बाँकेको नरैनापुर डुबानको जोखिममा

सीमाक्षेत्र दशगजा नजिकै पूर्व–पश्चिम समानान्तर हुने गरी सडकको नाम दिएर भारतले निर्माण गरेको बाँधका कारण बाँके जिल्लाका चार वटा खोलाहरू थुनिने अवस्था सिर्जना भएको छ । वर्षा लाग्नेबित्तिकै खोलाहरू थुनिने भएकोले बाँके जिल्लाका दक्षिणी भेगका वासिन्दा आतंकित बनेका छन् । नरनैनापुर गाउँपालिकाका–१ देखि ६ नं वडाभित्र पर्ने सबै गाउँहरू वर्षा लाग्नेबित्तिकै डुबानमा पर्ने भन्दै स्थानीय जनताले उक्त बाँध भत्काउनुपर्ने माग राखेका छन् । भारतद्वारा विगतमा बनाइएको यस्तै प्रकृतिको लक्षमणपुर बाँधका कारण हरेक वर्ष त्यस क्षेत्रका जनताले डुबानको समस्या झेल्दै आएका छन् । अब आफूहरूले पनि त्यही अवस्था बेहोर्नुपर्ने अवस्था आएपछि नरैनापुर क्षेत्रका वासिन्दा आतंकित बनेका हुन् ।
बाँके क्षेत्रमा मात्रै होइन भारतसँग सीमा जोडिएका तराईका सबै जिल्लाका दक्षिणी भेगका जनता भारतले बनाएको बाँधका कारण डुबानको जोखिममा छन् । विगत केही दशकदेखि हरेक वर्ष तराईमा डुबानको समस्या देखिँदै आएको छ । तत्कालीन उद्धार तथा राहतका लागि मुलुकको ठूलो धनराशि खर्च हुन थालेको छ । सीमाक्षेत्रमा गस्ती गर्न सडक आवश्यक भएको भन्दै भारतले दशगजा भन्दा केही मिटर दक्षिणमा नेपाली सिमानाको समानान्तर हुने गरी १० मिटर अग्लो र २० मिटर फराकिलो सडक निर्माण गरिरहेको छ । जुन सडक सीमा क्षेत्रका नेपाली जनताका लागि काल बनेको छ । स्थानीयवासीका अनुसार सडक भनिए पनि वास्तवमा त्यो बाँध हो । आफ्नो क्षेत्रमा बाढी नियन्त्रण गर्ने रणनीतिका साथ भारतले सडकको नाम दिएर नेपाली सीमाक्षेत्र नजिकै बाँध निर्माण गरेको हो । स्थानीय जनताको दबाब पछि विगत दुई दशकदेखि नेपालले भारतसमक्ष यो समस्या उठाउँदै आएको छ । तर, सुनुवाइ भएको छैन । डुबानको समस्याले नेपाल–भारतबीचको सम्बन्धलाई कटुतामा परिणत गर्ने सम्भावना देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको यही २३ चैतदेखि भारतको तीन दिने राजकीय भ्रमण हुन गइरहेको छ । यो भ्रमणका क्रममा तराईको डुबान समस्याबारे प्राथमिकताका साथ छलफल हुनु जरुरी छ । साथै डुबान समस्या समाधानको लागि ठोस परिणाम आउनु जरुरी छ । तराईको डुबान समस्यालाई भारतले पनि साझा समस्याका रूपमा लिनुपर्छ । वर्षायाम सुरु हुने बित्तिकै तराईको अधिकांश भू–भाग डुबानमा पर्नुका मुख्य दुई वटा कारण छन् । एउटा कारण त भारतद्वारा सीमाक्षेत्रमा निर्माण गरिएको बाँध नै हो । अर्को कारण नेपालको चुरे क्षेत्रको अत्यधिक दोहनका कारण खहरेहरूको सतह आसपासको जमिनभन्दा अग्लो हुँदै जानु हो । नेपाल–भारतबीचको सहकार्यबिना यी दुई समस्या समाधान हुन सक्दैनन् । अन्तर्राष्ट्रिय सीमा भएका कारण गस्तीका लागि सडक निर्माण गर्नु भारतको आवश्यकता हो । सकेदेखि नेपालले पनि सीमा क्षेत्रमा दशगजाको समानान्तर हुने गरी सडक निर्माण गर्नुपर्छ । यसरी निर्माण हुने सडकले तस्करी तथा अवैध आवतजावतलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ । खुला सिमाना भएका कारण सुरक्षाकर्मीको गस्तीका लागि सडक निर्माण अपरिहार्य छ । तर, सडक बनाउँदा हानि नोक्सानी नहोस् भन्नेतर्फ सावधानी अपनाउनुपर्छ । पुल र कल्भर्टको पर्याप्त व्यवस्था गर्ने हो भने वर्षाको बाढीले निकास पाउँछ । तर, यतिवेला भारतले बनाएको सडकमा पुलको व्यवस्था गरिएको छैन, कल्भर्टहरू पनि नाम मात्रैका छन् । चुरेको दोहनका कारण एक÷दुई वर्षभित्रै नदी तथा खहरेहरूको पिँधको सतह आसपासको जमिनभन्दा माथि पुग्ने गरेको छ । जसका कारण हरेक दुई या तीन वर्षमा नदी तथा खहरेहरूले आफ्नो मार्ग परिवर्तन गर्ने गरेका छन् । जसले गर्दा सडकमा निर्माण गरिएका पुल तथा कल्भर्टहरू प्रयोजनविहीन हुने गरेका छन् । यो समस्या समाधानका लागि चुरेको दोहन रोक्नु पहिलो आवश्यकता हो । तर, चुरे क्षेत्रको गिट्टी तथा बालुवा भारत तस्करी हुने क्रम रोकिएको छैन । यसका लागि भारतको सहयोग जरुरी देखिएको छ । नेपाललाई आइपर्ने समस्या भनेको आफ्नो पनि समस्या हो भन्ने हेक्का भारतले राख्नुपर्छ । अन्तर्राष्ट्रिय प्रचलन तथा मानवीयताका नाताले पनि भारतले यस्ता काम तत्काल बन्द गर्नुपर्छ । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका क्रममा डुबानको समस्या समाधान गर्न ठोस पहल गरून् भन्ने जनताको चाहना छ ।

प्रतिक्रिया