डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

मिना घोरसाइने सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनी लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उनको दुःखद् निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते भएका मोची गत ३१ असोजमा पहिलोपटक वैदेशिक रोजगारमा गएका थिए । गत २२ माघमा घाइते भएपछि उपचारार्थ उनी दुबईकै अस्पतालमा भर्ना भए । चिकित्सकले उनलाई बचाउन सकेनन् ।

२३ माघे बिहान निधन भएका मोचीको शव नेपाल ल्याउन भने भन्डै तीन महिना लाग्यो । उनको शव गत ४ चैतमा मात्रै नेपाल ल्याउन सकियो ।  क्षतिपूर्तिका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा भेटिएकी उनकी शोकाकुल पत्नी राजकुमारी राम भन्छिन्, ‘शवसँगै कम्पनीले पठाएको मात्र चार हजार रुपैयाँले किरिया खर्चसम्म पनि टरेन । कम्पनीले पहिलो महिनाको तलब पठाए पनि बाँकी महिनाको रकम अहिलेसम्म मेरो हातमा परेको छैन । पठाइएको छ भन्ने जवाफ मात्र पाएकी छुँ ।’

मोचीको मृत्युपछि सँगै काम गर्ने साथीबाट रकम उठाएर परिवारलाई पठाइएको भनिए पनि कहाँबाट कति पठाइएको हो भन्ने जानकारीसमेत परिवारसँग छैन ।  अहिले यो परिवार रकमकै लागि यताउति भौँतारिइरहेको छ । मृतककी जेठी छोरी लक्ष्मीकुमारी राम हाल १८ वर्षकी भइन् । उनले परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नसमेत पाएकी छैनन् । त्यस्तै, १६ वर्षीया छोरी ताराकुमारी राम अहिले कक्षा सातमा अध्ययनरत छिन् । १३ वर्षीया अर्की छोरी मालाकुमारी हाल कक्षा दुईमा पढ्छिन् ।

दुई छोरामध्ये देवकुमार राम सात वर्ष र आशाकुमार राम पाँच वर्षका भए । मृतकका दुवै छोरालाई अहिलेसम्म पनि विद्यालय भर्ना गरिएको छैन । ‘भाइ त मर्यो अब भाइका छोराछोरीको मात्र चिन्ता छ,’ मृतकका दाजु बिन्दश्री मोचीले भने, ‘विदेश जाँदा साहुसँग लिएको १ लाख ४० हजार रुपैयाँको ब्याजसमेत तिर्न सकिएको छैन ।’ भाइको मृत्युपछि भाइको परिवारको जिम्मेवारी आफ्नो काँधमा थपिएको उनले बताए ।  खरले छाएको घरबाहेक जग्गा जमिनको नाममा मृतकको परिवारको केही छैन ।  परिवारमा ६ छोराछोरी र पत्नी छन् ।

नेपालमा रहँदा मजदुरी गरेरै परिवार धानिरहेका मोची सप्तरीकै अपरिचित तुनाराम भन्ने व्यक्तिको माध्यमबाट रोजगारीका लागि दुबई पुगेका थिए ।  चितवन जिल्ला कठाईकी २० वर्षीया विपना चौधरीले कहिल्यै पनि सोचेकी थिइनन् पतिसँग सदाका लागि बिछोडिन्छु भन्ने । पाँच वर्षअघि मात्रै प्रेमविवाह गरेकी चौधरीका पति आशिष चौधरी विवाहपछि पोखरामा गई ग्रिलसम्बन्धी काम गरिरहेका थिए ।

उक्त कामबाट परिवार धान्न पुग्ने भए पनि साउदी अरबमा रहेका उनका काका आशारामले नेपालमा भन्दा विदेशमा राम्रो कमाइ हुने भनेपछि उनले उतै जाने सोच बनाए । काकाले पनि उतैबाट प्रवेशाज्ञा पठाइ दिए र उनी कतार गए । तर, काम गर्न गएको डेढ वर्षमै उनले ज्यान गुमाए । मृतकको दाबी रकम बुझ्न बोर्डमा आएकी मृतककी पत्नी चौधरीले भावुक बन्दै भनिन्, ‘उहाँ बित्नुभएको खबर पाएको अघिल्लो रात हाम्रो फोनमा कुरा भएको थियो । अचानक बिहान उहाँको मृत्यु भयो भन्ने फोन आउँदा ममाथि आकाशै खसेजस्तो भयो ।’

आशिषको ०७४ साल चैत १३ मा मृत्यु भएको थियो ।  वैदेशिक रोजगार प्रवद्र्वन बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२÷७३ मा महिला २४ र पुरुष ७ सय ८७ गरी जम्मा ८ सय ११ जनाको मृत्यु भयो । आव ०७४÷७५ को चैत मसान्तसम्मको तथ्यांकअनुसार महिला १५ र पुरुष ५ सय ९३ गरी जम्मा ६ सय ८ जनाको मृत्यु भएको देखिन्छ । मृत्युको संख्यामा खासै कमी आएको पाइएको छैन । आव ०७३÷७४ मा महिला १८ र पुरुष ७ सय ३८ गरी जम्मा ७ सय ५६ जनाको मृत्यु भएको थियो ।
आव ०७२÷७३ मा मुटुसम्बन्धी रोगका कारण १ सय ४८, आत्महत्याका कारण १ सय ९, कार्यस्थलमा दुर्घटनाबाट ८१, प्राकृतिक मृत्यु २ सय ४१, सडक दुर्घटनाबाट १ सय ३, हत्याबाट तीन, हृदयघातबाट ९४ र अन्य कारणबाट २७ जनाको मृत्यु भएको थियो । आव ०७३÷७४ को तथ्यांकअनुसार मुटुसम्बन्धी रोगका कारण ६४, आत्महत्याका कारण ९०, कार्यस्थलमा दुर्घटनाबाट ६१, प्राकृतिक मृत्यु २ सय ५२, सडक दुर्घटनाबाट १ सय २२, हत्याबाट एक, हृदयघातका कारण ६४ र अन्य कारणबाट ८० जनाको मृत्यु भयो ।

