कहालीलाग्दो व्यापार घाटा

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मुलुकले ९ खर्ब १५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोर्नुपरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा मुलुकले ७ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोर्नुपरेको थियो । यो तथ्यांकले व्यापार घाटाको वृद्धि २३ प्रतिशत भएको देखाउँछ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने अभियानका साथ नेपाल कम्युनिस्ट पार्टीको करिब दुई तिहाइ बहुमतको सरकारले काम सुरु गरेको ४ महिना बित्नै लागेको छ । तर, यो अवधिमा मुलुकको आर्थिक अवस्था सुधारका खासै संकेत देखिएका छैनन् । आर्थिक अवस्था सुधारको मुख्य मापक भनेको वैदेशिक व्यापार नै हो । जबसम्म व्यापार घाटामा सुधारको लक्षण देखा पर्दैन तबसम्म आर्थिक अवस्था बलियो हुने आशा गर्न सकिन्न । अर्थमन्त्रालयको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ९ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६६ अर्ब ६४ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको छ । कुल आयातमध्ये ७० प्रतिशत भारतबाट भएको देखिन्छ भने कुल निर्यातको ६० प्रतिशत भारतमा भएको देखिन्छ । त्यसैले भारतसँगको व्यापार घाटा कम गर्नु नै मुलुकका लागि मुख्य चुतौती देखिएको छ ।
वैदेशिक रोजगारमा जानेहरूले पठाएको रेमिट्यान्सकै कारण मुलुकको अर्थतन्त्र धानिएको अवस्था छ । वैदेशिक रोजगार स्थायी होइन । वैदेशिक रोजगारी समाप्त हुनासाथ मुलुकको अर्थतन्त्रले पनि घुँडा टेक्ने अवस्था देखिएको छ । आर्थिक हिसाबले हामी धरापमा परिसकेका छौँ भन्ने कुरा वैदेशिक व्यापार सम्बन्धि तथ्यांकले नै प्रष्ट पारेको छ । मुलुकका लागि यहाँभन्दा चिन्ताको कुरा अरु केही होइन । जबसम्म आयातलाई प्रतिस्थापन गर्ने र निर्यात बढाउने उपाय अवलम्बन गरिँदैन तबसम्म ढुक्क हुने अवस्था छैन । तर, आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने गरी आक्रामक खालका नीति तथा आयोजना सरकारले आगामी आर्थिक वर्षका लागि समेत ल्याएको देखिन्न । निर्यात बढाउन समस्या भए पनि आयात प्रतिस्थापन गराउन खासै समस्या छैन । वार्षिक आयात हुने १२ खर्ब रुपैयाँका वस्तुहरूमध्ये करिब १ खर्ब रुपैया“बराबरका विलासी वस्तुहरू आयात हुने गरेका छन् । अत्यावश्यकीय बाहेक अन्य वस्तुहरूको आयातलाई कडाइका साथ निरुत्साहित गर्नुपर्छ । हाम्रोजस्तो गरिब मुलुकमा केही वर्षका लागि सुनको आयातलाई पनि प्रतिबन्ध लगाउ“दा के फरक पर्छ ? कृषिको प्रचुर सम्भावना रहँदारहँदै पनि वार्षिक १ खर्ब रुपैयाँ बराबरको कृषि उपज आयात भइरहेको छ । कृषि उपजको आयातलाई प्रतिस्थापन गर्न नसकिने होइन । जलविद्युत् उत्पादन हुने सम्भावनाको धनी देश नेपाल हो तर, वार्षिक ३० अर्ब रुपैयाँ बराबरको बिजुली र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भइरहेको छ । करिब वार्षिक २ खर्ब रुपैयाँ बराबरको यो आयातलाई पनि प्रतिस्थापन गर्न नसकिने होइन । सिमेन्ट र फलाममा आत्मनिर्भर हुन सकिने अवस्था छ तर वार्षिक २ खर्ब रुपैयाँ बराबरको निर्माण सामग्री आयात भइरहेको छ । औषधिका लागि प्रचुर कच्चा पदार्थ नेपालमा छन् तर, औषधि आयातमा मात्रै वार्षिक करिब १ खर्ब रुपैयाँ विदेसिने गरेको छ । वार्षिक करिब ३० अर्ब रुपैयाँको त रक्सी नै आयात हुने गरेको छ । जबकी, उत्कृष्ट रक्सी बनाउने परम्परागत सीप करिब आधा नेपालीको घर घरमा छ ।
आयात प्रतिस्थापन गर्न जति सजिलो छ निर्यात विस्तार गर्न त्यति सजिलो छैन । जलविद्युत् बाहेक जे उत्पादन गर्ने सम्भावना हामीसँग छ त्यही उत्पादन अझ सस्तो मूल्यमा छिमेकी मुलुक भारतले उत्पादन गरिरहेको छ । त्यसैले वैदेशिक मुद्रा आर्जनका लागि पर्यटन नै हाम्रो मुख्य सम्भावनाको क्षेत्र हो । पर्यटनको प्रचुर विकासद्वारा वैदेशिक मुद्रा आर्जन गर्ने र वैदेशिक मुद्रा पलायनलाई सकेसम्म कडाइ गर्नेतर्फ राज्यको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया