‘के ओलीले तय गरिरहेको यात्रा मोदीको विकास–पुरुषको विम्वभन्दा तान्त्रिकरूपमा भिन्न होला ? मोदीको भ्रमण कूटनीति धार्मिक हो कि राजनीतिक भनेर अलमलिने समय होइन यो । एमालेले भारतसँग काँध मिलाइरहेको अवस्थामा मोदीको महिमा गान गाउँदै भारतबाट बढी उत्साहित हुनुको झन् अर्थ छैन ’
-हरि लम्साल प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २८–२९ वैशाखमा नेपालको राजकीय भ्रमण सम्पन्न गरेर स्वदेश फर्केका छन् । पुराना विवाद निरूपणविनै सुरु भएको ओली–मोदी मिलापमा हात्ती आयो फुस्सा भयो नहोस् भन्ने नेपाली चाहनामा भारतीय स्वार्थ हावी भयो भन्ने चर्चा चुलिँदै छ ।
हाँसो भयो, अंकमाल भयो, दुई दिनमा अनेकपल्ट उठबस पनि भयो । तर, ओली–मोदी मिलापले दुई देशका पेचिला मुद्दाको समाधान भने पहिल्याउन सकेन । काठमाडौं र नयाँदिल्लीमा दुई प्रधानमन्त्रीका पछिल्ला दुई भेटको सार खिच्दा अहिलेको मुख्य चासो सम्बोधनभन्दा तत्काल पूरा हुन नसक्ने, मुख्यतः कागजमै सीमित हुने ‘ठूला कुरा’ हरूकै वर्चस्व छ ।
के हुन् त ती प्राथमिकता, जसमा छिमेकी भारतका शक्तिशाली कार्यकारीको भेटले उल्लेख्य प्रगति दिलाउन सकेन ।नेपालले झेलेको सबभन्दा चर्को समस्या व्यापार घाटा हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आव ०७३÷७४ को कुल व्यापार घाटा ९ खर्ब १७ अर्ब पुगेको छ भने भारतसँगको व्यापार घाटा नै ५ खर्ब ९२ अर्ब बढी भइसकेको छ । देशको निर्यात–आयातको अनुपात १ दशमलव १३ पुग्नु आफैँमा डरलाग्दो संकेत हो ।
मोदीले प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सपनामा सघाउने वाचा पटकपटक दोहोर्याएका छन् । चुलिँदो व्यापार घाटा घटाउने उपायमा चाहिँ उनले शब्दै खर्चेनन् । नेपाली कांग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्यायले भने, ‘व्यापार घाटा अहिलेको मुख्य सरोकार हो । त्यसले हामीलाई ठूलो सकस परेको छ ।
तर, व्यापार घाटा घटाउन ठोस पहल भएको छैन ।’ त्यस्तै ओली–मोदीको दोहोरो भ्रमण र हातेमालोले डुबानको समस्या ज्यू का त्युँ छाडेको छ । नेपाल र नेपालीलाई सताएको अर्को महत्वपूर्ण मुद्दा हो, भारतसँगको सीमा विवाद । सीमा जोडिएका २६ मध्ये २४ जिल्लाको ७२ ठाउँमा भारतले सीमा मिचेको र कैयौँ हेक्टर नेपाली भूमि उपभोग गरेको छ ।
सुस्ता र कालापानी विवाद सुल्झिएको छैन । भारतका कारण नेपाललाई परेको अर्को मर्का हो, हवाई रुट । दुई देशको कनेक्टिभिटीमा जोड दिने गरेको भारतले थप हवाई रुट दिन तयार हुनै पर्दछ । त्यस्तै इपिजी नेपाल–भारतका असमान सन्धिको अन्तिम समाधान भने होइन, राष्ट्रिय हित र स्वार्थसँग गाँसिएका अरू धेरै मुद्दामा दुई देशका प्रधानमन्त्रीले प्रवेश नै गरेका छैनन् ।
नेपालको पानीमा भारतको तिर्खा अझै मेटिएको छैन भन्ने देखिएको थियो । नेपालको पानी र जवानी नेपालभन्दा बढी भारतमा उपयोग हुन्छ भन्ने भारतको दाबीलाई मोदी भ्रमणले थप प्रष्ट्याएको छ । ओली–मोदीबीचको महत्वपूर्ण समझदारी हो, रक्सौल–काठमाडौं रेलमार्ग निर्माण । ओलीले नयाँदिल्लीमा पुगेर रेलमार्ग र जलमार्ग निर्माणको समझदारी गरेर देशभित्र वाहीवाही पाएका छन् ।
देशका पुराना चासोलाई जहाँको त्यहीँ छाडेर ओली–मोदीबीचको भ्रमण आदानप्रदान र औपचारिक सहमतिले दुई देशबीच विश्वासचाहिँ बढाएको छ । पूर्वराजदूत दीपकुमार उपाध्यायले भने, ‘मोदीको कूटनीतिक चातुर्य र कौशलमात्र होइन, गृहकार्य पनि बलियो छ, त्यसैले राष्ट्रिय स्वार्थ र हित जोगाउन झन् चनाखो हुनु जरुरी छ ।’
