मोदीलाई यस मन्दिर दर्शनमा ल्याउन लागिरहेका छौँ

बुढानीलकण्ठ नारायणको मन्दिर चक्रपथबाट आठ किलोमिटर बाहिर पर्छ । बुढानीलकण्ठ नारायणलाई नेपालको चार नारायण पछिको पाँचौँ नारायणको रूपमा हिन्दू धर्मावलम्बीले पुज्ने गरेका छन् । बुढानीलकण्ठ नारायणस्थानको मन्दिरको पूर्वमा शिवपुरी, पश्चिममा विष्णुमति नदी, उत्तरमा पनि शिवपुरीको केही भाग र दक्षिणमा चक्रपथ पर्छ ।

बुढानीलकण्ठ नारायणलाई भक्तजनले वैशाख र कात्तिक महिनामा नारायणको रूपमा पुज्ने गरेका छन् भने साउन महिनामा नीलकण्ठ नारायणको रूपमा पुज्ने गर्छन् । विष्णु भगवान्को अन्नत रूप भएकाले साउन महिनामा विष्णुलाई हरिहरको रूपमा पुज्ने गरिन्छ । बुढानीलकण्ठ नारायणको वास्तविक स्वरूप पनि हरिहर नै हो।

साउन महिना हरियालीको महिना भएकाले यस महिनामा हिन्दू धर्मावलम्बीहरूले विष्णु र श्रीकृष्णको पूजापाठ गर्ने गर्छन्। यो मन्दिर विश्वका १७ मुलुकमा प्रख्यात छ । त्यसैले चार नारायणभन्दा यस मन्दिरमा विदेशी भक्तजन पनि घुँइचो लाग्छ । वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिन यस मन्दिरमा विशेष मेला लाग्ने गर्छ ।

शिवपुरीमा अवस्थित सतरुद्रेश्वर ज्योतिर्लिंगको वर्षको अन्तिमदिन मेला भरी नयाँ वर्षको पहिलो दिन भक्तजन यस मन्दिरमा आउँछन् । विशाल शिलामा रहेको सतरुद्रेश्वर महादेवसँगै अन्य ससाना हजारौँ शिवलिंगको दर्शन हाल पनि गर्न सकिन्छ । यस महादेव स्थानमा हरेक वर्ष अक्षय तृतीयाको दिन मन्दिरको तर्फबाट लघुरुद्री गर्ने परम्परा रहेको छ ।

नारायणस्थानको बाह्मणहरू शिवपुरीमा पूजापाठ गर्न जाने चलन लामो समयदेखि हालसम्म पनि चल्दै आएको छ। वैशाख महिना भगवान् नारायणको अति नै प्रिय महिना हो । त्यसैले वैशाख महिनाभर नै यस मन्दिरमा मेला लाग्ने गर्छ। त्यस्तै कात्तिक महिनामा पनि यस मन्दिरमा मेला लाग्ने गर्छ ।

ठूलो एकादशीदेखि पूर्णिमासम्म पाँच दिन भीष्मपञ्चकको अवसरमा पनि यहाँ भक्तजनको ठूलो मेला लाग्ने गर्छ । त्यस्तै पुरुषोत्तम महिना परेको वर्षमा पनि यहाँ विशेष मेला लाग्ने गर्दछ । यस वर्षको पुरुषोत्तम महिनामा नेपालीभन्दा बढी भारतीय भक्तजनको बढी घुँइचो लागेको थियो।

०७२ सालको भूकम्पपछि यस मन्दिरमा दर्शनार्थीको कम आउन थालेका थिए तर यसवर्ष भने करिब पाँच लाख भक्तजनले दर्शन गरेका छन् । यस मन्दिरमा मठाधीश नियुक्त गुठी संस्थानले गर्दछ । यसरी नियुक्त भएका मठाधीशको कार्यकाल भने पाँच वर्षको हुनेछ ।

संस्थानले चाहेमा कुनै मठाधीशलाई पुनः पाँच वर्षका लागि नियुक्त दिन सक्नेछ । तर, यसका लागि मठाधीशको स्वीकृति अनिवार्य लिनुपर्ने हुन्छ । यस मन्दिरको हाताभित्र गुरुकुलीय पराम्परा अनुसार कक्षा ४ देखि १० कक्षासम्म पढाइ हुने गरेको छ। हाल यस गुरुकुलमा ४५ जना वटुकहरू अध्ययन गरिरहेका छन् ।

१० कक्षा अध्ययनपश्चान बटुकहरूले अनिवार्य रूपमा यहाँबाट बिदा लिनुपर्ने हुन्छ । गएको भूकम्पले यस हाताभित्र रहेका भवनहरू जीर्ण अवस्थामा पुगेका छन् । भारतीय दूतावासको सहयोगमा नयाँ भवन निर्माण भइरहको छ । यस भवन बनेपछि सबै कामका लागि सुविधा हुनेछ।

यस मन्दिरलाई व्यवस्थित गर्न बनेको बुढानीलकण्ठ व्यवस्थापन समितिले वटुक, मन्दिरका कर्मचारी, गुरुहरू, मन्दिर संरक्षणका लागि बसेका नेपाल प्रहरीका लागि दैनिक ६० जनालाई भोजनको व्यवस्था गर्दै आएको छ । यस मन्दिरको आम्दानी भनेको मन्दिरमा चढेको भेटी, दाताले दिएको सहयोग नै मूख्य रहेको छ ।

अन्य आम्दानीमा यस मन्दिरमा आएर गरिने विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यमा दाताको इच्छाअनुसार दिइने भेटी पनि पर्दछ ।विशेष गरी सामूहिक व्रतबन्धमा उठेको चामल, फलफूल र दक्षिणा भने सबै मन्दिरले प्रयोग गर्दै आएको छ । यसैबाट नै मन्दिरमा दैनिक भोजनको व्यवस्था हुने गरेको छ ।

यस मन्दिरमा मठाधीश नियुक्त गर्नेबाहेक अन्य कुनै काम गुठी संस्थानले गरेको छैन । गुठी संस्थानको हालत पनि यस मन्दिरजस्तै भएकाले के माग्नु । सुरुमा भने यहाँको आम्दानी संस्थानमा जाने गथ्र्याे र मन्दिरलाई केही सहयोग हुन्थ्यो । हाल भने यहाँको आम्दानी यही खर्च हुने हुँदा संस्थानको खासै सहयोग छैन ।

तर, भवन निर्माणजस्ता कार्यमा भने कहिलकाहीँ संस्थानले सहयोग गर्ने गरेको छ । यहाँ नियमित अनुदान आउने भनेको गुरुकुललाई मात्रै हो। १५ भदौमा नेपालमा हुन लागेको बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्रीलाई यस मन्दिरमा ल्याउने प्रयास भइरहेको छ । आस्थावान भएका मोदी यस मन्दिरमा आउनेमा हामी सबै आशावादी छौँ ।

भारतीय दूतावासले पनि सहयोग गर्ने वचन दिएको छ । यसले यस मन्दिरको प्रचारप्रसारमा मद्दत पुग्दछ । उपत्यकाभित्र रहेका इचंगु, विशंखु, चाँगु र शेष नारायणको व्रत र पूजापाठको फल बुढानीलकण्ठको दर्शन गरेपछि पूर्ण हुने विश्वास भक्तजनमा रहेको छ । त्यसैले यहाँ भक्तजनको घुँइचो लाग्ने गर्दछ । यस मन्दिरमा नेपालीपछि भारतीय भक्तजनको भिड लाग्ने गर्दछ ।

भने, बर्मा, श्रीलंका, थाइल्यान्ड, अमेरिकाबाट भक्तजन आउने गरेका छन् । विशेष गरी ॐ कार परिवारलाई यस मन्दिरले प्राथमिकता दिने गरेको छ । मन्दिर खुला ठाउँमा भएकाले अन्य धर्मका पनि यस मन्दिरको अवलोकनका लागि आउने गरेका छन् । अवलोकनका लागि कुनै पनि धर्मलाई बन्देज भने लगाइएको छैन ।

यस मन्दिरमा १८ देशका भक्तजनले दर्शन गरेको रेकर्डबाट थाहा हुन्छ । यहाँ बुद्ध धर्म मान्नेहरू पनि उत्तिकै आउँछन् ।यहाँ आउने भक्तजनको आस्थाका आधारमा मूर्तिमा आकृति देखिने विश्वास रहेको छ । शिव मान्नेले शिव, बुद्ध मान्नेले बुद्ध र कृष्ण मान्नेले मूर्तिमा कृष्णको रूप देख्न सक्छन् ।

बुद्ध धर्मावलम्वी नारायणलाई बुद्धको रूपमा, भगवान्को पाउ कैँचीको आकृतिमा भएकाले कृष्ण प्रणामी कृष्णको रूपमा भने रामभक्त रामको रूपमा पुज्दछन् । त्यसैले भगवान् नारायणलाई अनेकौँ छबी र आकारमा देख्न सकिन्छ । उपत्यकाको अन्य स्थानभन्दा पछि परेको झोर र त्यो भन्दा पनि पछि परेको यो ठाउँ हाल मन्दिरको प्रचारपसारसँगै भक्तजनको घुँइचोले चर्चा पाउन थालेको छ ।

