ग्यारेथको उत्कृष्ट प्रदर्शनले रियल मड्रिडले हात पार्यो युरोपियन च्याम्पियन

एजेन्सी । ग्यारेथ बेलले गरेको उत्कृष्ट प्रदर्शनका कारण रियल मड्रिडले युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि हृयाट्रिक गरेको छ । यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि पनि हो ।a

शनिबार राति भएको फाइनलमा इन्ग्लिश क्लब लिभरपुललाई ३ – १ ले हराउँदै रियलले लगातार तेस्रो सिजन उपाधि जितेको हो । युक्रेनको किभमा भएको फाइनलमा रियललाई जित दिलाउन ग्यारेथ बेलले दुई गोल गरे । यस्तै करिम बेन्जिमाको नाममा एक गोल रह्यो । लिभरपुलका साडियो मानेले एक गोल फर्काएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

किभस्थित ओलम्पिक नेसनल स्पोर्ट्स कम्प्लेक्समा दुई खेलाडी घाइते हुँदै मैदान बाहिरिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफको ३१ औं मिनेटमा लिभरपुलका स्ट्राइकर मोहमद सलाह काधमा चोट बोक्दै मैदान बाहिरिएका थिए । सलाहको चोट लिभरपुलको लागि निकै भारी परेको थियो । यस्तै ३७ औं मिनेटमा रियलका ड्यानियल कार्भजल घाइते हुँदै मैदानबाट बाहिरिएका थिए ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुवातमै जिनेदान जिदानको टोली रियलले अग्रता बनायो । खेलको ५१ औं मिनेटमा लिभरपुलका किपर लोरिस क्रिउसको गल्तीमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाउन सफल भएका थिए । क्रिउसले पास गरेको बेल बेन्जिमालाई लाग्दै गोलमा परिणत भएको थियो । तर, खेलको ५५ औं मिनेटमा लिभरपुलका मानेले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

त्यसपछि रियलको जितमा सब्सिच्युड खेलाडी ग्यारेथ बेल चम्किए । खेलको ६१ औं मिनेटमा इस्कोको स्थानमा मैदान प्रवेश गरेका बेलले ६४ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई २ – १ को अग्रता दिलाए । बेलले बाइसाइकल किकमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा बेलले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै रियललाई ३ – १ को जित दिलाए ।

गत सिजनको फाइनलमा महत्वपूर्ण गोल गरेका क्रिष्टियानो रोनाल्डोले भने यो सिजनको फाइनलमा गोल गर्न सकेनन् । रोनाल्डोले पाएको केहि मौकामा गोल गर्न सकेनन् । तर, रोनाल्डो ५ पटक च्याम्पियन्स लिग जित्ने खेलाडी भने बनेका छन् ।

प्रतिक्रिया