कसरी गर्न सकिन्छ ओली भ्रमणको उपलब्धि रक्षा ?

लेखक : आनन्दप्रसाद पोखरेल (पूर्वमन्त्री)

आनन्दप्रसाद पोखरेल  नेपाली र भारतीय सञ्चार माध्यममा नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्री के. पी. ओलीको भ्रमणको चर्चाले विषय स्थान पाएको छ । भारत भ्रमणको चर्चा विभिन्न जोड र कोणबाट गरिएका छन् । अहिलेको बहस मूलतः तीन कोणबाट उठेका छन् । भारत भ्रमण राजनीतक, कुटनीतिक र आर्थिक विकासको नजरबाट पूर्ण सफल भएको र भ्रमण शताब्दीको उपलब्धि हो भन्ने भनाई बाहिर आएको छ ।

अर्को विचार, कतिपय प्रसंगमा यो भ्रमण सफल भयो तर नेपालका अनिवार्य सम्बोधन गर्नुपर्ने मुद्दाहरू डुबान, सिमा विवाद, व्यापार घाटा र भारतीय पक्षका विगतका प्रतिबद्धता कार्यान्वयन नगरेको विषयमा प्रयाप्त ध्यान पुगेन, ओझेलमा पर्यो आदि–आदि । तेस्रो मत, भारत सम्बन्धका जानकारहरू यो भ्रमणले ओलीको भारतसँग विगतमा बिग्रेको सम्बन्धलाई सुधार गर्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको छ । ओलीलाई भारतविरोधी र चिन पक्षधरको जख रूपमा प्रचारित छविमा सुधार आएको बताउँछन् ।

भारतले ओलीको महत्वकांक्षी विकास योजनालाई सहयोग पुग्ने गरी महत्वपूर्ण तीन वटा योजनामा सम्झौता गरेको छ । भूपरिवेष्ठित राष्ट्रले निर्वाधरूपमा प्रयोग गर्न पाउनुपर्ने समुन्द्रसम्मको पहुँचलाई खुल्ला गरेको छ । रक्सौलदेखि काठमाडौं विद्युतिय रेलको सम्भाव्यता अध्ययन गर्ने बाटो खुलेको छ । एकिकृत जाँच चौकी उद्घाटन र पेट्रोलियम पाइप लाइनको उद्घाटनले भारत भ्रमणलाई ऐतिहासिक र महत्वपूर्ण बनाएको छ । घरेलु राजनीतिमा यस भ्रमणले विशेष चर्चा पाएका यिनै विषय हुन् । अन्तर्राष्ट्रिय क्षेत्र र भारतीय विश्लेषकहरूको बीचमा प्रधानमन्त्री शर्मा ओलीका सम्बन्धमा विविध ढंगबाट चर्चा पाएको छ ।

भारतीय सत्ता पक्ष र प्रधानमन्त्री मोदीद्वारा यो भ्रमणलाई विगतमा नेपाल र भारतको सम्बन्धमा जुन दरार पैदा भएको थियो त्यसको अन्त्य भएको र नेपाल भारत सम्बन्धमा कोर्ष कनेक्सन गर्न सफल भएको रूपमा व्याख्या गरिएको छ । भारतका विपक्षी दलहरूले भनेका छन्–‘ मोदी प्रशासनले विगतमा नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको, नाकाबन्दी लगाएकोजस्ता कारण नेपाल भारत सम्बन्ध बिग्रेको थियो । अहिले मोदी सरकारले विगतको गल्तीबाट पाठ सिकी सम्बन्ध सुधार्न खोज्नु सकारात्मक छ ।’ भारतीय कांग्रेस आईको नीतिमा नेपाल भारत सम्बन्ध अगाडी बढेकोमा खुसी व्यक्त गरिएको छ ।

भारतका सञ्चार माध्यममा र बुद्धिजिवीहरू नेपलका प्रधानमन्त्रीको भारत भ्रमणलाई सकारात्मकरूपमा व्याख्या गर्दै भारतविरोधी ओलीको भारत बिरोधी छवि सुधार्न सहयोग पुगेको विषय उठेको छ । दूरदर्शी ओलीले आफ्ना विकासका महत्वकांक्षी योजना कार्यान्वयनमा चीनभन्दा भारत सहयोगी हुने विश्वास गरेका ओलिले भारतलाई निर्वाचनपछि महत्व दिइएको, सोहीअनुसार भारत भ्रमण गरेको अर्थमा भारतीय मिडियाहरूले लिएका छन् ।  बाँकी दिनमा नेपाल भारत सम्बन्ध उनले चिनसँग राख्ने भावी सम्बन्धले मापन गर्नेछ भनि प्रश्न उठाएका छन् ।  यदि भारतसँग सम्बन्ध राम्रो नराखे विगत दोहोरिने संकेत गरी समाचार र लेख प्रकाशित गरेका छन् ।

ओलीको भारत भ्रमणले उहाँलाई भन्दा मोदीलाई फाइदा पुगेको भ्रमणको उपलब्धि राष्ट्रको लागि फाइदा भन्दा मोदी ओली गठबन्धन बलियो बनाउन सहयोग पुगेको बुझाइ छ । अबकोे भारतीय निर्वाचनमा भारतीय जनता पार्टी र मोदीलाई सहयोग पुग्ने आँकलन गरिएको छ । इतिहासमा दुई तिहाइभन्दा बढी मतले विजय भएको प्रधानमन्त्रीको भारत भ्रमणले यसपटक नेपाल र भारतको सीमामा मात्र होइन विश्वको नै ध्यान खिचेको छ । विशेष चर्चा पाएको छ । संविधान घोषणा र संविधिानले व्यवस्था गरेको तीन तहको निर्वाचनपछि यो भ्रमण पहिलो हो । यो भ्रमण अगावै नेपालका सबै क्षेत्रले विभिन्न ढंगबाट आँकलन र चर्चा सुरु गरेका थिए ।

अपेक्षा धेरै गरेका थिए । आज भ्रमणको विषयमा आ–आफ्नै खाले तर्क, वितर्क र कुतर्क गरिँदैछ । प्रतिपक्षी दल नेपाली कांग्रेसले यो भ्रमण पूर्णरूपमा असफल भएको र उपलब्धि केही नभएको, केवल प्रचारमा मात्र सीमित भएको विश्लेषण गरेको छ । कुटनीतिक र राजनीतिक क्षेत्रमा यो भ्रमण सफल रहेको विश्लेषण गरेको छ । भारत बाहेक छिमेकी देशले यो भ्रमणलाई सावधानीपूर्वक अध्ययन गरिरहेका छन् । सारमा नेपाल र भारतको सम्बन्धको इतिहासमा यो भ्रमण पूर्ण सफल भएको छ । विगतमा ओलीलाई मानिसले जसरी चिन्दैथिए, व्याख्या गर्थे पहिलोपटक प्रधानमन्त्री भएपछि नेपाल भारतको सम्बन्ध अत्यन्त संकटपूर्ण थियो ।

संविधानको अस्वीकार्यता, नाकाबन्दी, तराईको आन्दोलनको चपेटामा भारतको भ्रमण गरेका ओलीे भारतीय पक्षको नेपालप्रतिको दृष्टिकोणलाई अस्विकार गर्दै संयुक्त वक्तव्यमा समेत हस्ताक्षरसमेत नगरी नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप अस्विकार गरेका थिए । नाकाबन्दीको आलोचना मात्र होइन त्यसको डटेर सामान गरे नेपाल र भारतको सम्बन्ध स्वतन्त्र सार्वभौम राष्ट्रको हैसियतमा मात्र हुन सक्छ । कुनै पनि विशेष सम्बन्ध अस्वीकार्य छ भन्ने ओली, यस पटकको भारत भ्रमण अझ महत्वपूर्ण नहुने कुरै भएन ।

इतिहासमा कहिले नै नभएको संसदको तीन तिहाइभन्दा बढी मतसहित निर्वाचित प्रधानमन्त्रीले गरेको भारत भ्रमणले नयाँ उचाई प्राप्त गर्नु नै थियो । त्यो पूर्णरूपमा प्राप्त गरेको छ ।  नेपाल भारत सम्बन्धका विभिन्न आयमहरू छन् । ऐतिहासिक धार्मिक सांस्कृतिक, भू–राजनीतिक, आर्थिक र भौतिक, उर्जा, पानी, नदी नियन्त्रण, डुबान, विभिन्न समयका सन्धि सम्झौता, सिमाना विवाद र यसबाट उत्पन्न सम्बन्धका आयामहरू छन् ।

व्यापार र पारवहन सम्झौता , भूपरिवेष्ठित राष्ट्रले पाउनुपर्ने सुविधा र अधिकार, उद्योग वाणिज्य सन्धि–सम्झौता समझदारीका साथै जल स्रोतको दुईपक्षीय उपयोग, तल्लो तटीय मुनाफाको बाँडफाड आदिजस्ता विषयमा नेपाल–भारत सम्बन्धका महत्वपूर्ण आयामहरू हुन् । ति आयामहरूको जगमा भ्रमणले गरेका सम्बोधनलाई व्यवस्थित गरिनुपर्दछ । प्रथमतः यो भ्रमण नेपाल भारतको ऐतिहासिक सम्बन्धलाई पुनःपरिभाषित गर्नु र विगतका सन्धि– सम्झौता अध्ययनको लागि बनेको विज्ञ समूहको प्रतिवेदनअनुसार परिमार्जित गर्ने सैद्धान्तिक सहमति जनाएको छ ।

ब्रिटिस भारतकालीन चिन्तन र हेपाहा संस्कृतिलाई अस्वीकार गरी स्वतन्त्र सार्वभौम राष्ट्रको सरकार प्रमुख ओलीलाई त्यही हैसियतमा व्यवहार र सम्मान गरिएको छ । नेपालको सार्वभौम अखण्डता र स्वतन्त्र राष्ट्रको रूपमा व्यवहार गरी राष्ट्रिय स्वाभिमानलाई उच्च सम्मान प्रदान गराउन सफल हुनु भएको छ । विगतमा नेपालको राजनीतिक र आन्तरिक मामलामा भारतीय पक्षले उठाउने गरेका विषयले ठाउँ पाएन । पहिलोपटक भारतपक्षले नेपालमाथि आफ्नो चाहना लाद्ने संस्कृतिबाट यो भ्रमणमुक्त छ ।