चार व्यक्तिको मृत्यु अझै अनुसन्धानका क्रममा छन् भने १८ मृत्युबारे अझै जानकारी हुन सकेको छैन । मुटुसम्बन्धी रोगका कारण ५३, आत्महत्याका कारण ९९, कार्यस्थलमा दुर्घटनाबाट ४४, प्राकृतिक मृत्यु ९८, बिरामी भएर ४७, सडक दुर्घटनाबाट ९३, हत्याबाट एक, हृदयाघातका कारण ९४, अज्ञात मृत्यु ११ र अन्य कारणबाट ३६ जनाको मृत्यु भएको आव ०७४÷७५ को चैत मसान्तसम्मको तथ्यांकले देखाउँछ । थप ३२ को मृत्यु अझै अनुसन्धानका क्रममा छन् ।

तथ्यांकअनुसार आव ०७२÷७३ मा जापानमा दुई, सिरियामा एक, तान्जानियामा एक, ओमानमा चार, कतारमा १ सय २६, कुवेतमा ३१, दक्षिण कोरियामा १३, बहराइनमा आठ, मलेसियामा ३ सय ३७, माल्दिभ्समा दुई, संयुक्त अरब इमिरेट्समा ५४ र साउदी अरेबियामा २ सय २३ जनाको मृत्यु भयो ।

आव ०७३÷७४ मा इजिप्टमा एक, जापानमा चार, नाइजेरियामा एक, अफगानिस्तानमा १२, कतारमा चार, कुवेतमा १३, दक्षिण कोरियामा ११, नेपालमा एक, बहराइनमा ६, मलेसियामा २ सय ५४, माल्दिभ्समा दुई, संयुक्त अरब इमिरेट्समा ४५ र साउदी अरेबियामा २ सय ५१ जनाको मृत्यु भएको थियो ।

आव ०७४÷७५ को चैत मसान्तसम्मको तथ्यांकले इजिप्टमा एक, भियतनाममा एक, जापानमा चार, कतारमा ९२, कुवेतमा १४, जर्मनीमा एक, टर्कीमा एक, दक्षिण कोरियामा १८, नेपालमा ३५, बहराइनमा सात, मलेसियामा २ सय ९, संयुक्त अरब इमिरेट्समा ६९ र साउदी अरेबियामा १ सय ५५ जनाको मृत्यु देखाउँछ । वैदेशिक रोजगारीका क्रममा रोजगारीको करार अवधि नसकिइकनै नेपालमा बिदामा आउँदा मृत्यु हुनेको तथ्यांकसमेत बोर्डले राख्ने गरेको छ ।

अहिलेसम्म नेपालमै आएर मृत्यु भए पनि क्षतिपूर्ति बापतको दाबी रकम भने उपलब्ध गराउने गरिएको छैन । तर, रकमका लागि भने ०७२ सालदेखि नै निवेदन पर्ने गरेको जानकारी बोर्डले दिएको छ । श्रम कार्यालयले रोजगारदाता कम्पनीबाहेक अन्य माध्यमबाट रोजगारीका लागि विदेश नजान बेलाबेलामा सूचनासमेत प्रकाशन गर्ने गर्छ ।

आफू जाने कम्पनीबारे बुझ्दै नबुझी र सूचनाको ख्यालै नगरी रोजगारीका लागि युवा विदेशिने गरेका छन् ।रोजगारदाता कम्पनीबाहेक अनधिकृत तवरले विदेश जानेहरू बढी दुर्घटनामा परेको घटना बाहिर आउने गरेको वैदेशिक रोजगार प्रवद्र्वन बोर्डका सूचना अधिकारी पवित्रा घिमिरे खनालले बताइन् । ‘बोर्डले वैदेशिक रोजगारीमा जान इच्छुक श्रमिकका लागि तालिम दिने व्यवस्था गर्दै आएको भए पनि विनातालिम नै उहाँहरू विदेश जानुहुन्छ,’ उनले भनिन् ।

विदेशी भूमिमा काम गर्न जाने जो कोहीले प्रथमतः आफ्नो पेसामा दक्षता हासिल गर्नुपर्छ भन्ने नीति सरकारले बनाइदिए पनि स्वयं श्रमिकले नै त्यसको पालना गर्ने गरेका छैनन् । वैदेशिक रोजगारीमा गएका श्रमिकको आकस्मिक मृत्यु भएमा बोर्डले सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरेको छ । बोर्डले श्रम गर्न गएको समयावधि सकिएको एक वर्षपछिसम्म पनि मृतकको परिवारलाई क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया