‘प्रकृति भन्ने कुरा बाहिर मात्र परिवर्तन गरेर कहाँ हुन्छ र ! सुन्तला रोपेको ठाउँमा कागती नफले जस्तै हो, प्रकृति । लत छुटाउन सकिन्छ तर प्रकृति छुट्टाउन सकिन्न । प्रकृतिले हामीलाई यस्तो जीवन उपहार दियो । यसलाई सहस्र ग्रहण गर्नु हाम्रो कर्तव्य बनेको छ ।’ यी संवादलाई लेख्दै गर्दा हाम्रै वरिपरिको तर मलाई त्यति थाहा नभएको समुदायको मनोलोकमा यात्रा गरिरहेको थिएँ ।
आफूले आफूलाई तेस्रो लिंगीको जीवनभोगाइमा डुबुल्की मारिरहेको थिएँ । हुर्किँदै जाँदा आफूमा आएको परिवर्तन, मन र शरीरको बेमेल, समाजले त झापड हान्ने नै भयो । आफ्नै नजिकका काका, बाबुले समेत दिएको सास्तीले मेरो मन एक तमासको भएको थियो । केही प्रतिनिधि पात्रबाटै उनीहरूको जीवन संघर्ष र समाजको परिवेश झलझली देख्न थालेँ ।
त्यसैक्रममा फ्याट्ट अर्ध नारीश्वर गरिमा पात्र मेरो मानसपटलमा गम्भीर भएर उभिई । मलाई आफ्नो कथा भन्दै गई । म पनि हृदयको कुनाबाट कल्पनाको सहरामा यात्रा गर्न थालेँ । उसका बालापनका खिलखिलाउँदा रमाइला क्षणहरूमा मैले आफ्नो बाललिला सम्झेँ । स्कुलका नाचगानमा रमाउँदाका क्षणहरूमा शुक्रबार कक्षाकोठा लिपपोत गरी मादल बजाउँदै नाचगान गरेको याद मिसाएँ अनि उसले पाएका शिक्षकका गालीहरूलाई आफ्नै मिल्ने साथीले पाएको गाली सम्झेँ ।
अनि छिमेकीको त के कुरा परिवार अनि जीवनको आधार बनेको उसको प्रेमिकाले गरेको तिरस्कारले म झन्डै बेहोस् भएँ । जीवनका सबै ढोका बन्द भएको महसुस गरी मुक्तिको बाटो अपनाउने वेलाका उसका यी संवादले मलाई चिमट्यो । म मर्दै छु । तर्साइरहने छिमेकीहरूभन्दा म निकै टाढा छु । उनीहरूले अब कहिल्यै दुःख दिन सक्ने छैनन् । यो निर्जन ठाउँमा म कुन कारणले मर्दै छु कसैलाई थाहा हुने छैन । केवल यहाँ सिंगो आकाश छ ।
ऊ सजीव बनेर मलाई हेरिरहेको छ । जीवनमा कति तिरस्कारहरू पाएँ, कति यातना पाएँ, कसैलाई थाहा छैन । थाहा छ त केवल यही आकाशलाई । म यो जिउँदो आकाशलाई साक्षी राखेर मर्दै छु । हे आकाश ! तँ सधैँ–सधैँ जिउँदो रहिरहेस् र हेरेस् यो धर्तीमा विनागल्ती मान्छेले पीडामा किन बाँच्न बाध्य छ । हो, उसको गल्ती थिएन । गल्तीविना पाउनुपर्ने सजाय कति कहाली लाग्दो हुन्छ, यो अवस्थाको बोध भयो । त्यसैले, सधैँ–सधैँ रहिरहने आकाश नै साक्षी रहनेछ भनी यसको नामाकरण गरेँ, जिउँदो आकाश ।
मानव समाजमा विविधिता छ । विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, परम्परामा अनेक भिन्नता पाइन्छ । मानिसका जीवन जिउने तरिकाहरू पनि फरकफरक हुन्छन् । यो स्वाभाविक पनि हो । तर, यही समाजका अल्पसंख्यक मानिसलाई बहुसंख्यकले ओझेलमा पारेको स्थिति छ । तिनीहरूको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारलाई बेवास्ता गरिएको स्थिति छ ।