विगत नेपाल–भारत सम्बन्धमा भए गरेका सन्धि–सम्झौता कार्यान्वयनमा नहुने केवल वक्तब्य र सम्झौतामा सिमित रहेनजस्तो कुरा अब नदोहोरिने प्रतिबद्धता प्राप्त गरेको छ । अब यस्ता गल्ती नहुने कुरा भारतीय पक्षबाट महसुस गरिएको छ । भारतीय पक्षबाट नेपाल भारत सिमानाको विवाद, सीमा मिच्ने कुरा आउँदा दिनमा नहुने विश्वास दिलाएको छ । पानीको प्राकृतिक बहावलाई भारतीय पक्षको एकतर्फी बाँध निमार्ण गरेकोले यसबाट भएको डुबान रोक्न आपसी छलफलमा छिनोफानो गर्ने र पानीको प्राकृतिक बहाव नरोकीने स्पष्ट सन्देश दिएको छ ।

लामो समयदेखि भूपरिवेष्ठित राष्ट्रले प्राप्त गर्नुपर्ने समुन्द्रसम्मको पहुँच सगरमाथादेखि सागरसम्म भन्दै खुल्ला गरिएको छ । अब नेपाल ल्यान्ड लक होइन वाटर लिंकसमेत हुने भएको छ । ओलीको सपना, नेपाली झण्डासहितको पानी जहाज समुन्द्रमा भन्ने भनाइलाई व्यवहारत कार्यान्वयन गर्ने बाटो खुलेको छ । नेपाल भारतको खुल्ला सिमानालाई नजर गर्दै सिमानमा संयुक्त जाँच चौकी स्थापन गर्ने सहमति भई सीमा क्षेत्रमा हुने अपराधजन्य गतिविधि रोक्न कामको सुरुवातले आउँदा दिनमा दुवै देशको सुरक्षा चासो सम्बोधन गएको छ ।

नेपाल–भारत–चिनको रेल कनेक्टिभिटीलाई खुल्ला गरिएको छ । जसको कारण नेपाल, भारत र चीनको सम्बन्धमासमेत पुलको काम गर्न सक्ने सम्भावना बढेको छ । भारतीय काम कारबाही, व्यवहार र अतिरिक्त भन्सारको कारण हुने गरेको व्यापार घाटा कम गर्नेसमेत यो भ्रमणले सार्थक सफलता प्राप्त गरेको छ । तत्कालै उद्योग वाणिज्य आपूर्ती सचिवहरूको बैठकले यसको छिनोफानो हुने कुराले नेपालीलाई खुसी प्रदान गरेको छ । नेपाल सरकारले अगाडि सारेका “समृद्ध नेपाल सुखी नेपाली” भन्ने नारालाई सार्थक बनाउन र विकासमा साझेदारी गर्न खुल्ला हृदयले हात बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नेपाली जनताको खाद्य सम्प्रभुताको हकलाई सम्मान गर्दै कृषि विकासका अवरोध हटाउने, कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्ने साथै अतिरिक्त भन्सार हटाउन यो भ्रमण सफल हुने विश्वास भएको छ । जलविद्युत् विकासको क्षेत्रमा भारतले अहिले पनि संरक्षणवादी नीति अंगिकार गरेको छ । समय सीमामा यस क्षेत्रमा भारतीयहरू सहयोगी बन्ने आशा गर्न सकिन्छ । यी र यस्ता द्विपक्षीय छलफलका निष्कर्षलाई सरकारी तवरबाट तत्कालै जनताले महसुस हुने गरी ढिलो नगरीकने व्यवहाररत कामको थालनी भएमा मात्र नेपालीको अपेक्षा र सहमतिले सार्थकता पाउनेछ ।

होइन भने भारतले सदियौँदेखि सम्झौता गर्ने ओगट्ने र कार्यान्वयन नगर्ने परिपाटी पुनः दोहोरिएमा , यस भ्रमणले पनि तत्काल प्रचारमा मात्र सिमित हुने छ । त्यसैले, सरकारको निरन्तर अनुगमन र खबरदारी उपलब्धिको रक्षको लागि जरुरी छ । नेपाली जनताले सदियौँदेखि उठाएका नेपाल भारतसँगका सम्बन्धित पेचिला मुद्दाहरूले सविस्तार भारतीय पक्षसँग राखिनु, भारतले विगतको कामलाई कमी भएको महसुस गर्नु नेपाल–भारत सम्बन्धमा नयाँ आयाम पनि हो । नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिनु , आपसी हित र चासोलाई हल गर्न सहयोगी हुने प्रतिबद्धताले ओलीलाई नेपालका सम्माननीय प्रधानमन्त्री मात्र होइन दक्षिण एसियाको सफल राजनेता सबैको पथप्रर्दशक बन्न सक्ने अवसर प्राप्त हुनेछ ।

प्रतिक्रिया