‘ढुक्क हुनोस्, नेपालको अहित वा नेपाली जनताले अपमान महसुस हुने कुनै पनि काम मबाट हुनेछैन, जे हुन्छ नेपाल र नेपालीकै हितअनुसार हुनेछ,’ नेपाली जनतासामु यही अठोट गरेर भारत भ्रमणमा जानुभएको थियो, प्रधानमन्त्री केपी शर्मा ओली । आइतबार साँझ भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्केका छन्, आफ्नो बाचालाई पूरा गरेर ।
संघीय संसदबाट तीन चौथाई बहुमतका साथ सरकारको नेतृत्व गरेपछि पहिलो विदेश भ्रमणका रूपमा भारत जानुभएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भारतको मात्र नभई विश्वकै ध्यान खिच्न सफल हुनुभयो । भारतीय मिडियाले पहिलोपटक नेपालको प्रधानमन्त्रीको भारत भ्रमणलाई भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाली मिडियामा आउने जसरी नै स्थान दिए ।
राष्ट्रप्रमुखकै हैसियतमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमण भन्दा पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणले भारतीय सरकार, राजनीतिक दल मात्र नभई आम नागरिकको ध्यान खिच्यो । राष्ट्रप्रमुखकै हैसियतमा कोइराला गएकोले प्रधानमन्त्री आफैँ विमानस्थलमा स्वागत गर्न आएका थिए, प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री नरेन्द्र मोदीपछिका सबैभन्दा वरिष्ठ रहेका गृहमन्त्री राजनाथ सिंहले इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
केही समयअघि मात्रै नाकाबन्दीको सामना गरेको र नाकाबन्दीबिरुद्ध सतीसालझैँ खडा भएर उभिएका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कस्तो व्यवहार गर्लान् ? कतै हाम्रा स्वाभिमानी प्रधानमन्त्रीको जानेर वा अञ्जानमै भए पनि अपमान त नहोला ? हिजोको तुष कायम रहला कि भन्ने आम आशंका थियो । कर्मचारी तहबाट नेपालका राजनीतिक दलसँग व्यवहार गर्ने भारतको पुरानो नीतिलाई बदल्न लगाएर राजनीतिक तहमा पुर्याएका ओलीले कतै त्यसैको प्रतिफल केही अपमानपूर्ण व्यवहार झेल्नुपर्ने हो कि भन्ने आशंका पनि स्वाभिमानी नेपालीमा थियो ।
नेपालबाटै लगानी गरेर नयाँ दिल्ली पुर्याइएका दुतहरू थुप्रै रहेका वेला सानो अपमान वा गल्ती पनि ठूलै रूप धारण गर्ने अवस्था थियो । ‘नेशन फस्ट’को नीतिमा अविचलित प्रधानमन्त्री ओलीको पहिलो सत्तारोहनको क्रममा भारतीय समकक्षीसँगको कटुतापूर्ण सम्बन्ध रहेको आम नागरिकको बुझाइका कारण आशंकाहरू स्वभाविक थिए । प्रधानमन्त्री ओलीको भारत भ्रमणले ती सवै आशंकाहरू दूर गरेको छ । पहिलोपटक नेपालको प्रधानमन्त्री नेपालको हितबाहेक अरू कुनै पनि काम नगरी स्वदेश फर्किएका छन् ।