राज्यबाट कानुनमा केही अधिकारहरू सुनिश्चित गरिए पनि व्यावहारिक जीवनमा खासै परिवर्तनको महसुस गर्न पाइँदैन । तसर्थ, सिमान्तकृत विषयमाथि भएका सैद्धान्तिक सवाल मूलभूत रूपमा व्यवहारमा आउन सकिरहेका छैनन् । नेपालको सन्दर्भमा ओझेलमा पारिएका विभिन्न अल्पसंख्यकमध्ये तेस्रो लिंगी पनि एउटा समुदाय हो । समाज मुकदर्शक बनेको छ ।
राज्यले अधिकार दिएको छु भनी कागजी लिखत टाँसी ढुक्क भएको छ । यो समुदायलाई राज्यले उचित संरक्षण र सम्बोधन गर्न सकेको छैन । रोजगारीको पहुँच पुर्याउन सकेको छैन । व्यवहार ज्यूँका त्यूँ छ । तथापि, समयसँगै वर्तमान परिवेशमा उनीहरू विस्तारै विस्तारै संगठित बन्दै छन् । त्यो पनि सहर बजारमा मात्रै । अझै पर्याप्त छैन ।
दूरदराजका कतिपय सदस्यहरू आफ्नो पहिचान स्वीकार्न नसकी पीडित बनी इच्छा विपरीतको जीवन जिउन बाध्य छन् । आफ्नो पीडा न पचाउन सक्छन् न त कसैलाई सुनाएर मन हलुका पार्न सक्छन् । कतिपय जन्म दिएका बुबाआमाले त यो प्राकृतिक कुरा हो भन्ने कुरो बुझेका छैनन् भने समाजको त के कुरा ? हामी यस पृथ्वीमा यो जात, त्यो लिंग, यो वर्ग, त्यो भूगोल र यतिवेला हामी यी मातापिताबाट जन्मन्छौँ भनी कुनै करार गरेर जन्मेका होइनौँ ।
नियतिवशले डोर्याइएका हामी सबै एउटै छानोरूपी आकाश र घररूपी पृथ्वीमा सहयात्रीको रूपमा जन्मेका मानव हौँ । किन हामीबीच विभेद ? किन हामी आफैँ खुलेआम तरिकाले अझैँ स्वतन्त्र भएर हिँड्न सकेका छैनौँ ? किन अझै आफ्नो पहिचानलाई दबाएर राख्दै छाैँ ? किन हामीले समाजलाई बुझाउन सकेका छैनौँ ? यो सबै अनविज्ञताको कारणले यस्तो भएको हो । यसमा कुनै दुईमत छैन ।
विश्वव्यापीकरण, अहरणीयता र मौलिकता मानवअधिकारका विशेषता हुन् । विश्वव्यापीकरणका रूपमा महत्व दिएको निष्पक्षतालाई महत्वपूर्ण सिद्धान्तको रूपमा स्वीकार गरिएको छ । जस अनुसार जात, धर्म, वर्ण, लिंग वा आस्थाका आधारमा सामाजिक रीतिस्थितिप्रति कुनै पनि आधारमा मानवप्रति भेदभाव गर्न पाइँदैन । अर्को सिद्धान्त अहरणीयता, अधिकार कसैले दिने होइन, कसैसँग मागी राख्नुपर्ने पनि होइन । जन्मनासाथ प्राप्त हुने नैसर्गिक प्राकृतिक अधिकार हो ।
मानिस हुनु नै यो अधिकार प्राप्त गर्नका लागि प्रर्याप्त हुन्छ । कसैले चाहँदैमा हरण र अतिक्रमण गर्न सक्तैन । मानवअधिकारको अर्को पक्ष मौलिकता हो । यसको उपादेयता अत्यन्तै बढी हुन्छ । देशहरूका संविधानहरूमा अधिकारको व्यवस्था गरिएको हुन्छ । यी अधिकारको रक्षाका लागि कुनै पनि व्यक्तिको प्रयासलाई पुग्दैन । राज्यसंयन्त्र र यसका पदाधिकारीहरू नै लागिपर्नु पर्दछ ।
जसलाई हामी समानताको सिद्धान्तविना भेदभावको सिद्धान्त, सकारात्मक कार्यको सिद्धान्त र दायित्वको सिद्धान्त पर्छन् । यिनी मानवअधिकारका सिद्धान्त हुन् । (मानवअधिकारको विश्वव्यापी सिद्धान्त: १९४८) यो नाटकले मानिसका नैसर्गिक बाँच्न पाउनुपर्ने अधिकारको आवाज उठाएको महसुस मैले गरेको छु ।
तेस्रो लिंगीको विषयमा नाटक लेख्न अनुरोध गरेका प्रतिभावान् भाइ आरके मेहताले सर्वप्रथम नेपाल संगीत तथा नाट्य एकेडेमीले आयोजना गरेको नाट्य महोत्सवमा पहिलो पटक जेठ २९ गते ०७३ सालमा चरिकोटको सिमपानी हलमा यो नाटक मञ्चन गरे ।
