काठमाडाैं । नेपालीलाई युरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले युरोपसँग सीमा जोडिएको टर्कीलाई मुख्य केन्द्र बनाउन थालेको अधिकारीहरूले बताएका छन् । पानीजहाजमा जागिर लगाइदिने बहानामा दलालहरूले टर्की पुर्याएर नेपालीलाई अलपत्र छाड्न थालेको उनीहरूको भनाइ छ ।
टर्की गए त्यहाँबाट युरोप, अमेरिका र अस्ट्रेलियासमेत जान सकिने भन्दै दलालले मानिसहरूलाई फसाउने गरेको अधिकारीहरू बताउँछन्।टर्की पुर्याएर अलपत्र पारिएका उजुरीहरू पछिल्ला दिनहरूमा बढिरहेको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
टर्कीमा पानीजहाज र क्रुजमा आकर्षक जागिर लगाइदिने वा त्यहाँबाट युरोप र अमेरिका पुर्याउने आश्वासन दिएर फसाइएको व्यहोराका उजुरीहरू पछिल्ला दिनमा बढ्न थालेका छन् । पहिलेपहिले खाडी तथा मलेसियालगायतका मुलुकमा पठाउने बहानामा ठगी गर्नेहरूले टर्कीलाई केन्द्र बनाउन थालेको देखिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।
उनले भने, ‘युरोप र अमेरिका चाहिँ नेपाली रोजगारीमा लाग्ने युवाहरूको पहिलो रोजाइमा परेको छ । त्यसकारण वैदेशिक रोजगारी र कतिपय अवस्थामा मानव बेचबिखन तथा ओसारपसारका एजेन्टहरूले पनि टर्कीलाई ट्रान्जिटका रूपमा प्रयोग गरेको देखिन्छ।’
त्यहाँबाट दलालले अस्ट्रेलिया, अमेरिका, क्यानडा, नर्वे, डेनमार्कलगायतका देशहरूमा उनीहरूलाई पठाउने गरेको पछिल्ला अभिलेखहरूले पुष्टि गरेको उनले बताए । कतिपय घटनामा म्यानपावर र शैक्षिक परामर्श कम्पनीहरू समेत संलग्न देखिएकाले यस्तो कार्यमा दलालहरूको गिरोह नै सक्रिय हुनसक्ने प्रहरीको आशंका छ ।
युरोप र अमेरिका चाहिँ नेपाली रोजगारीमा लाग्ने युवाहरूको पहिलो रोजाइमा परेको छ । त्यसकारण वैदेशिक रोजगारी र कतिपय अवस्थामा मानव बेचबिखन तथा ओसारपसारका एजेन्टहरूले पनि टर्कीलाई ट्रान्जिटका रूपमा प्रयोग गरेको देखिन्छ । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।
विशेषगरी सिरियालगायतका द्वन्द्वग्रस्त मुलुकहरूबाट शरणार्थीका रूपमा टर्कीको बाटो हुँदै युरोप जाने गरेका समाचार आउन थालेदेखि दलालले नेपालीलाई पनि त्यस्तै, आश्वासन दिएर लाने गरेको उनको भनाइ छ । टर्कीमा काम गर्न जान नेपालीलाई रोक नलगाइए पनि द्विपक्षीय सम्झौता नभएकाले समस्या रहेको सरकारी अधिकारीहरू स्वीकार गर्छन् ।
तर, टर्की मामिलासमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूत सेवा लम्साल औपचारिक रूपमा दूतावासमार्फत् गएका कामदारहरूमा समस्या नदेखिएको बताउँछिन् । उनले भनिन, ‘हाम्रो दूतावाससँग समन्वय गरेको कामदारहरू खुसी नै देखिएका छन्। जति पनि समस्या आएको छ त्यो चाहिँ अवैध रूपमा जाने र दूतावाससँग समन्वय नगरी जाने मानिसहरूको समस्या हो ।’
कतिपय सरकारी अधिकारीका अनुसार टर्कीको भारतस्थित दूतावासले नेपाल मामिला हेर्ने र नेपालको चाहिँ पाकिस्तास्थित दूतावासले टर्की मामिला हेर्ने हुँदा समन्वयमा अप्ठ्यारो परेको छ । प्रहरीका अनुसार उजुरीपछि अवैध रूपमा मानिस पठाउने केहीलाई पक्राउ गरिएको र कतिपय दलाल अझै फरार छन् ।
प्रहरी प्रवक्ता क्षेत्रीले भने, ‘दलाललाई रोक्न विभिन्न पहलहरू गरेका छौँ । हामीले अहिलेसम्म २७ वटा रेड नोटिस र २३ वटा डिफ्युजन नोटिस पनि जारी गरेका छौँ । यसमा ८० प्रतिशत मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मानिसको नाममा भएको छ ।’
खाडीका मुलुक हुन् वा विकसित देश पुग्न चाहने खासगरी युवाले दलाललाई बढी विश्वास गर्नाले ठगी बढेको बताउँदै अधिकारीहरूले त्यसमा सचेत रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया