जहाँ पानी माग्दा मोही दिइन्छ

कृष्ण ओझा


पाँचथर । सुख्खाग्रस्त क्षेत्रमा पानीको जोहो गर्न थालिएको छ । असारको तेस्रो सातादेखि मनुसन सक्रिय भएर वर्षात् हुन थालेपछि पाँचथरको कुम्मायक गाउँपालिकावासीले पानीको जोहो गर्न थालेका हुन् । हिउँदमा पानीको अभाव पूर्ति गर्न वर्षात्को पानी कतै ठुल्ठूला ड्रममा भरेर त कतै प्लास्टिक पोखरी निर्माण गरेर संकलन गर्दै आएका छन् ।

केही गाउँमा भने भलको पानी पनि संकलन गर्न ससाना आहाल निर्माण गरिएको छ । वर्षात्को सिजन सुरु भएपछि पानीको जोहो गर्न व्यस्त कुम्मायकवासीलाई केही वर्षदेखि पानीको चर्को समस्याले पिरोलेको छ । गाउँघरमा रहेका पानी पँधेरो र खोल्साखोल्सीमा पानीको मुहान सुकेपछि वर्षात्को पानीको भरपर्नु कुम्मायकवासीको बाध्यता हो ।

कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा हिमाल होटल सञ्चालन गर्दै आएका व्यवसायी केशवकुमार थापाले वर्षात्को पानीले फारो गरी चलाउँदा हिउँदयामको चारदेखि पाँच महिनासम्म थेग्ने गरेको बताए । घरको छानाबाट बलेसीमा झर्ने पानीलाई बलेसीमा झर्न नदिई पाइपमार्फत ड्रममा थाप्ने गरिन्छ ।

होटल व्यवसायी थापाले यसरी थापेको पानी भाँडाकुडा र लुगा धुन प्रयोग गर्ने गरेको बताए । ‘प्रायः घरहरूमा जस्तापाताको छाना छ । बलेसीमा झर्ने पानी पाइपमार्फत ड्रममा झारेर थापिन्छ’ उनले भने, ‘कम्तिमा पनि पाँच सयदेखि एक हजार लिटरसम्मका ५ देखि १० वटासम्म ड्रम प्रत्येक घरमा छ, वर्षात् भएपछि थाप्न थालेका छौँ ।’ कुम्मायकवासी वर्षात् भएपछि हर्षित पनि भएका छन् ।

आवश्यकताअनुसार लुगा धुन, भाँडाकुँडा माझ्न र गाईवस्तुलाई पानि दिन पर्याप्त पुगेपछि पिउने प्रयोजनको लागि मात्रै किन्ने गरेका छन् । कतिपयले फिल्टर गरेर त कतिपयले भने उमालेर वर्षात्कै पानी प्रयोग गर्दै आएको पाइएको छ । कुम्मायकको १, ३, ४ र ५ नम्बर वडामा पानीको चर्को समस्या छ । भएका केही पानीका मुहानहरू ०७२ सालमा गएको विनाशकारी भूकम्पपछि सुकेका छन् । यसले गर्दा पानी अभावले काकाकूल बन्न पुगेका कुम्मायकवासीको क्षणिक अभाव पूर्ति वर्षात्को पानीले गर्छ ।

कुम्मायककै केन्द्र यासोक बजारमा होटल व्यवसाय गर्दै आएकी मीना सेर्मा राईले वर्षात्को पानीले ड्रमहरू टम्म भरेको बताइन् । लुगा धुन र शौचालयमा वर्षात्को पानीको बढी प्रयोग गर्दै आएको भन्ने उनले हिउँदमा पानीको अभावले होटल व्यवसाय सञ्चालनमा कठिनाई हुने पनि बताइन् । ‘वर्षात्को पानीले हिउँदको केही महिना भ्याउँछ, तर छिट्टै पानीमा किरा पर्छ’, उनले थपिन्, ‘त्यस्तै पानी भए पनि पिउनेबाहेक अन्य प्रयोजनका लागि प्रयोग गरिन्छ ।’

