काभ्रे । काभ्रे जिल्लाको आठौँ जिल्ला सभा तथा आर्थिक वर्ष २०८१–८२ को प्रगति समीक्षा सम्पन्न भएको छ । धुलिखेल अस्पतालको अडिटोरियम हलम आज मंगलबार सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व सञ्चारमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बास्कोटाले गरेका थिए । त्यसैगरी सभापतित्व जिल्ला समन्वय समिति (जिसस) काभ्रेका प्रमुख दीपक गौतमले गरेका थिए । उक्त आठौँ जिल्ला सभाबाट पाँच प्रस्ताव पारित गरिएको छ ।
प्रमुख दीपक गौतमले सभासमक्ष पाँच महत्वपूर्ण प्रस्ताव प्रस्तुत गर्दै आगामी समन्वय कार्यलाई नीतिगत ढंगले अघि बढाउने संकेत दिए । प्रस्तावमा संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ, विकास प्राथमिकता स्पष्ट, अनुगमन प्रभावकारी तथा स्रोत व्यवस्थापन पारदर्शी बनाउने पक्षहरू समावेश छन् ।
सभाले सर्वसम्मतिमा ती प्रस्तावहरू पारित गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले कटाक्ष गर्दै ‘हिरोइजमले समाज चल्दैन’ भन्दै अभिव्यक्ति दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बास्कोटाले विकास र समन्वयमा एकतावद्ध हुन आफ्नो प्रतिबद्धता व्यक्त गर्दै जनप्रतिनिधिलाई ‘फिल्मी हिरो’ जस्तो नबन्न चेतावनी दिए ।
उनले भने, ‘समाज हिरोइजमले चल्दैन, चल्ने थियो भने फिल्मका हिरोहरूले समाज र अर्थतन्त्र चलाउँथे ।’ संघीय सरकारको बजेट पनि वडा–टोल केन्द्रित हुँदै जाँदा दीर्घकालीन योजना ओझेलमा परेको भन्दै उनले बजेटमा दीर्घकालीन रोजगारी सिर्जना र आत्मनिर्भरतामा केन्द्रित हुनुपर्ने धारणा राखे ।
उनले थपे, ‘कम जनशक्ति, सीमित स्रोत र असिमित अपेक्षाबीच असन्तुष्टि बढ्दो छ, सांसदको सीमा बुझ्न नसक्दा विकास उपलब्धि ओझेलमा पर्छ ।’ प्रमुख दीपक गौतमको आक्रोश जिसस की अधिकार प्राप्त बनाऊँ की ‘२०८४ मा खारेज गरे पनि फरक नपर्ला !’ जिसस प्रमुख दीपक गौतमले भने अधिकारविहीन समन्वय समितिको अस्तित्व मात्र नरहने तर्क गर्दै कडा शब्दमा मन्तव्य दिए । उनले गीत उद्धृत गर्दै भने, ‘बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त पर्ने नै भयो… यो मन त्यसै मर्ने नै भयो ।’
उनले संघीय संरचनाभित्र जिल्लाको भूमिका झन् गम्भीर हुने भएको तर अधिकार नदिइएपछि कामको प्रभावकारिता न्यून भएको बताउँदै भने, ‘हामीले अनुगमन गर्छौं, तर हाम्रो रिपोर्टअनुसार कारबाही होला भन्ने ग्यारेन्टी छैन ।’
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्लेले जिल्लाका १३ वटै पालिकाबाट दुई–दुई जना विद्यार्थीलाई (BSc Agriculture) मा ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरे । साथै, विश्वविद्यालयले विपद् व्यवस्थापन तालिम केन्द्र स्थापनाको अन्तिम तयारीमा रहेको जानकारी गराए । बागमती प्रदेश सांसद रत्न ढकालले आगामी प्राथमिकता रोजगारी सिर्जना र आत्मनिर्भरतातर्फ उन्मुख हुनुपर्ने बताए ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले कृषि विकासमार्फत आत्मनिर्भरता र रोजगारी सिर्जनाको पक्षमा जोड दिएका थिए । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले विपद् जोखिम न्यूनीकरणको कार्य एकल प्रयासमा सम्भव नभएको उल्लेख गर्दै तीन तहबीचको सहकार्य अपरिहार्य भएको बताए ।
नेपाल पत्रकार महासंघ काभ्रेका कार्यवाहक अध्यक्ष कपिल कोइरालाले जिससको समन्वय कार्यको सराहना गर्दै अझ प्रभावकारी ढंगमा अघि बढ्न सुझाव दिए । कार्यक्रममा विभिन्न पालिकाहरू, सरकारी निकाय र सामाजिक क्षेत्रका प्रतिनिधिहरूलाई विशेष सम्मान गरिएको थियो ।
प्रतिक्रिया