एउटै कम्युनिस्ट पार्टी घोषणामा ढिलाइ

न्हुंछेनारायण श्रेष्ठ  गएको दशै देखि अचानक दुरी घटाएका यी वाम शक्तिहरूको एकताको तिथीमिती सरेको स–यै छ ता पनि पार्टी एकताको विषय ओझेलमा परेको छैन भनेर दुवै दलका शिर्षस्थ नेताहरूको विभिन्न सभा, समारोह र कार्यक्रमहरूमा व्यक्त गर्दै आएका छन् ।

समग्रमा मुलुकको समृद्घि, विकास, लोकतन्त्रको रक्षा, संविधान कार्यान्वयन, दिगो शान्ति र प्रजातन्त्रको प्रत्याभूत गराउनकै लागि भए पनि यी दुई शक्ति एक हुनु आवश्यक रहेको राजनीतिक विश्लेषकहरूले बताउदै आइरहेका छन् ।

गएको निर्वाचनमा दलहरूको सिन्डिकेटका कारण अहिले पाँच वटा राष्ट्रिय दलले मात्र मान्यता पाएको अवस्था रहेको छ । अझै पनि नेपालमा राष्ट्रिय दलहरू बढी भएका हुन कि ? नेपालको र नेपालीहरूको भाग्य कोर्न, तिव्र रूपमा विकास निर्माण गरी मुलुकलाई सफलताको पथतिर दोहो–याउन थोरै दलहरू भए पनि हुने रहेछ भन्ने उदाहरण हाम्रा अगाडी नभएका होइनन् ।  विकसित मुलुकहरू अमेरिका, बेलायतमा हेर्दा स्पष्ट हुन्छ ।

विगतदेखि वर्तमान अवस्थासम्म नियाल्ने हो भने धेरै दलहरू भएकै कारण देश विकास हुन सकेन, राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको चीरहरणको कार्य बाहेक केही हुन सकेन, सबै क्षेत्र तहसनहस भै देश गरिबी र भ्रष्ट्राचारको दलदलमा फस्ने बाहेक केही उल्लेख्य कार्य हुन नसकेको उदाहरण हामीले देखी भोगीसकेका छौँ । च्याउ उम्रेसरी उम्रेका दलहरूले नेपाल र नेपालीहरूको हकहीत भन्दा पनि आफ्नो स्वार्थमा लागेकै कारण देशले विकासको रूपै लिन पाएन् ।

००७ सालदेखि को राजनितिक इतिहास हेर्ने हो भने बिपी कोइराला, गणेशमानसिंह, मनमोहन अधिकारी लगायतका केही नेताहरूले राष्ट्रको लागि खेलेको भूमिकालाई कहिल्यै बिर्सन सकिँदैन । जहानियाँ राणाशासनको अन्त्य, निर्दलीय पञ्चायती व्यवस्था अन्त्य र राजाको शासनको अन्त्यमा मूलतः त्यसवेलाका नेताहरूको गहन विचार, त्याग र बलिदानीलाई महत्वपूर्ण लिनु आवश्यक रहेको छ ।

गएको दशैँको बीचमा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संविधानसभाको निर्वाचनमा एक भएर निर्वाचन गर्ने र पार्टीलाई दुई तिहाई मत प्राप्त गर्ने र वामपन्थीहरूको एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणाले नेपाली राजनीतिमा एकाएक परिवर्तन आएको थियो र नेपालमा साम्यवादी मरिसकेको भन्नेहरूको अगाडी ती पार्टीहरूले स्पष्ट बहुमत प्राप्त गरे र सबैलाई चकित तुल्याइदिए ।

सायद यति सफलता मिल्छ भन्ने विषयमा स्वयं ती दलका नेता, कार्यकर्ताहरूले समेत विश्वास गरेका थिएनन भने नेपाली कांग्रेस लगायतका अन्य दलहरूले समेत वामपन्थीहरू कहिल्यै मिल्न नसक्ने गलत अनुमान लगाएका थिए । अहिले पनि नेपाली कांग्रेस लगायतका दलहरूले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुन सक्दैन भइहालेको खण्डमा समेत चाँडै फुट्ने निरर्थक भविष्यवाणी गरिरहेका छन् ।

पार्टी एकताको विषय अन्तिम चरणमा पुगेको र पार्टी एकीकरणलाई कसैले रोक्न सक्दैन भनेर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विभिन्न, सभा, समारोह र कार्यक्रमहरूमा बताउँदै आइरहनुभएको छ । पार्टी एकताका लागि बनाइएको पार्टी एकता संयोजन समितिले तयार पारेको प्रतिवेदन बुझाइसकेको छ तर पनि अहिलेसम्म पार्टी एकताले मूर्त रूप भने लिनसकेको छैन् ।

दुवै पार्टीका नेताहरूको पार्टीभित्र कुनै समस्या नरहेको, जनताको बहुदलीय जनवाद, सूर्य चिन्ह चुनाव चिन्ह राख्ने, केन्द्रीय समिति बनाउने लगायतका विविध विषयमा सहमति भइसकेको बताइरहँदा पार्टी एकीकरण कुन स्वार्थका कारण हुन सकिरहेको छैन त? कम्युनिस्ट पार्टी जन्म दिवस, मजदुर दिवसमा पार्टी एकता घोषणा हुने हल्ला चलेको थियो तर ति दिनहरूमा पार्टी एकता घोषणा भएन । आम नागरिक, नेता, कार्यकर्ताहरू सिंगो कम्युनिस्ट पार्टी घोषणा भएको हेर्न आतुर देखिन्छन् ।

नेपालकै इतिहासमा दुई ठूला वाम शक्तिहरू मिलेर निर्वाचन अघि गठबन्धन गरी सफलतापूर्वक आम नेपाली नागरिकहरूको मन जिती बहुमत प्राप्त गर्नु सजिलो चाहीँ थिएन् । विभिन्न खाले आरोप, प्रत्यारोपहरूलाई पाखा लगाउँदै, मुलुकलाई परिवर्तन गर्नाका लागि सामुहिक चुनावी घोषणापत्र तयार गरी राजनीतिका संवाहक जनता नै हुन् र जनताकै इच्छा, चाहना र भावना अनुरूप अगाडी चल्ने प्रण गरेकै कारण वाम गठबन्धनलाई बहुमत दिएका हुन् ।

नेपालमा छरिएर रहेका स–साना वामपन्थी दलहरूलाई एकढिक्का गराएर एउटै कम्युनिस्ट पार्टी बनाउने महान उद्देश्य लिएर अघि बढेकै कारण पनि गएको तिनै चरणको निर्वाचनमा सफलता प्राप्त गरेको हो । निर्वाचनताका विशेषगरी नेपाली कांग्रेसले कम्युनिस्टहरू आए लेख्न, बोल्न नपाइने, खुलेर हिँड्न नपाइने जस्ता गलत अभिव्यक्ति दिएका थिएकै कारण उ आफैँ पतासाफ बन्न पुग्यो जनताले नेपाली कांग्रेसलाई साथ नदिएकै कारण हार व्यहोर्नु पर्यो ।

नेपाली कांग्रेसले भर्खरै मात्र निर्वाचनको समीक्षा गरेको छ तर हारको जिम्मेवारी कस्ले लिने भन्ने कुराको अहिलेसम्म पनि निक्र्योल हुन सकेको छैन । पार्टीभित्रको गुट उपगुटका कारण नेपाली कांग्रेस अहिले क्षतविक्षत अवस्थामा पुगेको छ ।नेपाली इतिहासमा वामपन्थीहरूको सरकार बनेका वेला केही न केही महत्वपूर्ण उपलब्धिहरू र छाप आम नागरिकहरू समक्ष पेस भएकै हुन् । एमालेका पूर्व पार्टी अध्यक्ष मनमोहन अधिकारीले सुरू गरेको आफ्नो गाउँ आफैँ बनाऔँ, वृद्घभत्ताजस्ता कार्यक्रमहरूलाई हालसम्म लागू गरिएकै छन् ।

भने पछिल्लो समय माओवादी केन्द्रका तत्कालीन उर्जा मन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाउने कार्य गरेका थिए तीनका अलावा एमालेका पार्टी अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी ओलीले राष्ट्र टुक्राउने कार्यको विरोध र भारतले गरेको नाकाबन्दीको खुलेरै विरोध जनाउनुका साथसाथै औचित्य नभएको संविधान संशोधन कार्य गर्न नहुने अडानका कारण आज सिंगो वाम पार्टीको इज्जत बढेको छ ।

केपी ओलीको नेतृत्वमा वाम सरकार गठनपश्चात् अहिले यातायात क्षेत्रको सिन्डिकेट हटेको छ, भौतिक निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भैराखेको जनाइएको छ । सडक, यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका संकेत देखापरेका छन् भने दुई छिमेकी मुलुकहरूसँंग सम्बन्ध प्रगाढ बनाउनकै लागि भर्खरै मात्र प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण र केही दिनभित्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण कार्य हुँदैछ ।

यसप्रकार सरकारले दुई छिमेकी मुलुकहरूसँग आफ्नो दूरी बढाउंदै दक्षिण एसियाली क्षेत्रमा आफ्नो अलग्गै पहिचान दिन सक्षम हुनेमा विश्वास लिन सकिन्छ। नेपाली इतिहासमा वामपन्थीहरूको संयुक्त आन्दोलनकै कारण राणाकाल, पञ्चायतकाल राजसंस्थाको अन्त्य हुनपुगेको र देशमा भएका परिवर्तनहरू लोकतन्त्र, गणतन्त्र र संघीयता स्थापना हुन पुगेको हो । अहिलेको अवस्थामा यिनै महत्वपूर्ण भूमिका खेलेकै कारण वाम गठबन्धनलाई आम नागरिकहरूले दिएको जनादेशकैै कारण आज देश समृद्घ र विकासको पथमा लम्किरहेको छ ।

निर्वाचनताका नै पार्टी एक हुने कुरा थियो तर आजसम्म पनि पार्टी एक हुन सकिरहेको छैन । पार्टी एकीकरणमा किन ढिलाइ हुँदैछ आम नागरिकहरूको चासोको विषय बन्न पुगेको छ । दुवै पार्टीका शिर्षस्थ नेताहरू पार्टी एक चाँडै हुने भनेर अभिव्यक्ति दिइरहेका छन् भने पार्टी एकीकरण संयोजन समितिको वार्तासमेत भई नै रहेका छन् तर पनि पार्टी एकीकरणमा विलम्ब भइरहेको छ जसका कारण आम नेता कार्यकर्ताहरू निरास बनेका छन् । अब कुनै पनि बहानामा पार्टी एकता प्रक्रियामा अलमल हुनु हुँदैन ।

पार्टी एकतामा अलमल हुनु भनेको देश विकास, समृद्घि र विकासको कार्य , संविधान कार्यान्वयन लगायतका कार्यमा तगारो हाल्नुसरह नै हो । अबको समय भनेको एकत्रित कम्युनिस्ट पार्टी निर्माण गरी मुलुकलाई समृद्घि र विकासको पथमा लग्दै स्थायी सरकार निर्माण गरी संविधान कार्यान्वयन, संघीयता कार्यान्वयन गर्दै बेरोजगारी, अशिक्षा, भ्रष्ट्राचार अन्त्य गरी मुलुकमा शान्ति, स्थायीत्व, विकासको स्थापना गर्नु नै हो यस महान कार्य पूरा गराउनका लागिसमेत पार्टी एकता अपरिहार्य रहेको छ ।  –लेखक अधिवक्तासमेत हुन्  

प्रतिक्रिया