वैवाहिक समारोहमा किन रोए ह्यारी ?

लण्डन– बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग बिहे गरे । बिहे गर्दा उनी खुसी हुनुपर्ने हो, तर केही भावुक देखिए । राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजित वैवाहिक समारोहमा ह्यारीले भावुक हुँदै आँसु खसालेका थिए ।

दक्षिण एसियाका देशमा प्रायः बिहेमा बिदाइको बेला दुलही भावुक हुँदै रुन्छिन् । तर, बेलायतको शाही बिहेमा भने राजकुमार ह्यारी रोएका हुन् । दुलाहा बनेका ह्यारीले रुँदै आँशु पुछेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। धेरैले उनी रोएको देखेर सहानुभूति व्यक्त गरिरहेका छन् । खासमा राजकुमार ह्यारी आफ्नी आमा राजकुमारी डायनालाई सम्झेर भावुक भएका थिए ।

आमाकै सम्झनामा उनले वैवाहिक समारोहमा आँसु खसालेका थिए । ह्यारीकी आमा डायनाको उनी १२ वर्षको छँदा कार दुर्घटनामा निधन भएको थियो । यद्यपि आमाको याद आएर भावुक भएका ह्यारीले आफूलाई सम्हालेर बिहे पूरा गरेका थिए ।  बिहेअघि उनले एक अन्तर्वार्तामा २० वर्षदेखि आफ्नो भावना दबाएर राख्नुपरेको बताएका थिए ।

उनको वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ट पाहुना सहभागी भएका थिए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुसी साटासाट गरेका थिए । विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकापसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गरेपछि परम्पराअनुसार केनटनबरीका आर्कसिसप जस्टिन वेल्बीले उनीहरू पति–पत्नी भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया