‘तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डका राजनितिक गुरू मोहन वैद्य किरण र सहयात्री विप्लव, बाबुराम भट्टराईले अलग पार्टी स्थापना गरेर आन्दोलनमै होमिएका छन् । प्रचण्डले आफ्नै सहयात्रीसँग पार्टी एकताको लागि कुनै बहस नै गरेको देखिएन‘
एक जुगमा एक दिन एक चोटी आउँछ ।
उलट पुलट, उथल पुथल हेरफेर ल्याउँछ ।
रामकृष्ण दुलालले गाएको यो गीत मैले दोहर्याई तेहर्याई सुनेको छु । यो गीत सुन्दा मलाई मात्र होइन मेरै उमेरका तमाम नौजवान युवाहरूलाई क्रान्तिमा होमिन र देशप्रतिको माया जाग्न खुबै प्रेरित गरेको हुन्छ । अर्को गीतको पनि मलाई उत्तिकै सम्झना आउँछ बार बार सुन्न मन लाग्छ । ‘चैर मुसी चैर, मुसात संसारै ध्येज्ञा यसामुसा काईनाई ।’
(चुप लाग मुसा चुप लाग, मुसा धेरै देखिए तर यस्तो मुसा कतै पनि देखिएन) यो गीत पनि एकताका सुदुरपश्चिमा खुबै चल्यो तर यो गीत गाए बापत गायकले जागिरनै गुमाउनुपर्यो । एक गायकको आजसम्म हाई हाई छ उनले गाएको यो गीत आन्दोलन सभा समारोहमा बज्छ अर्का गाएकले गीत गाए बापत जागिर नै गुमाउनु पर्यो र गीत नै बन्द गरिएको थियो केही समय ।
गायक दुलालले गाएको एक जुगमा एक दिन र नरेन्द्र रेग्मीले गाएको चैरमुसीको सम्बन्ध त एक आपसमा छैन । गीत नै फरक छन् । फरक परिवेश फरक प्रसंगमा गाइएका छन् । एक जुगमा एक दिनले युवा वर्गलाई परिर्वतनको लागि झक्झक्याउँछ भने चैर मुसीले निराशा जगाउँछ । चैर मुसी चैर गीत सुन्दा यो देशमा सोझ साझा जनतालाई कानुन नै छैन भन्ने भान हुन्छ ।
कुरा गीत संगीतको गर्न खोजे जस्तो लाग्न सक्छ तर विगतमा गाइएका यी गीत समसामयिक राजनितिक परिवेशसँग मिल्न गएको ले गीत संगीतको प्रसंग उठाउनुपरेको मात्रै हो । नेपालका प्राय राजनितिक दलहरू आन्दोलन र संघर्षबाटै आएको देखिन्छ । हाल नेपालमा रामकृष्ण दुलालले भनेजस्तो एक जुगमा एक दिन पनि आयो र उलट पुलट, ल्याएको छ ।
केहि दिन पहिले मात्रै फरक धारको राजनितिबाट उदाएका दुई ठूला वामपन्थी पार्टी एक भएका छन् । ०६ सालमा स्थापना भएको नेपाल ककम्युनिस्ट पार्टीमा २०१९ सालपछी फुट आउन थालेको हो । त्यही फुटबाट जन्मीए दर्जनभन्दा भेरै बाम्पन्थी दलहरू । तर, आज दर्जनबाटै भएका दुई ठुला कम्युनिस्ट पार्टी आपसमा मिल्दा एक जुगको अन्त्य भएको मान्न सकिन्छ ।
उलटपुलटकै लागि राणाहरूको शासनका विरूद्ध आन्दोलनमा होमिएको नेपाली कांग्रेस होस् या ००६ सालपछि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी हालको एमाले होस् सबैले आन्दोलनको सामना गर्नुप¥यो । देशमा रहेको जहानियाँ राणाशासन, राजतन्त्र, राजाहरूले राजनितिक दलहरूलाई लगाएको प्रतिबन्धजस्ता अप्ठयाराहरू पार गर्दै माओवादीले ०५२ सालमा जनयुद्ध गर्ने घोषणा गरेको हो ।
सशस्त्रद्वन्द्वका रूपमा तत्कालीन नेकपा माओवादीले गरेको युद्ध नेपालमा १२ वर्षसम्म चल्यो । १७ हजार नेपाली नागरिक मारिए । राजनितिक दलहरूले गरेको संर्घषको इतिहास हेर्ने हो भने राजा पृथ्वीनारायण शाहले भनेको यो मेरा साना दुःखले आर्जेको सम्पत्ति होइन भन्ने भनाइको पनि सम्झना आउँछ । यो देशलाई राणाहरूको शासनबाट छुट्कारा दिलाउन, राजतन्त्र हटाउन, केन्द्रिकृत राज्य व्यवस्थाबाट संघीय राज्य व्यवस्थामा लैजान दलहरूले ठूलै संर्घष गर्नुपर्यो ।
स्थापना काल देखि नै फरक विचार मान्दै आएका गुट उपगुटमा आएका कम्युनिस्टहरू एकजुट भएर निर्वाचनमा कहिल्यै गएनन् र बहुमतको सरकार कहिल्यै सञ्चालन गर्न पाएनन् । नेपालकै इतिहासमा ०५१ सालमा पहिलोपटक कम्युनिस्टको सरकार गठन भयो तर, नौ महीना भन्दा बढी टिकाउन सकेन । एमालेको सरकार गठन हुनुभन्दा पहिले नै माओवादीले आन्दोलन सुरू गरिसकेका थिए ।
सरकार गठनपछि एमाले पार्टी नै विभाजन भयो । यसरी आपसमै अविश्वास र आरोप प्रत्यारोपमा लगाउदै कहिले पार्टी विभाजन त कहिले एकीकरण गर्दै आएका कम्युनिस्टहरूको यो एकीकरण भने एक जुकको अन्त्यपछि स्थापना भएको पार्टी मान्न सकिन्छ । तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डका राजनितिक गुरू मोहन वैद्य किरण र सहयात्री विप्लव, बाबुराम भट्टराईले अलग पार्टी स्थापना गरेर आन्दोलनमै होमिएका छन् ।
प्रचण्डले आफ्नै सहयात्रीसँग पार्टी एकताको लागि कुनै बहस नै गरेको देखिएन । तत्कालीन माओवादीका युद्धमा होमिएका जनसेना नेपाली सेनामा प्रवेश गरेपछि अरू राजनितिक दलहरूले माओवादीलाई राजनितिक मुलधारमा आएको भनेर विश्वास गरेका थिए । पहिलो संविधान सभामा माओवादी देशकै ठूलो पार्टी भयो एमाले तेस्रो पार्टी भयो, माओवादीले सरकार पनि गठन गर्यो ।
सरकारमा गई सत्ताको स्वाद चाखेपछि नै तत्कालीन माओवादी तिन चिरा भएको हो । एकीकरण भएपछिका दुवै अध्यक्ष केपी ओली र प्रचण्डले दुई दलको एकता मुलुकलाई राजनितिक स्थिरता, विकास र समृद्धि तर्फको यात्राका लागि ऐतिहासिक भनेका छन् । उनिहरूको भनाइमा पुरानो जुगको अन्त्यसँगै नयाँ युगको प्रारम्भ भएको त मान्न सकिन्छ तर बहुमतको सरकारको यति ठूलो जनशक्ति परिचालन गर्न सक्षम हुन्छ की असक्षम भन्ने जनमानसमा शंका उब्जेको छ ।
पार्टी एकता गर्दा गरेको छ बुँदे घोषणा पत्रको एउटा बुँदामा भनिएको छ–‘युगिन महत्वको यस घोषणलाई राजनितिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समयदेखिको राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ ।’ के पार्टी एकता हुनु मात्रै जनताको चाहाना हो त ? जनताले त देशमा समृद्धि, राजनितिक स्थायित्व र आर्थिक उन्नति चाहेका हुन् ।