कुम्मायक गाउँपालिकावासीमध्ये अधिकांशले वर्षात्को पानी संकलनकै लागि जस्तापाताको छाना भएको घर पनि बनाउन थालेका छन् । खरले छाएको छानामा भन्दा जस्तापाताले छाएको छानाबाट बलेसीमा मजाले पानी झर्ने भएकोले जस्तापाताको छाना भएको घरप्रति कुम्मायकवासीको मोह पनि जागेको देखिन्छ । यसले गर्दा बर्सेनि खरको छाना भएको घरको संख्या पनि घट्दै गएको पाइएको छ ।
वर्षात्को पानी संकलनका लागि कुम्मायक गाउँपालिकाले साविकको प्रत्येक वडामा प्लास्टिक पोखरी बनाउन पाँच वटाको दरले प्लास्टिक दिएको छ । ४० हजार लिटर पानी अँटने क्षमताको प्लास्टिक कृषक समूहहरूलाई दिएको हो ।

पानीको अल्पकालीन समस्या समाधानको विकल्प नै प्लास्टिक पोखरी बनेपछि कृषक समूहहरूलाई छनोट गरी साझेदारीमा दिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । आर्थिक वर्ष ०७५÷७६ को वार्षिक बजेट सहितको नीति तथा कार्यक्रममा पनि खानेपानीअन्तर्गत प्लास्टिक पोखरी निर्माणलाई गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिका अध्यक्ष चेम्जोङले प्लास्टिक पोखरीले सामान्य करेसाबारी सिञ्चितदेखि लिएर गाईवस्तुलाई पानी किनेर खुवाउनुपर्ने जटिल अवस्थाको अन्त्य हुने बताए । अघिल्लो वर्षको २४ लाख कृषि शीर्षकको रकम दिएको थियो ।

कुम्मायक गाउँपालिकामा खानेपानी समस्या अल्पकालीन रूपमा समाधानको प्रयास भएको छ । गाउँपालिकाले केही महिनादेखि गाउँपालिकावासीलाई पानी कम मूल्यमा उपलव्ध गराउँदै आएको छ ।
गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले प्रतिलिटर पानी ६० पैसामा उपलव्ध गराउँदै आएको बताए । निजी ट्याक्टर व्यवसायीले उपलव्ध गराउने पानीको मूल्य भने अलिक चर्को छ । प्रतिलिटर डेढ रुपैयाँसम्म रहेको पाइएको छ । गाउँपालिका अध्यक्ष चेम्जोङले पानी वितरणलाई व्यवस्थित गर्न बाँकी रहेको बताए ।

सहज र सुलभ ढंगले गाउँपालिकावासीलाई पानी उपलव्ध गराउनुपर्ने उनको भनाइ छ । कुम्मायकवासीलाई ट्यांकर र ट्रयाक्टरले छोरुङगा खोला, सिवा खोला र तमोरदेखि पानी ल्याएर उपलव्ध गराउँदै आएको हो । कुम्मायक गाउँपालिकामा पानी ‘अमृत’ बनेको छ । पहिले भएका मुहानहरू सुकेर करिब १० वर्षयता हाहाकार भएपछि नै यहाँ पानी अमृतजस्तो भएको हो । एकाध कुवाको पानीमा सिंगो गाउँ नै भरपर्नु परेको स्थिति छ । यासोकको होक्लुम्बा, ओखलढुंगा र खाल्डे क्षेत्रमा एक गिलास पानीको सट्टा बरु मोही दिन थालेका छन् ।

एक गाग्रो पानीका लागि चार घण्टा समय लाग्ने गरेको स्थानीय लक्ष्मी खत्री बताउँछिन् । यसले गर्दा बालबालिकाको पढाइमा पनि पानीकै कारण बाधा पुग्ने गरेको उनको भनाइ छ । पानीको समस्या समाधान भए बालबालिकाहरूले पढ्न पाउँथे कि उनको भनाइ थियो । कुम्मायककै यामबहादुर रम्तेलले पानी किन्नुपर्ने जमाना आउँला भनेर नसोचेको बताए । ‘पहिले गाउँको ठाउँठाउँमा सिम खेत थियो, टन्नै धान रोपिन्थ्यो, जुग कस्तो आयो’ उनले भने, ‘पानी अमृत भो ।’

प्रतिक्रिया