बुद्ध र बुद्ध दर्शनको उद्भव थलो नेपालको शान्ति अभियान

हामीले बुद्धलाई साक्षी राखेर कसम खानु पर्दछ, अब नेपाल माग्नेको देश हुँदैन । हामी हाम्रा भौतिक पूर्वाधार आफैं बनाउँछौँ । विद्यालय खेल मैदान र खानेपानी आफैं बनाउँछौँ । बालबालिका, वृद्धवृद्धा, महिला र सीमान्तकृतहरूलाई सुरक्षित जीवन जिउने आधारभूत आवश्यकताको प्रत्याभूति दिन्छाँै । कोही अकालमा मर्ने छैनन् । भोको नांगो हुनेछैन ।

आनन्दप्रसाद पोखरेल
‘लुम्बिनी, नेपाल ः द बर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्टेन अफ बुद्धिजम’ भन्ने मूल नाराका साथ विद्वत परिषद् नेपालले १९ फागुनमा ७५ हजार मानिसको उपस्थितिमा एकैठाउँबाट बुद्धको वाणी धम्मपदलाई सस्वरवाचन गरी विश्व कीर्तिमान कायम गरेको छ । नेपालका सबै राजनीतिक दलका सदस्यहरू, विद्यालय तथा विश्व विद्यालयका विद्यार्थी, विभिन्न बुद्धमार्गी, हिन्दूमार्गी संघ संस्थाका सदस्यहरू, कलाकार, लेखक, सांस्कृतिकविद, भिक्षु, सबै वर्ग तह र तप्काका सर्वसाधारण मानिसको उल्लेख्य उपस्थिति थियो । अर्काे शब्दमा देशभक्त, राष्ट्रभक्त, शान्तिको प्रवद्र्धक, मानवअधिकारकर्मी, समानता र न्यायको पक्षपोषकहरूको भव्य उपस्थितिमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त महत्वका साथ पाँच महत्वपूर्ण विषय उठान गरे ।

पहिलो ः बुद्ध दर्शनको उद्भवको ऐतिहासिकता, दोस्रो ः नेपालको पहिचान र आत्मस्वाभिमानकको अभिव्यक्ति, तेस्रो ः २१औँ शताब्दीमा सबै तत्थ्यले पुष्ठी गरिसकेको अवस्थामा बुद्ध जन्म र बुद्ध दर्शनको उद्भव नेपालमा भएको कुरामा विवाद नगर्न र विवादास्पद कुरा सच्याउन आह्वान, चौथो ः बुद्ध दर्शन भनेको नै शान्ति, सद्भाव, प्रेम र मानवतावाद भएकोले निहित स्वार्थपूर्तिका लागि सशस्त्र संघर्षमा होमिएर बालबालिकासहित जनताको नरसंहार नगर्न आह्वान र पाँचौँ ः परिवर्तित सन्दर्भमा बुद्धले देखेको समृद्ध नयाँ नेपालको खाका ।
नेपाल बुद्धको देश, सगरमाथाको देश, ऋषिहरूको तपोभूमि, देवभूमि, हिन्दू दर्शन र बुद्धदर्शन उद्भव थलो हो । हिन्दू दर्शनको मुख्यग्रन्थ वेद, उपनिषद्को सिर्जना यहीँ भएको थियो । योगको सुरुआत नेपालको हिमालयबाट शिवजीले गरेका थिए । यस पवित्र भूमिमा जन्मनु हामी सबैको गौरवको विषय हो । त्यसभन्दा पनि २ हजार ५ सय ६२ वर्ष अगाडि विश्वका शान्ति दूत भगवान् बुद्ध जन्मेको देश र मूभि हो ।

२१औं शताब्दीमा युनेस्कोले पूरातात्विक अन्वेषणबाट प्रमाणित गरेको, संयुक्त राष्ट्रसंघले अनुमोदन गरेको, सम्राट अशोकले स्थापना गरेको अशोका पिल्लर र चिनियाँ तीर्थयात्री हुयनसाङले आफ्नो यात्रा विस्तारमा समेत उल्लेख गरिएको अकाट्य प्रमाणित विषयलाई अझै पनि भ्रम छर्ने काम कहीँ कसैलाई सुहाउँदैन । विश्वभरिका सरकार, विद्यालय र विश्व विद्यालयका अनुसन्धान कर्ताहरूले सोच्नुपर्ने वेला आएको छ । सबैलाई आह्वान गरिन्छ कि आजैदेखि सबै विवाद र भ्रमको अन्त्य गरिनु पर्दछ ।