जगत्का पालनकर्ता भनेर चिनिने नारयण भगवान्ले सबैको पालन गर्दै आएका छन् । भक्तजनको सेवाका लागि खुलेका व्यवसायबाट यहाँका व्यापारीहरूले आफ्नो आम्दानी बढाइरहेका छन् । हाल यो मन्दिर परिसरले १२ देखि १४ रोपनी जग्गा ओगटेको छ । तर, ०४६ सालमा स्वर्गीय राजा वीरेन्द्रको शासनकालमा मन्दिर वरपरको जग्गा अधिग्रहण गरी ४८ रोपनी कायम गरिएको थियो ।

बाँकी जग्गामा बस्ती बढ्दै गएकाले मन्दिरले आफ्नो जग्गामा भोगचलन गर्न पाएको छैन । हाल उक्त जग्गा मन्दिरलाई अति आवश्यक भएको छ । यहाँ घर बनाएर बसेका बासिन्दालाई सरकारले अन्य ठाउँमा सारीदिएमा मन्दिरले आफ्नो जग्गा पूर्णरूपमा पाउने थियो ।

यसका लागि मन्दिर व्यवस्थापन समितिले ०४६ सालमा कायम भएको ४८ रोपनी जग्गा फिर्ता हुनुपर्छ भनी सरकारसँग मागसमेत गरेको छ । मन्दिरको सहारमा बसेकालाई सुकुम्बासी नबनाई जग्गा फिर्ता गर्नुपर्ने हाम्रो धारणा रहेको छ । अधिग्रहणको बारेमा बुढानीलकण्ठ नगरपालिकाले मन्त्रालयमा समेत कुरा उठाएको छ ।

बुढानीलकण्ठ नारायणको उत्पत्ती र महिमा
द्वापर युगमा सूर्यक्षेत्र नामक राजा शिवपुरी नगरीमा राज्य गर्थे । उनी असाध्यै आस्थावान् र धार्मिक थिए । उनी प्रत्येक दिन भगवान् बद्रीनाथ र केदारनाथको दर्शन गर्नका लागि जान्थे । यो क्रम उनको शरीरले साथ दिएसम्म गरिरहे । जव उनी वृद्धावस्थामा पुगे उनले बद्रीनाथ र केदारनाथसँग आफू आउन नसक्ने र मेरै राज्यबाट यहाँहरूलाई स्मरण गरी प्राण त्याग्ने कुरा विन्ति चढाए ।

त्यसपछि भगवान् प्रशन्न भएर हामी भोलिदेखि तिम्रै नगरमा आई तिमीलाई दर्शन दिनेछौँ अबदेखि तिमी जाउ । यति सुनेपछि राजा प्रशन्न भई आफ्नो राज्य फर्के । भोलिपल्ट भगवान्को प्राकट्य आफ्नो राज्यमा भएको कुरा राजालाई संकेत भयो । राजा दर्शनका लागि गए । राजालाई मूर्तिको रूपमा प्रकट भएका हरिहरको विग्रह स्वरूप चित्त बुझेन ।

उनले त्यसमा बद्रीनाथ र केदारनाथ स्वरूप नभएकाले आफ्नो तपस्या भंग गर्नका लागि गरिएको षड्यन्त्र भएको ठाने । यसै विषयमा भगवान् र राजाको वादविवाद भयो। यसरी वादविवाद भएपछि भगवान् रिसाउनुभयो र भन्नुभयो, ‘यदि तिमीलाई म प्रति विश्वास छैन भने जाउँ अबदेखि तिमी र तिम्रा सन्तानले मेरो दर्शन गर्ने छैनन् ।’

श्राप पाएपछि राजा त्यहाँबाट हिँडे । द्वपारयुगको अन्त्य भएकाले प्रलयकाल सुरु भयो । प्रलयकालमा सारा संसार जलमग्न भयो । काठमाडौं उपत्यका पहिला तलाउको रूपमा थियो । बुद्ध धर्म मान्नेहरू मञ्जुश्रीले आफ्नो शक्ति वरदा र मोक्षदाको सहायताले चोभारको डाँडोलाई काटेर निकास गरेको मान्दछन् ।

तर, हिन्दुधर्ममा भने भगवान् श्रीकृष्णले आफ्नो सुदर्शन चक्रमार्फत जमिन काटेर पानी बाहिर फालेको शास्त्रमा पढ्न पाइन्छ । सर्वज्ञाता श्रीकृष्णलाई यस ठाउँमा भगवान् पशुपतिनाथ, गुह्येश्वरीमाता, बुढानीलकण्ठलगायत अन्य विभिन्न तीर्थरहेका कुरा थाहा थियो । श्रीकृष्णसँगै आएका ग्वालाहरू यहिँ बस्न थाले ।

खेतीपाती र गाईपालन त्यतिखेरको मुख्य पेसा थियो । जहाँ बुढानीलकण्ठ भगवान्को मूर्ति पुरिएको थियो त्यहाँ जति धान झार्यो त्यति नै झरिरहने भयो । अन्य स्थानबाट ल्याएर धान खनाएमा पनि दोब्बर हुन्थ्यो । यो क्रम कहिलेसम्म चलेको कुरा भने निश्चित छैन ।

अन्य कुनै स्थानमा नहुने युस स्थानमा मात्र यस्तो हुँदा किसानहरू अचम्मित भए । यसको रहस्य जान्नका लागि किसानले त्यसठाउँमा खनेर हेर्दा रगत आयो । सबै मिली खनेर हेर्दा त्यहाँ भगवान् नारायणको मूर्ति प्रकट भयो । मूर्ति प्रकट भएकोमा किसान खुसी भए पनि अपराध गरेकोमा चिन्ता लिन थाले ।

भगवान् प्रकट भएर अब कलियुगको सुरुआत भएको छ । यस युगमा मानिस धेरै पापी र नास्तिक हुन्छन् । उनीहरूकै कल्याणका लागि म आफ्नो इच्छाले प्रकट हुन लागेकाले तिमीलाई केही दोष छैन। किसानले खन्दा घाउँ लागेका हुँदा मूर्तिको एक खुट्टाको आैँला छैन । नीलकण्ठ भनेको शिवको नाम हो ।

त्यसैले हरिहरको संयुक्त रूप भएकाले बुढानीलकण्ठ भनिएको हो । बुढानीलकण्ठलाई बद्रीनाथ र केदारनाथको संयुक्त स्वरूप हो । शिव स्वरूपका लागि भगवान्ले नाग पहिरिनु भएको छ भने नारायणको स्वरूपमा शंख चक्र, गदा र पद्म धारण गर्नुभएको छ । यस मन्दिरमा नियमित रूपमा विष्णु सहस्रनाम पाठ हुनुका साथै रुद्राभिषेकद्वारा जलधारा पनि गरिन्छ ।

मूर्तिलाई हेर्दा भगावान् विष्णुको विग्रह देखिएता पनि वास्तवमा हरिहर स्वरूपा हुन् । नाम नीलकण्ठ भएपति स्वरूप भने विष्णुको छ । भारत वर्षमा गंगा र यमुना छुट्टाछुट्टै बग्दै प्रयागमा आएर संगम हुन्छ । संगममा दुवै नदीबीच विवाद हुन्छ । उनीहरू दुवै स्वतन्त्र भएर आफ्नो अस्तित्व राख्ने चाहना प्रकट गर्दछन्।  त्यहीबेला भगवान् प्रकट भएर दुवैको विवादालाई शान्त पार्नुहुन्छ ।

संगम भनेको ठूलो तीर्थ हो । ठाउँठाउँमा यस्तो तीर्थ नभए कलियुगमा धेरै भक्त नास्तिक हुन्छ । धर्मप्रति मानिसको आस्था हराएर जान्छ। त्यसैले भक्तको कल्याणका खातिर पनि हामी संगम हुनै पर्छ । यसरी भगवान्ले सम्झाएपछि दुवै नदीे संगममा लागि तयार हुन्छन् । गंगाजीको स्वरूप सेतो छ भने यमुनाको स्वरूप नीलो छ ।

संगमपश्चात् नदीको नाम गंगा भए भने रूपचाहिँ यमुनाको भएर बग्नेमा दुवैको कुरा मिल्दछ । यसरी यमुनाको नाम मेटिए पनि आफ्नै रूपमा गंगाजीको नाममा अगाडि बग्ने गर्दछ । भगवान् सर्वज्ञ हुनुहुन्छ । त्यसैले नामले फरक पार्दैन ।बुढानीलकण्ठ नारायणको मूर्ति २२ फुट लम्बाइ र १२ फुट चौडाइको विग्रह स्वरूपा छ ।

लम्बाइ लामो भएकाले टेकेर पूजा गर्नु पर्ने पर्छ ।यसरी पूजा गर्दा निकै अप्ठ्यारो सामना गर्नुपर्छ । त्यसैले १६ वर्षभन्दा मुनिका वटुकले भगवान्लाई टेकेर पूजा गर्ने गरेका छन् । भनिन्छ, १६ वर्षमुनिका बटुकहरूमा निस्पाप निस्कलंक हुन्छन् । नारायणको पूजा षोडसोपचारले गर्ने गरिन्छ । (सौर्यकमी सुभानु आचार्यसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया