हेलिकोप्टर चढेर कैदी फरार

पेरिस । कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समययता जेल सजाय भोगिरहेका कुख्यात चोर हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेका फ्रान्सेली अधिकारीले बताएका छन् । फ्रान्सको रिआउ सहरनजिकै रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका केही सशस्त्र व्यक्तिहरूले जेलबाट भगाएको यस घटनासँग निकट स्रोतले जनाएको छ ।

सन् २०१० मा यहाँ भएको सशस्त्र डकैतीको योजनाकार ठहर गर्दै यहाँको पुनरावेदन अदालतले २५ वर्षको जेल सजाय सुनाएपछि फाइडलाई जेलबाट भगाइएको हो । आठ वर्षपहिले भएको उक्त घटनामा एक महिला प्रहरीसमेतको ज्यान गएको थियो । फाइडसहित तीनजना सहयोगी जेलबाट भागेको स्रोतले जनाएको छ । सुरक्षाकर्मीले उक्त हेलिकोप्टरलाई रिआउ सहरको उत्तरपूर्वी क्षेत्रमा भेटेको थियो ।

प्रहरीले सम्पूर्ण पेरिस क्षेत्रको सुरक्षा अवस्थालाई कडा पार्दै फरार अभियुक्तलाई खोजिरहेको छ । फाइड जेलबाट भागेको यो दोस्रो घटना हो । उनी सन् २०१३ मा पनि उत्तरी फ्रान्सको एक जेलबाट भागेका थिए । उनले सन् २०११ को मध्यपछि जेलजीवन बिताउँदै आएका थिए । पिस्तोलधारी कुख्यात डाँका फाइडले जेलबाट भाग्ने क्रममा तीनजना सुरक्षागार्डलाई बन्धक बनाए पनि उनीहरूलाई लगत्तै छोडेको बताइएको छ ।

प्रतिक्रिया