ब्रिजकोर्स बेथिती

‘माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका झन्डै ५ लाख परीक्षार्थीहरू अहिले बेरोजगारजस्तै भएका छन् । विद्यालयतहको शिक्षा पूरा गरी उच्च तहको अध्ययनमा प्रवेश गर्न खुट्टा उचालेका यिनीहरूमा आगामी शिक्षा र शिक्षण संस्था बारेमा कौतुहुलता हुनु स्वभाविकै हो ‘

 

-बाबुकाजी कार्की ब्रिजकोर्सको उद्देश्य फुर्सदको समयमा विद्यार्थीलाई अलमल्याउनु मात्र नभएर उनीहरूमा भएको अन्तर्निहीत प्रतिभाको आविष्कार गरेर उच्च शिक्षाको विषय छनोटका लागि मार्ग दर्शन प्रदान गर्नु पनि हो । अभिभावकहरूले पनि छोराछोरीलाई यो र त्यो बन्नुपर्छ भनेर अध्ययनको विषय छनोटमा दबाब दिनु कतिपय अवस्थामा घातक हुन सक्छ ।

अरूको दबाबको विषयमा पढ्दा बिचैमा पढाई छाडेर ओल्लो घाट न पल्लो तिर भएर उद्देश्यविहीन जिन्दगी जिउन विवश भएका उदाहरण पनि समाजमा बग्रेल्ती पाइन्छ ।किनकि पढ्ने छोरा छोरीले हो, अभिभावकले होइन ।

प्रख्यात खेलाडी, कलाकार, संगितकार तथा राजनीतिज्ञले विश्वमा आफ्नो भविष्य मात्र सुनिश्चित गरेका छैन्न, कतिपयले आफ्नो संस्कार संस्कृति र समग्र देशलाई नै विश्वमा चिनाउन सफल भएको हाम्रो सामु कैयौं उदाहरण छन् । कुनै पनि विषय ठूलो सानो हुँदैन । छोरा छोरीले चाहेको विषय र विधामा अध्ययनको वातावरण बनाएर विशेषज्ञता हासिल गर्ने अवसर प्रदान गर्नु बुद्धिमानी हुन्छ ।

अत विद्यार्थीलाई उच्च शिक्षा करले नभई रहरले पढ्ने सहज वातावरणको व्यवस्थापन गर्नु सरोकार पक्षको दूरदर्शिता हो । अन्यथा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुबाहेक केही हुने छैन अभिभावक सँग, किनकि त्यतिवेला सम्म छोरा छोरीको बहुमूल्य समय धेरै घर्कीसकेको हुनेछ । विद्यार्थीको पृष्ठभूमिको आधारमा भावी जीवनको तयारीका निम्ति उनीहरूको योग्यता क्षमता तथा बजारको मागको विश्लेषण गरी सही सल्लाह सुझाव र सो अनुकुलको तयारी गर्नु गराउनु ब्रिजकोर्सको प्रमुख ध्येय हुनुपर्दछ ।

माध्यमिक शिक्षा परक्षिा (एसइई) दिएर बसेका भन्डै ५लाख परीक्षार्थीहरू अहिले बेरोजगारजस्तै भएका छन् । विद्यालय तहको शिक्षा पूरा गरी उच्च तहको अध्ययनमा प्रवेश गर्न खुट्टा उचालेका यिनीहरूमा आगामी शिक्षा र शिक्षण संस्था बारेमा कौतुहुलता हुनु स्वभाविकै हो । तसर्थ दश वर्षभन्दा बढी समय विद्यालयको निश्चित दायराको अनुशासनबाट भर्खरै बाहिर आएका अल्लारे उमेर १५÷१६ वर्षका विद्यार्थीको गतिविधिलाई सकारात्मक दिशातर्फ उन्मुख गराउनुपर्ने हुन्छ ।

यस उमेरका बालबालिका स्वभावैले चञ्चले र अपरिपक्क हुन्छन नै । मनोवैज्ञानिकहरूको भनाइअनुसार यस उमेरलाई ‘स्ट्रोमी एन्ड स्टेस’ भनिन्छ । जसअनुसार छिट्टै रिसाउने, कुनै कुरामा चाँडै विश्वास गरेर निर्णय लिने तथा आफूले चाहेको कुरा तत्काल पूरा नभएमा उत्तेजनामा आउने एवं परिणामको ख्यालै नगरी काम गर्न अग्रसर हुनु सामान्य मानिन्छ । आफ्नो चाहना अनि साथीभाइको संगत र लहैलहैमा लागेर नकारात्मक काम गर्न समेत पछि नपर्ने चरित्र हो यो उमेरेको ।

स्वभावैले उनीहरू आफ्नो चाहना पुरा गर्न गराउन अनेक तिकडम र जिद्दी गर्न पछि पर्दैनन् । एसइईको नतिजा नआउन्जेल करिब अढाई महिना परीक्षार्थीको समयको यथोचित व्यवस्थापन गर्न अभिभावक र पूर्व विद्यालयको चिन्ता र चासोको विषय बन्नुपर्दछ । अचेल विद्यार्थीको वर्तमान र भविष्यको शिक्षालाई जोड्न ब्रिजकोर्स महिमाको प्रचारप्रसार विभिन्न सञ्चार माध्यममा बग्रेल्ती देख्न र सुन्न पाइन्छ ।

फुर्सदको समयलाई उपयोग गर्ने यस्ता कोर्सलाई सकारात्मक नै मान्न सकिन्छ । तर, चाउचाउ र पत्रिका व्यापारको बजार विस्तार गर्ने शैलीमा सहरका चोकचोकमा घुम्ती स्टल राखेर ब्रिजकोर्स भर्ना अभियान सञ्चालनले कोर्सको स्तरीयता बारेमा शंका उब्जिनु स्वभाविकै हो ।अहिले ब्रिजकोर्स कोचिङ र ट्युसनको पर्यायको रूपमा सिमित लगानी गरेर कमाउ धन्दाको माध्यम बनेको आरोप खण्डन गर्ने भरपर्दो आधार र हिम्मत छैन सञ्चालकहरूसँग ।

ब्रिजकोर्स सञ्चालनका लागि आवश्यक मानवीय तथा भौतिक साधन स्रोत पर्याप्त छ कि छैन् ? सञ्चालक र सम्बन्धित निकाय तथा अभिभावक चनाखो हुनुपर्दछ । ब्रिजकोर्सका विषयवस्तु विद्यार्थीको भावी अध्ययनलाई टेवा पुग्ने खालका छन त ? सरोकार पक्ष प्रत्यक्ष अनुगमन र अवलोकनबाट ढुक्क हुनु पर्दछ ।

काठमाडौंलगायत देशका विभिन्न शहरी क्षेत्रमा धमाधम खोलिएका ब्रिजकोर्सको कानुनी हैसियत अन्योलमा छ ।सञ्चालकहरू पढाउने विषयको कोर्स, पढाइ शुल्क तथा संस्थाको स्थायित्व बारेमा विवादरहित छैनन् । छोराछोरीलाई महंगो ब्रिजकोर्स पढाउनु भनेको सामाजिक प्रतिष्ठाको विषय बन्न थालेको छ । ब्रिजकोर्स आवश्यकता हो कि फेसन खुट्याउन सर्वसाधरणलाई कठिन भएको छ ।

साथीभाइको अगाडि ब्रिजकोर्समा नपढेमा विद्यार्थी स्वयंले हिनताबोध महसुस गर्ने मानसिकता हाबी भएको देखिन्छ ।विद्यार्थीको सहज पहुँचको सुनिश्चित गर्दै स्तरीय पठनपाठन गर्न ब्रिजकोर्सको नियमन र व्यवस्थापन समयमा नै हुनु पर्दछ । अतः सरकारले समयमा नै निर्मम अनुगमन निरीक्षण गरी ब्रिजकोर्सलाई कानुनी दायरामा ल्याउन हिचकिचाउनु हुँदैन ।

दश वर्षभन्दा लामो समयसम्म विद्यालयमा निरन्तर पढेका विद्यार्थीका लागि एसइई रिजल्ट कुरुञ्जेल सम्मको समय ब्रिजकोर्सको विकल्पको रूपमा अन्य रचनात्मक काममा पनि खर्चिन सकिन्छ । विद्यार्थीहरूले अध्ययन गरेका सैद्धान्तिक ज्ञानलाई ऐतिहासिक स्थान तथा प्रख्यात तिर्थस्थलको अध्ययन भ्रमणको अवसरबाट उनिहरू व्यवहारिक ज्ञानको कसीमा दाँजेर वास्तविकताको अनुभव र अनुभुति गर्न सक्छन् ।

विभिन्न स्थान, जातजाति, धर्म संस्कार संस्कृतिको प्रत्यक्ष अवलोकन र सहकार्यबाट जीवन र जगतलाई नजिकबाट बुझ्न मद्दत गर्दछ । समाज र समुदायमा गरिने सामाजिक कार्यहरू सरसफाई, स्वास्थ्य शिविर, वृक्षारोपण, असाहय बालबालिका, वृद्ध तथा अपांगहरूको हेरचाहजस्ता मानवीय कार्यबाट आर्जन हुने ज्ञान र सीप दिगो र ब्रिजकोर्सभन्दा कुनै अर्थमा कम हुँदैन ।

प्रतिक्रिया