८५ हजार वर्ष पहिले मानवको उत्पत्ति

वासिंगटन । वैज्ञानिकले अहिलेसम्म मान्दै आएका थिए कि, मानवको उत्पत्ति सबैभन्दा पहिले अफ्रिकामा भएको हो र ६० हजार वर्ष पहिले यो एकैपटक संसारभरि फैलिएको थियो । तर, अरब प्रायद्विपमा भेटिएको मानव जीवाश्मले ‘आउट अफ अफ्रिका’ नामक मानवीय प्रवासन सिद्धान्तलाई चुनौती दिएको छ ।

अक्सफोर्ड युनिभर्सिटीका हाउ ग्रोउकटको नेतृत्वको शोधकर्ताहरूको टोलीले साउदी अरबको मध्यस्थित नेफुड रेगिस्तानबाट मानवीय औँला र जीवाश्म फेला परेको छ ।  वैज्ञानिकहरू यसलाई अफ्रिकाभन्दा बाहिर पाइएको आधुनिक मानवको सबैभन्दा पुरानो जीवाश्म भनेका छन् ।

नेचर इकोलोजी एन्ड इभोलुसन जर्नलमा छापिएको यस अध्ययनमा शोधकर्ताहरूले मानव हाम्रो अनुमानभन्दा २५ देखि ३० हजार वर्ष पहिले संसारमा फैलिएका बताएका छन् । मानवले अरब प्रायद्विपको घाँसे मैदानसम्म आफ्नो विस्तार गरिसकेका थिए ।अहिले यो क्षेत्र मरुभूमिमा परिणत भइसकेको छ ।

तर, वातावरण विशेषज्ञहरूले यस स्थानमा पहिले समुद्र र वरिपरि घाँसे मैदान रहेको बताएका छन् ।  ८५ हजार वर्ष पहिले जब मानिस त्यहाँ पुगे, तब मुसलधारे वर्षाका कारण त्यो क्षेत्रमा समुद्र र नदीहरू बनेका थिए । मानवीय जीवाश्मका साथै यो क्षेत्रमा घोडा र हरिणसमेत करिब ८ सय जनावरका जीवाश्म पाइएको छ ।

ग्रोउकटको अनुमान छ कि, जनावरको प्रवासनपछि सिकारी मानिस पनि पछिपछि आएर सहारा मरुभूमि र आसपासका अन्य क्षेत्रमा फैलिएका थिए ।

प्रतिक्रिया