाई छक्याएर राजस्व छली भएको हो । ‘हामीले सीमामा रहेका प्रत्येक युनिटलाई चोरी निकासी रोक्न परिचालन गरेका छौँ,’ सीमा सुरक्षा कार्यालय रौतहटका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले भने, ‘कुनै क्षेत्रबाट तस्करी भए कारबाही गर्छौं ।’

प्रतिक्रिया