समृद्धिको बाधक वित्तीय चुनौती


वित्तीय क्षेत्रमा विद्यामान चुनौती न्यूनीकरण गर्न राज्य सक्षम नभएसम्म तीव्र आर्थिक प्रगतिको लक्ष्यमा पुग्न असम्भव छ । वित्तीय क्षेत्रका चुनौती यथावत रहे भने अन्य क्षेत्रमा पनि चुनौति बढ्छन् । यतिवेला मुलुकका सबै क्षेत्रमा चुनौती बढ्नुको कारण यही हो । वित्तीय व्यवस्थापनको कमजोरीका कारण उत्पन्न हुने चुनौतीलाई न्यूनीकरण गर्न योग्य एवं दक्ष व्यवस्थापकको खाँचो हुन्छ ।

जसको अभावमा सम्पूर्ण वित्तीय संरचनामा माथि नै प्रश्न चिह्न लाग्न जान्छ । पुँजी निर्माणजस्तो महत्वपूर्ण कार्यमा न्यूनता आई आर्थिक तरलताले जरो गाड्ने सम्भावना रहन्छ । व्यवस्थापन पक्षको अर्कमण्यताको प्रभाव कर्जाको क्षेत्रमा पनि पर्छ । परिणामतः कर्जा असुली तोकिएको समयमा हुन सक्दैन ।

हरेक आर्थिक कारोबार गर्ने क्षेत्रमा गलत नियत राख्ने तत्वहरू सुक्ष्म रूपमा हाबी हुन्छन् । कर्जाग्राहीसमेत तिनै समूहको अनुचित स्वार्थमा फस्छन् । खराब नियतका साथ धितो स्वरूपका चलअचल सम्पत्तिको न्यून मूल्यांकन गर्ने कार्यमा कर्जा प्रवाहकै समयमा हुन्छ । यो गलत व्यवहार कारण कर्जा समायोजनमा गम्भीर समस्या उत्पन्न हुन्छ । साथै अपराधिक समूहको घेराबन्दीमा पर्न सक्ने सम्भावनाहरू रहन्छ ।

दैनिक रूपमा वित्तीय कसुरसम्बन्धी अपराध अभिवृद्धि भएका घटनाले यस तथ्यलाई प्रष्टाउन थप मद्दत पुगेको छ । कतिपय अवस्थामा वित्तीय समूहले कर्जाग्राहीको प्रत्यक्ष हितलाई नजरअन्दाज गर्दै कर्जा लिँदाको बखतमा गरिएको शर्तनामाको समेत उल्लंघन गर्छन् । प्रविधिगत विशेषताका कारण कर्जाग्राही मर्कामा पर्छन् । धितो स्वरूप राखिएका चलअचल सम्पत्तिको सुरक्षामाथि नै चुनौती थपिन्छ । व्यक्तिगत एवं संस्थागत कर्जालाई न्यून मूल्यांकनमा सकार्ने नियतवश कतिपय वित्तीय समुदायमा देखिने खराब परिसूचकलाई समयमा नै न्यूनीकरण गर्न सकिएन भने ठूलो संकट उत्पन्न हुन्छ ।

वित्तीय साखमा तुरुन्तै ह्रास आउँछ । एकातिर कर्जाको न्यून मूल्यांकन र अर्कोतर्फ कुनै कारणवश धितो सकार वा लिलामगर्ने परीस्थिति निर्माण भयो भने ठूलो झमेला उत्पन्न हुन्छ । लामो कानुनी प्रक्रियाले गर्दा अल्पकालीन अवस्थामा धितो व्यवस्थापन हुन नसकी ब्याज समायोजन गर्ने कार्यमा अवरोध आउँछ । साथै लिलामी प्रक्रिया समेतमा विलम्ब हुन गई समस्या चुलिन्छ । यदि व्यवस्थापकीय चुनौतीको रूपमा रहेको खराब परिसूचकलाई यथा समयमा नै सुधारका उपायहरू अपनाई न्यूनीकरण गर्न सकिएन भने संकट निश्चित हुन्छ ।

निकट भविष्यमा आर्थिक कारोबार गर्ने क्षेत्रमा आर्थिक अराजकता, ढिलासुस्ती, कमिसनतन्त्रको अलाबा सम्बन्धित क्षेत्रलाई नै ह्रासोन्मुखतामा धकल्छ । यस प्रवृत्तिले आर्थिक समृद्धिको लागि लिइएको लक्ष्यमा अवरोध उत्पन्न हुन्छ । यदाकदा कमिसनतन्त्रको खेलमा आफू अनुकूलको हुने गरी अन्य वित्तीय क्षेत्रमा कर्जाग्राहीलाई कर्जा प्रवाहका लागि हौसाउने खराब तत्व पनि हाबी हुन्छन् । यस्तो व्यवहारका कारण अस्वस्थ्य आर्थिक प्रतिस्पर्धा मौलाउनुको साथै थप चुनौती झेल्न बाध्य रहनुपरेको छ ।

यसै प्रवृत्तीको कारण ग्राहक–वित्तीय समूहमा विश्वास घट्छ । नकारात्मक प्रभावको चाप बढन जान्छ । विषेशगरी वाणिज्य बैंकहरूको तुलनामा विकास बैंक वा सहकारी समूहले सम्बन्धित क्षेत्रलाई दिवालिया घोषित गरी ऋणी तथा आमजनसमुदायको चल–अचल सम्पत्तिको सुरक्षामा गम्भीर प्रश्न चिह्न लगाएको कैयौँ उदाहरण हाम्रै समाजमा पनि वेलाबखतमा देखिने गरेका छन् । वित्तीय शैक्षिक जागरणको अभाव अर्को चुनौती हो ।

कानुनी उपचार प्रक्रियाको बारेमा सहज जानकारी नहुँदा समस्या उत्पन्न भएको देखिएको छ । न्यायका लागि संकोच मान्ने नेपालीको मनोवैज्ञानिक त्रास पनि एउटा समस्या हो । जसका कारण गलत एवं अनैतिक गतिविधिलाई अगाल्ने समूहको बढोत्तरी हुँदै गएको हो । यस्ता गलत अपराधजन्य समूहको घेराबन्दीबाट कसरी वित्तीय समूहलाई पृथक राख्ने ? यो समस्या नै प्रमुख चुनौतीको रूपमा देखापरेको छ । आर्थिक कार्य गर्ने हरेक समूहमा यो समस्या रहेको पाइन्छ ।

नेपाली समाजमा स्वच्छ बैंकिङ जागरणका लागि सम्बन्धित निकायलगायत मुलुकको केन्द्रीय बैंकले सचेतता अभिमुखीकरण कार्यक्रम ल्याउनु जरुरी छ । सही सूचनाहरू सम्प्रेषण गर्नु जरुरी छ । यस्ता कार्यक्रमले वित्तीय अपराध न्यूनीकरणलाई प्रोत्साहन गर्छन् । जसका कारण वित्तीय समूहमा स्वच्छ आर्थिक कारोबारको अभिवृद्धि भई यथोचित लाभ हासिल गर्न सहज हुनेछ । वित्तीय क्षेत्रमा कायम रहेको गलत व्यवहारलार्ई चुनौतीको उपमा दिन सकिन्छ ।

वित्तीय क्षेत्रको सुरक्षा एवं विश्वसनीयताको कसिमा घातक सावित हुन सक्ने छिद्रहरूलाई वेलावेलामा सार्वजनिक गर्नु जरुरी छ । बैंकिङ सुरक्षाको सन्दर्भमा चेकको सुरक्षालाई पनि महत्वपूर्ण मान्नुपर्ने हुन्छ । तर, कतिपय अवस्थामा नेपाली परिवेशमा आफ्नो विश्वासी व्यक्तित्वसामू खाली चेकमा हस्ताक्षर गरेर छोड्ने प्रवृत्तिले कहिलेकाहीँ गम्भीर आर्थिक अपराध गर्न थप मद्दत पुग्ने गरेको देखिन्छ ।  यस प्रकारका गतिविधिबाट मुक्त रहन सम्बन्धित व्यक्ति नै सजक रहनुपर्छ ।

