मेलम्चीले सिकाएको पाठ

राष्ट्रिय गौरवको सूचीमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ मंगलबार छिचोलिएको छ । बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची आयोजनाको सुरुङमार्ग छिचोलिएसँगै पानीको आधारभूत आवश्यकता छिटै पूर्ति हुने आशा राजधानीवासीमा जाग्नु स्वाभाविकै हो । करिब २७ किलोमिटर लामो सुरुङ मेलम्ची आयोजनाको सबैभन्दा जटिल, खर्चिलो र महत्वपूर्ण संरचना हो । चार वर्षभित्र काम सक्ने लक्ष्यका साथ सन् २००९ मा सुरुङ निर्माण आरम्भ भएको थियो । तर, यस अवधिमा विभिन्न अवरोध सिर्जना भए । चार वर्षमा सक्ने लक्ष्य राखिएकोमा १० वर्ष लाग्ने स्थिति देखिएको छ । अबको ६ महिनामा सुरुङ निर्माणको बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जाहेर गरेपछि सरकारले आगामी दशैँसम्म मेलम्चीको पानी राजधानीवासीको घरघरमा झार्ने घोषणा गरेको छ । तर, ठेकेदार कम्पनीको क्रियाकलाप हेर्दा आगामी दशैँसम्ममा राजधानीका घरघरमा मेलम्चीको पानी आउने सम्भावना नदेखिएको सुरुङ निर्माणमा खटिएका कामदारहरू बताउँछन् । थप रकमका लागि ठेकेदारले बार्गेनिङ नगरेको भए गत दशैँमा नै मेलम्चीको पानी काठमाडौं आइसक्ने निर्माणमा संलग्न कामदारहरू बताउँछन् । भेरिफिकेसनका नाममा सम्झौता गरिएभन्दा थप डेढ अर्ब रुपैयाँ ठेकेदार कम्पनीले मागिरहेको छ । आफूले दाबी गरेको अतिरिक्त भुक्तानी नपाएपछि उसले अन्तिम खण्डको सुरुङ छिचोल्ने काम प्रभावित हुने गरी ढिलाइ गरिरहेको थियो । नवनियुक्त खानेपानी मन्त्री विना मगरले विशेष दबाब दिएपछि सुरुङमार्ग छिचोलिएको हो ।
सुरुङमार्ग छिचोलिएपछि राजधानी काठमाडौंमा केही दशकसम्मका लागि खानेपानीको समस्या समाधान हुने कुरामा ढुक्क हुने अवस्था सिर्जना भएको छ । २७ किलोमिटर लामो सुरुङमार्फत पानी ल्याउने अवधारणा ०४८ सालमा अघि सारिँदा धेरैले पत्याएका थिएनन् । सम्भव भइहाले पनि ज्यादै खर्चिलो हुने भएकाले विकल्प खोज्नुपर्ने सुझाब धेरैले दिएका थिए । तर, राजधानी काठमाडौंजस्तो संवेदनशील ठाउँका लागि अर्को विकल्प थिएन । आयोजना निर्माणको विधिवत् आरम्भ ०५६ सालदेखि भएको हो । तर, आयोजनास्थलसम्म पुग्ने सडक निर्माणको चरणदेखि नै अनेक थरी उल्झनहरू आए । जसका कारण लागत र समय दुवै लम्बियो । उल्झन नआई सरासर काम हुन पाएको भए आजभन्दा पाँच वर्षअघि नै मेलम्ची आयोजना निर्माण सम्पन्न भइसक्थ्यो । यसबीच मेलम्चीका पूरक यांग्री र लार्केको पानीसमेत राजधानी काठमाडौंमा आइसक्थ्यो । मुलुकले वार्षिक १५–२० अर्ब रुपैयाँ आम्दानी राजधानीको खानेपानी वितरणमार्फत नै प्रप्त गर्ने अवस्था सिर्जना हुन्थ्यो । यो आम्दानीले विकासका अन्य संरचना निर्माण गर्न सकिन्थ्यो । तर, आयोजना निर्माणमा भएको ढिलाइले ठूलो नोक्सानी भएको छ । ढिलाइका कारण व्यहोर्नुपर्ने नोक्सानीबाट मुलुकले पाठ सिक्नुपर्छ ।
चार वर्षभित्र काम सम्पन्न गर्ने गरी २००९ मा ठेक्का लिएको चिनियाँ कम्पनीले ६ किलोमिटर मात्रै निर्माणपछि धोका दिएका कारण सम्झौता रद्द भएको थियो । त्यसपछि, ३ वर्षभित्र बाँकी काम सम्पन्न गर्ने गरी सन् २०१४ मा वर्तमान इटालियन कम्पनीलाई ठेक्का दिइएको हो । यस हिसाबले सन् २०१७ मा काम सकिनुपर्ने थियो । सुरुको कामको रफ्तार हेर्दा त्यस्तो देखिन्थ्यो पनि । तर, अन्तिम अवस्थामा आएपछि भने ठेकेदार कम्पनीले नियतवश नै ढिलाइ गर्न थाल्यो । नेपालका लागि अनिवार्य आवश्यकता र हरेक सरकारको साखसँग जोडिएको आयोजना भएका कारण बार्गेनिङ गरी थप रकम झार्ने नियत ठेकेदारले राख्यो । निर्धारित समायमा काम पूरा गर्नै पर्ने सम्झौता नगरिएको होइन, तर करिब ६ महिना भूकम्पका कारण र करिब ६ महिना भारतीय नाकाबन्दीका कारण गरी एक वर्ष ढिलाइ गर्ने निहुँ ठेकेदार कम्पनीले सजिलै पायो । तर, अब भने सम्पन्न हुने चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने चरणमा पुग्नु भनेको मुलुकका लागि महत्वपूर्ण उपलब्धि हो । पहिलो कुरा त यो आयोजनाले राजधानीवासीको पानीको आवश्यकता पूरा गर्ने मात्र नभइ प्रत्यक्ष आर्थिक आम्दानी पनि दिन्छ । दोश्रो कुरा, ठूला आयोजना निर्माण गर्न नेपाल सक्षम छ भन्ने प्रमाणित भएको छ । अब योभन्दा पनि ठूला र जटिल आयोजना निर्माण गर्ने बाटो खुलेको छ । महत्वपूर्ण विकास आयोेजनामा विदेशी ठेकेदार कम्पनीहरूले कहाँनिर कसरी दुःख दिँदा रहेछन् ? भन्ने पाठ सिक्ने मौका पनि मिलेको छ ।

प्रतिक्रिया