उनी आफैँ खेले र निर्देशन पनि गरे । त्यसपछि कलाकार अनिल सुब्बा मञ्चमा उपस्थित भए । काठमाडौंमा १३ साउन ०७४ सालदेखि २१ साउनसम्म पहिलो चरण र फागुन ११ देखि २० गतेसम्म दोस्रो चरण गरी प्रदर्शन गरियो ।
साथै, नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै भारतको आठौँ अन्तर्राष्ट्रिय ओलम्पिक फेस्टिभलमा सहभागी हुँदै फागुन २८ गते गुहाटी र ३० गते दिल्लीमा अत्यन्त सफलताका साथ यो नाटक देखाइयो । ०७५ सालको नयाँ वर्षको सुरुआतसँगै पोखरा थिएटरको गन्धर्व नाटकघरमा समेत मञ्चन भयो ।
अन्तर्राष्ट्रिय समलिंगी, दुईलिंगी, तेस्रो लिंगी तथा अन्तरलिंगीको घृणाविरुद्धको दिवस (मे १७ तारिक) को संघारमा वैशाख ३१, जेठ एक र दुई गते तीन दिन यो नाटक मन्त्री, सांसद, सुरक्षा बलका उच्च पदाधिकारी तथा आमदर्शकमाझ यो नाटक देखायौँ ।
झापाको दमक र बिर्तामोडमा गत जेठमा ११ देखि २४ गतेसम्म नाटक देखायौँ । एक वर्षको अवधिमा ११ औँ स्थानको रूपमा ललितपुरको नवनिर्मित नाटकघर बेरी जोन एक्टिङ स्टुडियोमा जिउँदो आकाश आएको छ ।
रंगमञ्चीय हिसाबबाट कुरा गर्दा काठमाडाैंले अरू जिल्लालाई ओझेल पारेको देखिन्छ । कला, संस्कृतिले प्राचीन मानिने सहर ललितपुरमा आउन पाउँदा औधी खुसी छौँ । संगीतमा हेमन तण्डुकार हुनुहुन्छ भने सुरेश जि.सी र सरोज खड्का भाइहरू प्रकाशमा रहनुभएको छ । नारायण थापा मगर र नेचुरल्ली दीपकले यो सबै कार्यक्रमको संयोजन गर्नुभएको छ । बेरी जोनका निर्देशक मुस्कान राईको योगदान सरहानीय रहेको छ ।
अन्धविश्वासले जकडिएको समाज रूपान्तरण गर्नु त्यति सजिलो कुरा होइन तर असम्भव पनि छैन । चुचुरो चुम्ने यात्रा पनि प्रथम पाइलाबाटै चालिन्छ । चरिकोटदेखि काठमाडौं हुँदै विश्वविख्यात ओलम्पिक थिएटर फेस्टिभलमा सहभागी जिउँदो आकाश नाटक हेरेका सर्वसाधरण दर्शकहरूको एउटै निष्कर्ष थियो, ‘नाटक हेर्नुभन्दा अगाडि यौनिक तथा अल्पसंख्यक समुदायप्रति हेर्ने दृष्टिकोणमा जुन सोच थियो, बदलिएको छ ।
जातिको कुरा गर्छौँ, क्षेत्रीयताको कुरा गर्छौँ तर एउटा मानिसले अर्को मानिसको संवेदना बुझ्दैन भने हामी २१औँ शताब्दीको सभ्य नागरिक कसरी हुन सक्छाैं ?’ दर्शकहरूको मायाले हामीलाई थप काम गर्ने ऊर्जा मिलेको छ । तेस्रो लिंगीको विषयमा यो नेपाली पहिलो नाटक बनेकोमा हामी नाटक समूहका सदस्य हर्षले पुलकित छौँ । यसले सिमान्तकृत विषयलाई आम दर्शकसम्म पुर्याउने कोसिस गरेको छ ।
त्यति मात्रै नभई विश्वमै उठिरहेको यौनिक तथा अल्पसंख्यकको विषयलाई प्रतिनिधित्व गरेको छ । नेपाली रंगमञ्चमा एक वर्ष पनि नबित्दै यति धेरै ठाउँ र यति धेरैपटक मञ्चन गर्ने नाटकमा नयाँ अभिलेख सुरक्षित गरेको छ । यो सबै तपाईं दर्शक शुभेच्छुकहरूको मायाले हो । विश्वास छ, तपाईंको सल्लाहसुझाव तथा मार्गदर्शन हामीलाई अझै प्राप्त हुनेछ । धन्यवाद ।
प्रतिक्रिया