अञ्जु कार्की
सधैँझैँ यस वर्ष पनि नेपालीले स्वर्गवासी राजा वीरेन्द्रको स्मरण गरेका छन् । जब जेठ १९ गतेको सेरोफेरो सुरु हुन्छ तब स्वर्गवासी राजा वीरेन्द्रको स्मरण हुने गरेको छ । नेपाल एकीकरण यता पृथ्वीनारायण शाहलाई छाडेर मुलुकमा अहिलेसम्म राज्य सञ्चालनको नेतृत्व गर्नेहरूमध्ये राजा वीरेन्द्र नै सबैभन्दा लोकप्रिय थिए भन्ने कुरा नेपाली जनताले गर्ने गरेको यो स्मरणले पनि पुष्टि गर्दछ । आजभन्दा १७ वर्षअघि शुक्रबारको कालो रातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको हत्या मात्रै गरिएन उनको वंशसमेत विनास गरियो । हत्या कसले र किन गरायो ? भन्ने रहस्य अझै खुल्न सकेको छैन । हत्याको रहस्य इतिहासमै विलिन हुने सम्भावना बढेको छ ।
२००७ सालयता पनि मुलुकमा राजनीतिक षड्यन्त्रद्वारा हत्या गरिएको घटनाहरू धेरै छन् । तर २०५० साल जेठ ३ गते चितवनको दास ढुंगामा गरिएको दूरदर्शी राजनेता मदन भण्डारीको हत्या र ०५८ साल जेठ १९ गते गरिएको लोकप्रिय राजा वीरेन्द्रको हत्या प्रकरण नेपाली इतिहासको निकै लामो कालखण्डसम्म चर्चामा रहिरहनेछ । यी दुवै हत्या समान प्रकृतिका र रहस्यपूर्ण छन् । हत्याको योजनाकार शक्ति केन्द्र पनि एउटै हुन सक्ने अनुमान गरिएको छ । मदन भण्डारीकी सहधर्मिणी विद्यादेवी भण्डारीले राष्ट्रपति पदको दोस्रो कार्यकाल सम्हालीरहेकी छिन् । मदन भण्डारीका सहकर्मीहरू मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनालले एक–एक कार्यकाल प्रधानमन्त्री पद सम्हालीसकेका छन् भने अर्का सहकर्मी केपी शर्मा ओली प्रधानमन्त्री पदको दोस्रो कार्यकाल सम्हालीरहेका छन् । तर मदन भण्डारीको हत्यारा पत्ता लगाउने जिम्मेवारी कसैको पनि प्राथमिकतामा परेन ।
वीरेन्द्रको वंश विनासपछि उनका भाइ ज्ञानेन्द्रले शाही परम्पराको उत्तराधिकार ग्रहण गरे । यो स्वभाविक पनि थियो । राजा बनेपछि ज्ञानेन्द्रले आफ्ना दाजुको हत्या काण्ड छानविन गरी टुंगोका पु¥याउलान् भन्ने आशा र भरोसा नेपाली जनताले गरेका थिए । पहिलो कुरा त आफ्नै सहोदर दाजु, दोस्रो कुरा राष्ट्रप्रमुख समेतको हत्याबारे छानबिन गर्ने जिम्मेवारीलाई राजा ज्ञानेन्द्रले पहिलो प्राथमिकतामा राख्लान् भन्ने आशा र भरोसा जनताले गर्नु स्वभाविकै थियो । तर ज्ञानेन्द्र त्यो दिशामा गएनन् । संविधानले दिएको दायरासमेत मिचेर मन्त्रिपरिषद्लाई बाइपास गरी हतार–हतार छानबिन आयोग गठन गरे । छानबिन आयोगलाई पनि अत्यन्त छोटो समय दिए । छानबिन आयोगले केही व्यक्तिलाई विन्ती तथा सोधपुछ गरी सामान्य विवरण सार्वजनिक ग¥यो ।
आयोगले विवरण सार्वजनिक गर्नासाथ राजा ज्ञानेन्द्रले दरबार हत्याकाण्ड भएको घटनास्थलका सबै संरचना रातारात भत्काउन लगाए । थप छानबिन गर्नै नसकिने गरी हत्यास्थलका सबै संरचनाहरू भत्काएपछि जनताको थप आशंका राजा ज्ञानेन्द्रतिर मोडिन सुरू भयो । सत्ता कब्जा गर्नका लागि भाइ ज्ञानेन्द्रले नै दाजुको हत्या गरेका हुन् ? कि भन्ने आशंका जनतामा सिर्जना हुने परिस्थिति स्वयं ज्ञानेन्द्रले नै निर्माण गर्दै लगे । हत्या स्थलका संरचनाहरू मात्रै भत्काएनन् , उनले भन्न थाले, ‘म दाजुजस्तो टुलुटुलु हेरेर बस्ने खालको राजा होइन, देख्ने मात्रै होइन, सुन्ने बोल्ने र काम गर्ने राजा हुन चाहन्छु ।’ आफू कुन परिस्थितिमा राजा भएको हुँ ? जनताको आशंका के छ ? जनताको चेतनास्तर कहाँ पुगेको छ ? विश्व परिस्थिति के छ ?
गणतन्त्रको लक्ष्य राख्दै माओवादीले सुरू गरेको ‘जनयुद्ध’ को आयतन कहाँ पुगेको छ ? भन्ने प्रश्नको विश्लेषण गर्न ज्ञानेन्द्रले सकेनन् । मुलुकको राज्य सत्ता क्रमशः आफूतिर खिच्दै उनले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई संसद् विघटन गर्न लगाए । संसद् विघटनपछि प्रधानमन्त्री देउवालाई नै अपदस्त गरी शासन सत्ता आफ्नो हातमा लिए । राजनीतिक दलका गतिविधि माथि आघोषित प्रतिबन्ध लगाए । वनमा ‘बाघ कराउनु र खोरमा बाख्रो हराउनु’ भन्ने उखानजस्तै जनताको नजरमा ज्ञानेन्द्र शंकाको घेरामा परेका कारण मुलुकमा राजसंस्थाको अन्त्य भएको हो ।
दरबार हत्या काण्डको सूक्ष्म विश्लेषण गर्दा ज्ञानेन्द्र नै संलग्न थिए भन्ने आधार छैनन् । तर बाबुको हत्या गरेर छोराले राज्य सत्ता कब्जा गरेका, दाजुको हत्या गरेर भाइले राज्य सत्ता कब्जा गरेका कथाहरू पौराणिक ग्रन्थमा उल्लेख्य छन् । नेपालकै सन्दर्भमा प्रधानमन्त्री माथवरसिंहको हत्या आफ्नै भाञ्जा जंगबहादुरद्वारा भएको थियो । प्रधानमन्त्री रणोद्दीपको हत्या भाइहरूबाटै भएको थियो । यसैगरी, जंगबहादुर राणाको मृत्यु पनि अहिलेसम्म रहस्यमय नै छ । इतिहास जित्नेहरूले लेख्ने भएका कारण वंशानुगत शासक हेरफेर हुँदा अपनाइने यस्ता धेरै काण्डहरू सतहमा आउने गरेका छैनन् ।
यस्ता घटना पढेका र सुनेका नेपाली जनताका निम्ति दरबार हत्याकाण्डले के कस्तो प्रभाव पारेको छ भन्ने मूल्यांकन राजा ज्ञानेन्द्रले गर्न सकेनन् । नेपालको राष्ट्रियता र प्रजातन्त्रको पक्षमा नरहेको शक्ति नै दरबार हत्या काण्डको मुख्य स्रोत हो भन्ने अनुमान मुलकको बौद्धिक वर्ग र राजनीतिक दलहरूको नेतृत्व तहले नगरेको होइन । यो अनुमान यर्थाथताको नजिक पनि छ । तर यस्तो अनुमान गर्नेहरूलाई समेत राजा ज्ञानेन्द्रले आफ्नो निशाना बनाए ।
दरबार हत्या काण्डको डेढ दशकदेखि नै मुलुकमा एक खालको पृष्ठभूमि तयार हुँदै गएको थियो । ‘राजा वीरेन्द्र प्रजातन्त्रका लागि धेरै उदार छन्, युवराज दीपेन्द्रले प्रजातन्त्रको मर्म धेरै बुझेका छन्, यी बाबुछोरा सकेसम्म छिटो पञ्चायती व्यवस्थाको सुरक्षित अवतरण गरी जति सक्दो छिटो मुलुकमा बहुदलीय प्रजातन्त्र पुनर्बहालीको पक्षमा छन्’ भन्ने माहोल एकातिर सिर्जना गरिँदै थियो भने अर्कातिर राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र, रानी ऐश्वर्य र आमा रत्न कुनै पनि हालतमा पञ्चायत टिकाउने पक्षमा छन्, ज्ञानेन्द्रका छोरा पारस त दुव्र्यसनीसमेत हुन् भन्ने माहोल सिर्जना गराइएको थियो ।
०४६ सालमा राजा वीरेन्द्रले पञ्चायती व्यवस्थाको विघटन गर्ने क्रममा दरबारभित्र ठूलो द्वन्द भएको र उदारवादी वीरेन्द्र र अनुदारवादी ज्ञानेन्द्र समूहबीच रक्सीको गिलास हानाहान भएको चर्चाले पनि जनमासनमा एक खालको माहोल सिर्जना गरेको थियो । एकातिर अत्यन्त राम्रो छवि बनाइएका राजा वीरेन्द्रको वंश नाश हुनु र अर्कातिर अत्यन्त नराम्रो छवि बनाइएका ज्ञानेन्द्रको परिवार सकुशल हुनुले गणतन्त्रका लागि मार्ग तय गर्नु स्वभाविकै थियो । ज्ञानेन्द्रद्वारा संविधान मिचेर बनाइएको आयोगले हतारमा दिएको विवरणले युवराज दीपेन्द्रलाई दोषी ठहर गर्ने कोशिस ग¥यो । यो कोसिसले पनि जनताको शंकाको आगोमा घिउ थप्ने काम ग¥यो । मुख्य कारण थियो, ‘युवराज दीपेन्द्रप्रति जनमानसमा देखिएको अत्यन्त सकारात्मक छवि ।’
शाहवंशीय राजाहरूमध्ये पृथ्वीनारायण शाहपछि वीरेन्द्रलाई नेपाली जनताले सकारात्मक रूपमा स्मरण गरिरहनुको मुख्य कारण हो निर्लोभ र त्याग । राजा वीरेन्द्र निलोर्भी थिए भन्ने कुरा उनको सम्पत्तिले नै पुष्टि गर्दछ । करिब १८ वर्ष निरंकुश र १२ वर्ष संवैधानिक राजा भएका वीरेन्द्रको पैतृकबाहेक अरू सम्पत्ति खासै देखिएन । ०६४ सालपछि सत्तामा आएका माओवादीका अनगिन्ती नेताहरूले यस अवधिमा जति सम्पत्ति आर्जन गरेको देखियो त्यति सम्पत्ति ३० वर्ष राष्ट्रप्रमुख हुँदा वीरेन्द्रले आर्जन गरेको देखिएन ।
यस मानेमा उनी निर्लोभी शासक हुन् । दोस्रो कुरा उनले पञ्चायती व्यवस्था राख्ने कि नराख्ने ? भनेर जनमत संग्रह गराए, जनमत संग्रहमा पञ्चायती व्यवस्थाको पक्षमा बढी जनमत आएको १० वर्षपछि उनले जनताको मागलाई कत्ति पनि अटेर नगरी बहुदलीय प्रजातन्त्र घोषणा गरे । यस मानेमा उनी त्यागी पनि थिए । सत्तामा रहनेहरूको मूल्यांकन जनताले गर्ने पहिलो आधार भनेको निर्लोभ र त्याग नै हो ।
प्रतिक्रिया