के ओलीले तय गरिरहेको यात्रा मोदीको विकास–पुरुषको विम्वभन्दा तान्त्रिकरूपमा भिन्न होला ? मोदीको भ्रमण कूटनीति धार्मिक हो कि राजनीतिक भनेर अलमलिने समय होइन यो । एमालेले भारतसँग काँध मिलाइरहेको अवस्थामा मोदीको महिमा गान गाउँदै भारतबाट बढी उत्साहित हुनुको झन् अर्थ छैन ।
असमझदारीहरूको अन्त्य र समझदारीपूर्ण सम्बन्धका लागि नेपाली तत्परतालाई मोदी भ्रमणले आत्मसात गर्नेछ भन्ने विश्वास गर्नु उचित नै हुनेछ । नेपालको संविधान, २०७२ अन्तर्गत निर्वाचित सरकार, प्रदेश सरकार र स्थानीय निर्वाचनको स्वागत स्वीकार कुनै पनि वक्तव्य वा दस्तावेजभन्दा कम होइन । संवाद कूटनीतिको आत्मा हो ।
भ्रमणहरू संवादका मूर्तमञ्चहरू हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै र चीन भ्रमणअगावैको प्रधानमन्त्री मोदीको नेपाल भ्रमण कूटनीतिकै सिलासिला हो । कूटनीति सौहार्दता, आपसी सम्मान र परम्पराले सञ्चालन हुन्छ । एक सार्वभौम देशले अर्को सार्वभौम देशलाई जहिल्यै सम्मान गर्छ । सरकारका प्रतिनिधिको सम्मान–स्वागत र सहृदयी आतिथ्यता कूटनीतिक व्यवहार हो । साथसाथै ‘अतिथि देवो भवः’ को मर्म आत्मसाथ गर्ने नेपालीको संस्कार पनि हो ।
त्यसैले मोदीको नेपाल भ्रमण उपलब्धिपछिको सक्षम समझदारी हो भनिन्छ । तर, सक्षम समझदारी के भयो ? बताइएको छैन । किन ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए भने मुख्यमन्त्री राउतको भाषण विवादास्पद बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको जानकी मन्दिरको पूजा–अर्चनापछि रामायण सर्किट र जनकपुर–अयोध्या बस सेवा संयुक्तरूपमा उद्घाटन गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले जनकपुरको रंगभूमि मैदान बाह्रबिघामा नागरिक अभिनन्दन ग्रहण गरेपछि भने, ‘म प्रधानमन्त्रीको हैसियतमा होइन, प्रधान तीर्थयात्रीको रूपमा नेपाल आएको हुँ ।
त्रेतायुगदेखि नै भारत–नेपालीबीचको सम्बन्ध कायम छ, राजनीति, कूटनीतिसँगै दुवै मुलुक देवनीतिले पनि बाँधिएका छन् । नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउन ‘फाइभटी’ योजनाअन्तर्गत टे«डिसन, ट्रेड, टुरिजम, टेक्नोलोजी र ट्रान्सपोर्टमा नेपाललाई सहयोग गर्न भारत सरकार तयार छ । रक्सौल–काठमाडौं रेलमार्ग र नेपाललाई समुन्द्रसँग जोड्ने प्रयास थालिएको छ ।
राजमार्ग, इन्फरमेसन वे, बिजुली वे, रेल्वे, कस्टम चेकपोस्ट, हवाइसेवा र जलमार्गसँग नेपाललाई जोड्नुपर्छ । कानेक्टिभिटी महत्वपूर्ण छ, यसलाई हामीले प्राथमिकतामा राखेका छौँ । देवता, आस्था, प्रकृति, संस्कृति, पथ र प्रार्थना एउटै रहेकाले नेपालविना भारतको आस्था, विश्वास र इतिहास अधुरो रहन्छ ।’
जनकपुरबाट काठमाडौं आएका भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गर्दैै शिष्टाचार भेटवार्ता गरेपछि टुँडिखेलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएपछि उपराष्ट्रपति र राष्ट्रपतिलाई शिष्टाचार भेटवार्ता गरेपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच ‘वन एन वन’ वार्ता भयो र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरम तथा राजपाका नेताहरूसँग पनि छलफल भएको थियो ।
त्यसपछि मुक्तिनाथ र पशुपतिनाथको पूजा–अर्चनापछि काठमाडौं महानगरपालिकाको अभिनन्दनमा सम्मिलित भई भावुक मन्तव्य पनि राखी भारत प्रस्थान गरे । नेपाल–भारतको सांस्कृतिक सम्बन्ध, प्रेमको पुनर्जीवनसहित चीनको चासो पनि चर्चा भएको थियो । नेपाल–भारत सम्बन्ध र विकासबारे पनि निकै चर्चा भएको थियो ।
प्रतिक्रिया