प्रमुख प्रतिपक्षी दलले समय ‘नेपालको हितमा भएको काम स्वागयोग्य छ’ भन्ने धारणा सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिक हो भन्नेमा कुनै दुविधा गर्नुपर्ने अवस्था रहेन । नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक मोडमा पुगेको प्रष्ट सन्देश भ्रमण अवधिमा प्रधानमन्त्री ओली र मोदीको अभिब्यक्तिबाटै आइसकेको छ । भ्रमणमा काठमाडौंलाई सीमावर्ती क्षेत्रसँग रेलमार्गले जोड्ने नेपाली योजनामा भारतले सहमति जनाएको छ । काठमाडौंबाट भारतको सीमावर्ती क्षेत्र रक्सौलसँग जोड्ने गरी रेलमार्ग निर्माण गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच दिल्लीमा शनिबार भएको औपचारिक भेटवार्तापछि जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ९ मा रेलमार्गको सहमतिलाई उजागर गरेको छ । सहमतिको सो बुँदामा उल्लेख भएका ‘भारत–नेपाल : कृषिमा नयाँ साझेदारी, रेल लिंकहरू विस्तार गर्दै रक्सौललाई नेपालको काठमाडौंसम्म जोड्ने र भारत र नेपालबीच ‘इनल्यान्ड वाटरवेज’को माध्यमबाट नयाँ कनेक्टिभिटीको सिर्जना गर्ने’ विषयले नेपालका प्रधानमन्त्री ओलीले कुन हदको तयारीसहित भारत भ्रमणमा गएका रहेछन् भन्ने प्रष्ट पारेको छ ।
नेपालको समृद्धि र सुखी नेपालीबाहेक अरू केही सोचाइ र सपना हाम्रा प्रधानमन्त्रीमा छैन, भन्ने बुझन यी विषय काफी छन । सहमतिमै भारतले एक वर्षभित्र रेलमार्गको प्रारम्भिक सर्वेक्षण पूरा गर्ने र भारतकै आर्थिक सहयोगमा निर्माण हुने उल्लेख गरिएको छ । यो सहमतिले नेपालको राजधानी काठमाडौंलाई रेल सञ्जालमा जोडने सपना पूरा हुने देखिएको छ । अहिले न्यु जलपायुगुडी–काँकडभिट्टा, नौतन्वा–भैरहवा, नेपालगञ्ज रोड–नेपालगञ्ज, जयनगर–बिजलपुरा–बर्दिवास र जोगवनी–विराटनगर रेलमार्गमा काम भइरहेको छ ।
जयनगर–जनकपुर र कुर्था–जोगवनीबाट विराटनगर जोड्ने काम सन् २०१८ भित्रै सकिने संयुक्त वक्तव्यमा उल्लेख छ । उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाटसमेत काठमाडौंसँग रेलमार्गले जोड्ने तयारी अघि बढिरहँदा दक्षिणी छिमेकी मित्रराष्ट्र भारतसँगको यो सहमति नेपालका लागि अत्यन्तै फलदायी छ । आफ्नो भनाइ र गराइमा कुनै दूरी नराख्ने प्रधानमन्त्री ओलीले भारतसँग उच्चतहको मित्रवत सम्बन्धसहित सहकार्य र विकासमा साझेदारीको योजनामा सहमत गराएका छन् ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणकै बेला नेपालको चीनसँगको सम्बन्ध र ‘ओबर’मा नेपालको सहभागिताको औचित्यता पुष्टि गर्न खोज्नु आफैँमा परिपक्व कुटनीति र सही सम्बन्धको आधार हो । यस विषयमा कुरा नचपाई दिल्लीमै गएर भन्नु राम्रो हो । प्रधानमन्त्री ओलीले त्यही काम गरेका छन् । कृषि क्षेत्रसँग सम्बन्धित विषयको सहमति पनि भ्रमणमा भएको छ ।
‘कृषिमा नयाँ साझेदारी’ नाम दिइएको समझदारीमा कृषि उत्पादन बढाउन प्रविधिको सहयोग आदान प्रदानका साथै अनुसन्धान, तालिम, पशुपालन, फार्मिङ, माटो परीक्षण आदि विषयहरूलाई समेटिएका छन् । कृषि प्रधान देश नेपालको अवस्था बुझेरै प्रधानमन्त्री ओलीले आधुनिक प्रविधिमार्फत आत्मनिर्भर मुलुक बनाउन भारतसँग आवश्यक सहयोग आदान–प्रदानको सहमति जुटाएका छन् । सगरमाथाको देश नेपाललाई समुन्द्रसम्म पँहुच पुर्याउन पनि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक बनेको छ ।
ल्यान्डलक कन्ट्री नेपाललाई मुलुकको समग्र विकासका लागि समुन्द्रसम्मको सदावहार पहुँच अति आवश्यक थियो । जसमा प्रधानमन्त्री ओलीले भारतलाई सहमत गराई अब नेपाली पानीजहाज चलाउने ढोका खोलेका छन् । विगतमा चिसिएको सम्बन्धलाई पनि भ्रमणले सुधार गर्दै मित्रतामै रमाउने, एकले अर्काको भावना बुझ्ने विन्दुमा पुर्याएको छ ।
जननिर्वाचित संविधानसभामार्फत बनेको नेपालको संविधानलाई संशोधनको मुद्दा उठाउँदै आएका भारतीय प्रधानमन्त्री मोदीले यसपटकको भ्रमणमा नेपालको आन्तरिक मामिलामा बोल्नु उचित होइन रहेछ भन्ने मान्यता प्रटक गरे । पहिलोपटक नेपालको आन्तरिम मामिलामा नबोल्ने नीति लिएर मोदीले प्रधानमन्त्री ओलीको लाइन सही रहेको स्वीकारोक्ति गरे ।
दक्षिण एसियामा सबैभन्दा प्रभावशाली मानिएका दुई प्रधानमन्त्रीको यो सहमतिले मित्रताका धेरै पाटाहरूलाई उजागर गरेको छ । नेपाल र भारतबीचको सम्बन्धलाई कसैले गिजोल्न वा बिगार्न सक्दैन, एकले अर्काको संवेदनशीलता बुझ्न सक्छन र बुझ्छन् भन्ने सन्देश पनि यस भ्रमणका क्रममा आएको छ । संविधानको मुद्दा छाडेर भारतका प्रधानमन्त्रीले समावेशी विकासको पक्षमा उभिएको भ्रमणको क्रममा आएको सहमतिले प्रष्ट गरेको छ ।
सहमतिको बुँदा–५ मा भनिएको छ, ‘सबैको साथ, सबैको विकास’ को नाराअनुसार भारत समावेशी विकास र समृद्धिको साझा दृष्टिका लागि आफ्ना छिमेकीहरूसँग भारतको सम्बन्धको एक महत्वपूर्ण ढाँचा हो भन्ने कुरा भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनपछि सरकारले आर्थिक परिवर्तनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई आफ्नो सरकारले प्राथमिकता दिएको कुरा बताए । प्रधानमन्त्री मोदीले नेपाली जनता र नेपाल सरकारलाई यो सफलताको लागि बधाई दिनुभएको छ ।’
नेपाल र भारतबीचको सम्बन्ध बिगार्दै आफ्नो दुनो सोझ्याउन पल्केकाहरूका लागि यो सहमतिले कुनै ठाउँ नरहेको प्रष्ट पारको छ । ‘दुवै देशका प्रधानमन्त्रीले व्यापकरूपमा दुई देशबीच रहेको बहुमुखी सम्बन्धको विस्तार गर्ने विषयमा समीक्षा गर्नुभयो । उहाँहरूले दुवै देशका सरकारी, निजी क्षेत्र र जनताको स्तरबीच बढ्दो साझेदारीको स्वागत गर्नुभयो । दुवै प्रधानमन्त्री समानता, आपसी भरोसा, सम्मान र लाभको आधारमा सम्बन्धलाई नयाँ उचाइमा उठाउन एकसाथ काम गर्न सहमत भएका छन्,’ संयुक्त वक्तव्यको बुँदा–२ को यो भनाइलाई राम्ररी अध्ययन गर्दा भ्रमण कति ऐतिहािसक रह्यो भन्ने थप दिमाग लगाइरहनुपर्दैन ।