बुद्ध दर्शन भनेको बहुआयाम पक्षलाई संबोधन गर्ने दर्शन हो । बुद्ध दर्शन मान्नेहरूका लागि धर्म, मानवअधिकार र शान्तिको पक्षपातिका लागि शान्ति, समानता र न्यायको पक्षपातिका लागि न्यायको सिद्धान्त, संस्कृतिक रूपमा सम्मान गर्नेका लागि संस्कृति, समाज विकासको सिद्धान्त मान्नेलाई सामाजिक विकासको सिद्धान्त हो । एक वाक्यमाभन्दा न्यायपूर्ण समाजको सिर्जना गर्ने सिद्धान्त बुद्ध दर्शन हो । त्यसैले यो बहुआयामिक छ, शान्ति, सद्भाव, प्रेम, समानता, विकास र समृद्धिको दर्शन हो । यसले युद्ध र हिंसालाई अस्वीकार गर्दछ । दमन, अत्याचारलाई घृणा गर्दछ । मानिसको बाँच्न पाउने अधिकारको प्रवद्र्धनमा जोड गर्दछ । शु–शासनको प्रवद्र्धन र भ्रष्टाचारमुक्त समाजको अगुवाइ गर्दछ । त्यसैले आफ्नो दम्भ, घमण्ड र स्रोतमाथिको कब्जा गर्ने नियतले गर्ने गराउने युद्धको सशस्त्र होडबाजीको अन्त्यको आह्वान गर्दछ ।

यतिवेला सिरियालगायत विश्वव्यापी रूपमा भएका बालबालिकाको हत्या र आमनरसंहार भएको मानवको बाँच्न पाउने, खान र सुरक्षित बस्न पाउने बालपनको रक्षा र शिक्षा अधिकारबाट खोसिएको कुरा बुद्ध दर्शन र बुद्ध सिद्धान्त विपरीत छन् । हामी सबैखाले समस्या बुद्धको शिक्षा र धम्मपद भित्रबाट पाउने सक्छौँ । बुद्ध दर्शनको सुरुआत र उद्भव सिद्धार्थ गौतमको जन्म अघिदेखि नै भएको हो । यसअघि नै ६ वटा बुद्धले जन्म लिइसकेका छन् । उनीहरूमा तीन जना कपिलवस्तुमा नै जन्मेका थिए । बुद्ध दर्शनको विकासमा यी ६ वटा बुद्धको पनि योगदानलाई सम्झँदै नेपालको लुम्बिनी बुद्ध जन्मथलो मात्र होइन बुद्ध दर्शनको उद्भव थलो पनि हो । सिद्धार्थ गौतम केबल भौतिक शरीर मात्र जन्मेको नभई विशेष आध्यात्मिक शक्तिसहित जन्मेको भनेर बुद्ध दर्शनमा पाइन्छ ।

२९ वर्षको उमेरसम्म राजकुमारको हैसियतमा कपिलवस्तुमा आफ्नो अत्यन्त महत्वपूर्ण युवा अवधि बिताएका थिए । दरबारभित्र रहँदा नै सांसारिक दुःख, पीडा, जन्म, मृत्यु, धन, सम्पत्ति, परिवार, राजकीय शक्तिको बारेमा चिन्तन गर्दै यसको कारण खोज्ने समाजमा व्याप्त लोभ, चोरी, झुट बोल्ने, महिलाप्रतिको नकारात्मक व्यवहार गर्ने र मादकपदार्थको कुलतमा बिताउने समाजको विकृतिको विरुद्ध आवाज उठाउने र जनताको सुख शान्तिको लागि लाग्ने उनको चिन्तन दरबारभित्र बसेर, शासक भएर पारिवारिक धन र सुखसयलको मोहमा फसेर सम्भव हुँदैन त्यसका लागि सबै कुराको त्याग गरेर मात्र सम्भव छ भनी दरबारको सबै ऐसआराम त्याग गरी दरबारबाट निस्किन सक्नु नै बुद्ध दर्शनको उद्भव हो । जुन कुरा उनले ज्ञान प्राप्त गरँे भनेर बोधगयामा यिनै कुरा घोषणा गरेका थिए ।

हिजो बुद्धदर्शनको प्रादुर्भाव हुँदा संसार आजको जस्तो थिएन । खोज्ने र रेकर्ड राख्ने विधि थिएन । सुनेर, भोगेर, जानेर एकले अर्काेलाई पुस्तान्तरण गर्नुपर्ने थियो । त्यसैले उनको धेरै सच्याई दरबारभित्र लुकाएका थिए । किनभने सिद्धार्थ गौतमका पिता आप्mना छोरालाई चक्रवर्ती सम्राटको रूपमा देख्न चाहान्थे । दरबारभित्र सिद्धार्थ गौतमले हत्या, हिंसा, अन्याय, अत्याचार, शोषणका विरुद्ध गरेका कार्य तथा मानव मुक्तिका लागि गरेका संघर्ष बाहिर आउन दिइएन । दरबारभित्र बसेर संसारलाई परिवर्तन गर्न नसकिने अठोटका साथ बुद्ध ज्ञानको प्रचारका लागि दरबारबाट बाहिरिएको तथ्य तर्फ पनि ध्यान दिनु पर्दछ । त्यसैले यस्ता तत्थ्यहरूको अभावमा मानिसहरूले विवाद गर्ने अवसर पाएका छन् । अब सबै तथ्य बाहिर आएको छ ।