समयमा नै विशेष हेक्का राख्ने प्रयत्न गरिएन भने सम्भावित आर्थिक हानिनोक्सानीको भागिदार वित्तीय समूह नभई स्वयं ग्राकहवर्ग नै हुने कुरालाई अन्यथा लिन मिल्दैन । किनकी शिक्षित व्यक्तिबाटै नजानिँदो किसिमले यस्ता गलत क्रियाकलापमा हुने गरेको पाइन्छ । जुन अवस्थालाई बैंकिङ सुरक्षा संवेदनशीलताको कसिमा निक्कै खतरा मान्न सकिन्छ ।आर्थिक सुधार आफैँ हुने कुरा पक्कै पनि होइन ।

आर्थिक सुधारका लागि सम्बन्धित मुलुकमा बसोवास गर्ने नागरिकहरूको आर्थिक स्थिति, शैक्षिक जागरण एवं सुरक्षासम्बन्धी अवधारणामा अभिवृद्धि गर्नु अत्यन्त जरुरी छ । सहकारी निकाय, विकास बंैक एवं अन्य बैंकिङ अवधारणा अनुरुपको कार्य गर्ने समुहलाई बित्तीय नियमको परिधीमा अनुबन्धित गर्दै नियन्त्रण गर्नु अत्यन्त जरुरी भइसकेको छ । यस्ता क्रियाकलापबाट निःसन्देह मुलुकमा आर्थिक शुद्धता कायम रहन गई वित्तीय अपराधमा न्यूनता आउनुको साथै अपराधजन्य मनस्थितिमासमेत कमी आउनेछ ।

त्रास एवं संकोचजनक सुधारका लक्षणहरू आफैँ प्रतिस्थापन हुने हुँदा समयमै ध्यान पुर्याई सकारात्मक कदम चाल्नु अपरिहार्य भइसकेको छ । यसैगरी वित्तीय पहुँचबाट अलग रहन पुगेको नेपालको करिब४० प्रतिशत जनसमूहबारे राज्यको ध्यान जाने आवश्यक छ । यसबाट एकातिर वित्तीय क्षेत्रको क्षेत्राधिकारमा अभिवृद्धि हुन जानेछ भने अर्कोतर्फ नागरिक धनको पूर्ण सुरक्षाको प्रत्याभूति प्रदान गर्न सम्भव रहन्छ ।

जसका लागि सम्पूर्ण आर्थिक क्रियाकलापहरू बैंकिङ प्रणालीमा आवद्ध रहेर गर्ने व्यवहारको विकास हुनु अत्यावश्यक छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकअनुसार मुलुकमा वित्तीय साक्षरताको अवस्था १८ प्रतिशतमा सीमित रहेको छ । जसलाई निक्कै दयनीय अवस्था मान्न सकिन्छ । आज २१आैँ शताब्दिको युगमा मुलुकभित्र प्रस्तुत अवस्था कायम रहनु भनेको निश्चय पनि अघोषित रूपमा सीमित व्यक्तित्वलाई नै आर्थिक कार्य गर्न प्रोत्साहन दिनु हो ।

यस्ता क्रियाकलापले आर्थिक अपराधलाई नै प्रत्यक्ष वा परोक्ष सहयोग गर्न थप बल पुग्नेछ । मुलुकको वित्तीय क्षेत्रमा रहेका तमाम चुनौतीलाई चिर्दै आर्थिक सुरक्षाको कसौटीमा अब्बल रहने प्रयत्न गर्ने हो भने अवश्य पनि आफ्नो अमूल्य ग्राहकको माया एवं विश्वास जित्न सकिन्छ । वित्तीय व्यवस्थापन कुशल भए मात्रै आर्थिक कारोबार गर्ने समूहले आशातित सफलता हासिल गर्दै मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याउन सक्छन् । वित्तीय समूहको प्रत्यक्ष सहभागिताविना आर्थिक विकासले समयानुकूल फड्को मार्न असम्भव छ ।

प्रतिक्रिया