नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको तीन दिने राजकीय भ्रमण पूरा गरेका छन् । प्रधानमन्त्री ओलीको यो भ्रमणसँगै नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ । विगतका प्रधानमन्त्रीको भन्दा नितान्त फरक प्रकृतिको देखिएको ओलीको भ्रमण औपचारिकतामा मात्र सीमित रहेन । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेलगत्तै सुरु भएको प्रधानमन्त्री ओलीको व्यस्तता भ्रमण अवधिभर कायम रह्यो । आकस्मिक रूपमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वान टु वान वार्ताले भ्रमण चर्चाको शिखरमा पुग्यो । सामान्यतया नेपालका प्रधानमन्त्रीको भ्रमणलाई औपचारिकता मात्र मान्ने भारतीय दृष्टिकोणमा निकै ठूलो परिवर्तन देखिएको छ । त्यति मात्र नभएर भारतले पहिलोपटक नेपालसँग असल छिमेकीको सम्बन्ध देखाएको छ । संयुक्त वक्तव्यमा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा नयाँ युग सुरु भएको र नेपालको विकासमा भारतले जस्तोसुकै सहयोग गर्न तयार रहेको घोषणा गरे । मोदीले पहिलोपटक असल छिमेकीको भूमिका निभाएको यो भ्रमणबाट नेपालले प्राप्त गरेका उपलब्धिको कार्यान्वयन निर्धारित समयमा हुन सक्यो भने साँच्चै नेपाली जनताले नयाँ युगमा प्रवेश गरेको अनुभव गर्नेछन् ।
मोदीले ओलीसँग तीन दिनको अवधिमा दुईपटक भेटवार्ता गरे । नेपाली भाषाबाट सम्बोधन सुरु गरे । भारतीय प्रधानमन्त्री मोदीले नेपाल भूपरिवेष्ठित राष्ट्र नरहने उल्लेख गर्दै नेपालको पहुँच अब सगरमाथादेखि सिधै समुन्द्रसम्म हुने घोषणा गरे । मोदीको यो घोषणा कार्यान्वयन भएको अवस्थामा नेपालका लागि यो ऐतिहासिक उपलब्धि हो । भ्रमणकै क्रममा दुवै प्रधानमन्त्रीले मोतीहारी अमलेखगञ्ज क्रस बोर्डर पेट्रोलियम आपूर्ति पाइपलाइनको संयुक्त शिलान्यास गरे । पाइपलाइनको काम निर्धारित समयमा अघि बढ्न सक्यो भने इन्धनमा नेपालले ठूलै फड्को मारेको मान्नुपर्दछ । लामो समयदेखि चर्चामा रहेको पेट्रोलियम पाइपलाइनको काम तदारुकताका साथ हुन सक्ने हो भने नेपालले प्राप्त गरेको यो अर्को उपलब्धि हो ।  रक्सौलबाट काठमाडौंसम्म रेलमार्गले जोड्ने सहमति भएको छ । रेलमार्ग नेपाली जनाताको सपना हो । चीनसँग रेलमार्गको चर्चा चलिरहेको भए पनि भौगोलिक अवस्थाको कारण नेपालमा चीनबाट भन्दा भारतबाट रेलमार्ग हज्जारौँ गुणा सजिलो, नजिक र सस्तो पर्ने निश्चित छ । भौगोलिक अवस्थाकै कारण यो छिटो र नजिक पनि छ । त्यसकारण पनि ओलीको भारत भ्रमणमा नेपालले प्राप्त गरेको यो अर्को उपलब्धि हो । कृषिमा नयाँ साझेदारी भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणमा नेपालले प्राप्त गरेको उपलब्धिको मात्रा यसको कार्यान्वयन तहमा भर पर्दछ । भारतले यसअघि गरेका थुप्रै सम्झौता कार्यान्वयनमा लामो समयदेखि आलटाल गर्दै आएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र हुलाकी राजमार्गको अवस्था दोहोरिने अवस्था आउने हो भने यी उपलब्धि नेपाली जनताका लागि उपलब्धि नभएर घा“टीमा अड्किएको हड्डी मात्र हुनेछन् । भारतले साँच्चै असल छिमेकीको भूमिका निर्वाह गर्न खोजेको हो भने अहिलेको अवस्था उसलाई नेपालमा सहज पनि छ । किनकि, अहिले यसअघिको जस्तो राजनीतिक अस्थिरता र नौ महिने सरकार छैन । प्रधानमन्त्री ओली आगामी पाँच वर्षका लागि शक्तिशाली प्रधानमन्त्री हुन् । त्यसैले, भारतलाई आफ्नो वचन पूरा गर्ने र असल छिमेकीको भूमिका प्रदर्शन गर्ने उपयुक्त समय हो यो । यसलाई भारतले पनि भुल्नु हुँदैन र नेपालले पनि प्रधानमन्त्री ओलीको भ्रमण अवधिमा भएका सहमति कार्यान्वयनका लागि भारतलाई झकझक्याउन छोड्नु हुँदैन । त्यसो हुन सके मात्र नेपाली जनताले नेपाल नयाँ युगमा प्रवेश गरेको अनुभूत गर्नेछन् ।

प्रतिक्रिया