टुँडिखेलमा गौराकाे राैंनक (फोटो फिचर) सहित

काठमाडौं । आज सुदूरपश्चिम र मध्यपश्चिमका वासीन्दाको महत्वपूर्ण धार्मिक गौरा पर्व हो । गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासी मनोरञ्जन गरिरहेका छन् ।

उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमका वासीन्दाले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । 

यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्ति ऋषिको उदय हुने भएकाले कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्रले बताए ।

‘यस वर्ष अगस्ति ऋषिको उदय भदौ १९ गते मंगलबार नवमी तिथिका दिन बिहान ४ बजेर ६ मिनेटमा हुने भएकाले भाद्र शुक्ल अष्टमीका दिनमा गौरापर्व मनाउन मिल्दैन, यसैले भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्छ,’ उनले भने ।

गौरापूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा गायक नन्दकृष्ण जोशीले बताए ।

देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् । यस पर्वको उपलक्ष्यमा प्रदेश नं ७ सरकारले आज प्रदेशभर बिदा दिएको छ ।

तस्बिरः चमिना भट्टरार्इ

प्रतिक्रिया