नेपाल विविधतायुक्त प्राकृतिक स्रोतका साथै धार्मिक र सांस्कृतिक स्रोतले पनि धनी छ । बौद्धिक सिर्जनशील अदम्य साहस बोकेका युवापंक्ति छ । जो श्रमप्रति विश्वास गर्दछ । आफ्नै गौरव र पौरखमा बाँच्न हामीसँग सामथ्र्य छ । तर, आज हामी श्रम बेच्न र अर्काको लागि मर्ने जाति भएका छौँ । हामी नेपालीलाई यो सुहाउँदैन । यो राष्ट्रको लज्जाको विषय हो । हामीले बुद्धलाई साँची राखेर कसम खानु पर्दछ, अब नेपाल माग्नेको देश हुँदैन । हामी हाम्रा भौतिक पूर्वाधार आपैmँ बनाउँछौँ ।

विद्यालय खेल मैदान र खानेपानी आपैmँ बनाउँछाँै । बालबालिका, वृद्धवृद्धा, महिला र सीमान्तकृतहरूलाई सुरक्षित जीवन जिउने आधारभूत आवश्यकताको प्रत्याभूति दिन्छौँ । कोही अकालमा मर्ने छैनन् । भोको नांगो हुने छैन । यो नेपाल र नेपालीको चाहना हो बुद्धको चाहना हो । नेपाली श्रम पराइलाई बेच्दैनन्, युवा विदेशीदैनन् । आफ्नो बुद्धि, क्षमता, सामथ्र्य मुलुकका लागि खर्चनेछन् । विदेशीका लागि ज्यान दिने छैनन् । हामीले कसम खानुपर्छ अब नेपालमा भष्ट्राचारमुक्त र सुशासनयुक्त मुलुक बनाउनु पर्छ ।

अहिले परिस्थिति फेरिएको छ । नेपालमा राजनीतिक अधिकार प्राप्त भइसकेको छ । अब नेपाल समृद्धिको यात्रातिर अगाडि बढ्दै छ । नेपाल सरकारले बुद्धको शिक्षा, दृष्टिकोण, मानव जातिमा भएको सबै खाले शोषण, दमन, अत्याचार, भोक, अशिक्षा, कुपोषण, अव्यवस्था, भष्टचारजस्ता कुराको अन्त्य गरेर नेपालको एकता, अखण्डता, सार्वभौमिकता, आत्मनिर्भरता र विकासको ढोका खोल्न सक्नु पर्दछ । नेपाल अब एकतावद्ध, सुदृढ, बलियो हुनुपर्दछ । जसबाट नेपाली समाजले प्रेम, शान्ति, सदभाव र समृद्धिको यात्रा पूरा गर्नेछ । आफ्नो खुट्टामा उभिनेछ । विकास निर्माण र उत्पादनमा अरूको मुख ताक्ने छैन ।

आप्mनै स्रोतको आधारमा पुर्खाले सुम्पेको यो सुन्दर, विशाल प्राकृतिक, धार्मिक स्रोतको प्रयोग गरी स्वाधीन आत्मा, निर्भर अर्थतन्त्रको निर्वाह गर्नेछ । समाजवादको यात्राबाट राज्यस्रोतमा सबैको पहुँच न्यायपूर्ण समाजको सिर्जना हुनेछ । नेपाल नेपालीले कहिल्यै पनि अरूको निम्ति बाँच्ने छैन । आप्mनो र आप्mनो मुलुकको लागि बाँच्नु छ । पसिना र बुद्धि आफ्नो र आफ्नो देशको लागि बगाउनेछन् । नेपाल अब मगन्ते परनिर्भर, भाडाको सिपाही जन्माउने मुलुक रहने छैन । विश्वमा नेपाल र नेपालीको अभियानले विश्व मानव समुदायको शान्ति, प्रेम, मानवअधिकार र समृद्धिको यात्राको नेतृत्व गर्नेछ, गर्नु पर्दछ । आज हाम्रो संकल्प यही हुनेछ । यही नै बुद्ध र बुद्ध दर्शनको उद्भव थलोका सन्तती भएको नाताले हामीहरूको दायित्व पनि यही हो । यस अभियानको सार्थकता पनि यही हो ।
(पोखरेल पूर्वमन्त्री हुन्)

प्रतिक्रिया