यस्तै, बुँदा–३ को ‘नेपाल–भारत सम्बन्ध बलियो साझा ऐतिहासिक, सांस्कृतिक आधारमा बनेको स्मरण गर्दै दुई प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धको सिमानामा नियमित र उच्चस्तरको राजनीतिक आदानप्रदानको महत्व रहेको कुरामा सहमति जनाएका छन्’ भन्ने विषयले पनि पहिलोपटक भारतका प्रधानमन्त्रीलाई आफ्नो कुरामा सहमत गराउन सक्ने एक मात्र प्रधानमन्त्रीका रूपमा ओलीले आफूलाई उभ्याएका छन् । ओलीको यो भूमिकासँगै अब एकविरुद्ध अर्काे कार्ड प्रयोग गर्नै बाटो पनि बन्द भएको छ ।
दुई देशका सरकारबीच राजनीतिक तहमा सिधा सम्बन्धको विकास गर्ने निष्कर्षमा दुवै प्रधानमन्त्री पुगेको सन्देश यो बुँदाले दिएको छ । यस्का साथै भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारको प्राथमिकताअनुसार नेपालसँग आफ्नो साझेदारी बलियो बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको बताएर अब कुनै प्रकारको बिचौलियाको काम नरहेको सन्देश दिएका छन् । नेपाल सरकारको प्राथमिकतामा साझेदारीको अठोटलाई व्यवहारमा कार्यान्वयन गर्न साथ नेपाल–भारतबीच सम्बन्ध कसैले बिगार्न नसक्ने तहमा पुग्नेछ । भारतमा प्रधानमन्त्री ओलीले सबै नेपालीको सान बढाए, तर उनले गरेका ती सबै काम नेपाली जनतासम्म जस्ताको तस्तै पुर्याउने काम हुन सकेन ।
प्रधानमन्त्रीका जति पनि सल्लाहकार र सहयोगी भ्रमणमा गए, उनीहरूले प्रधानमन्त्रीको कामभन्दा आफ्नो विज्ञापनमा रमाउँदा नेपाली मिडिया भारतीय पक्षकै सहारा लिन बाध्य हुनुपर्यो । आफ्नो प्रधानमन्त्रीले भारतमा देशको शिर उच्च बनाइरहँदा भ्रमण दलमा रहेको सहयोगी टिम निकम्मा बन्दा नागरिकले प्रधानमन्त्रीले भारतमा गरेको नेपालको सच्चा प्रधानमन्त्रीको भूमिकालाई आफ्नो आँखाले हेर्नै पाएनन् । भ्रमणको क्रममा ओलीले मोदीलाई आफ्नो बाटोमा सहमत गराउने ऐतिहासिक काम गरे, तर प्रचारमा भने मोदी नै हावी भए ।
आफ्नो काम के हो भन्ने मेसो नपाउँदा नेपाली टिमले प्रधानमन्त्रीले देशका लागि गरेको ऐतिहासिक कामलाई आफ्नो नागरिकसम्म पुर्याउने चाहना राखेन । प्रधानमन्त्रीका निकट सहयोगीहरूको बुझाइमा ‘प्रधानमन्त्रीले समकक्षीलाई नेपालको कुरामा सहमत गराए, भारतीय मिडियाले पहिलोपटक नेपालको प्रधानमन्त्रीको भ्रमणलाई उच्च महत्व दिए । अर्थात् प्रधानमन्त्री ओलीले आफ्नो छोटो समयको भ्रमणमा भारतीय सरकारदेखि जनतासम्मको ध्यान आफूतिर तान्नुभयो । तर प्रधानमन्त्रीलाई सहयोग गर्न गएका सहयोगी टिमको भूमिका भ्रमण अवधिभर कहीँ कतै देखिएन । भ्रमणमा जाने सबैले प्रधानमन्त्री ओलीको कामलाई उजागर गर्न कहीँ कतै भूमिका खेलेनन् ।’
प्रतिक्रिया