विगतको भन्दा फरक ढंग र परिवेशबाट एकतामा आएको माओवादी केन्द्र र नेकपा एमालेले भने आफ्ना फरक विचारधारालाई एक बनाउन आफूले मान्दै आएका सिद्धान्त छोडे भने पार्टी नै बर्खास्थ गरेका छन् । एकतापछि पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेलिनवाद हुनेछ र २१आैँ शताब्दीको जनवाद माओवाद लगायतका सिद्धान्त महाधिवेशनसम्म छलफल चलाउँदै जानेछ ।
नेकपा एमालेले ०४९ सालदेखि जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै शान्तिपूर्ण लोकतान्त्रिक संसदीय राजनीतिक अभ्यासबाट उदाएको पार्टी हो । माओवादी ०५२ सालदेखि १० वर्ष सशस्त्र युद्ध लडेर राजनीतीक शक्ति आर्जन गरेको पार्टी हो । सशस्त्र युद्ध लडेर आएको पार्टी र नेकपा एमाले पहिलोपटक ०६२÷६३को आन्दोलनमा राजनीतिक मोर्चा आबद्ध भएका थिए । त्यसपछि भएका संविधान सभाका निर्वाचनमा आपसी प्रतिस्पर्धामा होमिएका थिए ।
आपसी आरोप प्रत्यारोपमा धेरै वर्ष बिताएका माओवादी एमाले दुवै दलले एउटै जनतालाई भोट बैंक मानेपछि दल एकताको विकल्प नरहेको भन्दै पछिल्लो निर्वाचनमा एक मोर्चा भएर चुनाव लडेका हुन् । चुनावका बेला एकता हुन्छ भनेका दलले झण्डै ६ महिनापछि पार्टी एकता गरेका छन् । दुवै पार्टी बर्खास्त भएपछि चुनाव चिन्न भने सूर्य रहेको छ भने तत्कालको कार्यक्रम जनताको जनवाद हुनेछ भनेपछि माओवादीले आफ्नो सम्पूर्ण इतिहास बिर्सेर नेकपा एमालेमा विलय भयो भन्दा फरक नपर्ला ।
दुवै दलको एकता पछि नेकपा देशको शक्तिशाली पार्टी त बन्यो यो शक्तिशाली पार्टी बनेपछि माओवादी बाट अलग भएका वामपन्थी दलहरूका पनि समर्थक नबढ्लान भन्न सकिन्न । ०७४ असोज १७ गते चुनावी तालमेलसँगै पार्टी नै एकता गर्ने घोषणा गरेपछि बनेको वाम गठबन्धनले बहुमत ल्याएको हो । दल एकता पछि प्रतिनिधि सभामा २ सय ७५ सिटमध्ये १ सय ७४ संसद् रहेका छन भने राष्ट्रका राष्ट्रिय सभामा ४२ जना संसद् पुगेका छन् ।
प्रदेश सभामा प्रदेश–२ बाहेक सबै प्रदेशमा बहुमत नै आएको छ । ७ सय ५३ स्थानीय तहमा ३५ हजारभन्दा बढी जनप्रतिनिधिमा १९ हजारभन्दा बढी नेकपाकै रहेका छन् । कम्युनिस्ट पार्टी गठन भएपछि आजसम्म बहुमत थिएन । अहिले सबैतिर एकलौटी बहुमत छ । यो बहुमतको नेकपालाई मात मात्रै लाग्ने हो भने देशको दुर्दशा सुरू नहोला भन्न सकिँदैन ।
दुई अध्यक्ष बनेपछि यति ठूलो जनशक्तीलाई परिचालन गर्नु जरूरी देखिन्छ । धेरै पछि देशले पाएको कम्युनिस्टको बहुमतको सरकारबाट जनताले ठूलै आसा त गरेका छन् तर, यति ठूलो पार्टीका यति धेरै नेता कार्यक्रताले मुसाको रोल खेल्ने त होइनन् ?आफ्नै नेता कार्यकर्ताको मुसाको रोलबाट देश र जनतालाई जोगाउन ओली प्रचण्डलाई ठूलै सकस पर्नेछ ।
प्रतिक्रिया