राईकरण गरिएको कुलुङ जातिको वास्तविकता

राई जाति नभएर विगतमा, खासगरी नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले दिएको पगरी/पदवी मात्रै हो भन्नेबारेमा सर्वसाधारणमाझ प्रष्ट हँुदै गएको देखिन्छ ।

निनाम लोवात्ती कुलुङ

नेपालका विविध जातजातिहरूमध्ये एक हो, ‘कुलुङ जाति ।’ तर, नेपाल सरकारको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भने हालसम्म कुलुङ जातिलाई छुट्टै जातिका रूपमा सूचीकृत गरिएको छैन । यसो हुनुमा ‘राई’ के हो ? कुलुङ के हो ? भन्नेबारेमा धेरै कुरा जनमानसमा थाहा नभएकोले पनि हो ।

तर, हाल धेरै हदसम्म राई जाति नभएर विगतमा, खासगरी नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले दिएको पगरी÷पदवी मात्रै हो भन्ने बारेमा सर्वसाधारणमाझ प्रष्ट हँुदै गएको देखिन्छ । फलतः पछिल्लोपटक ०६८ मा भएको राष्ट्रिय जनगणनामा विगतमा राई भनिएकाहरू मध्ये आठपहरिया, कुलुङ, बान्तावा, बाहिङलगायत १२ वटा जाति अलग्गै जातिको रूपमा आएका छन् ।

जे होस्, अब कुलुङ को हुन् ? कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ? उनीहरूको ऐतिहासिक थलो अर्थात् ऐतिहासिक भूमि छ÷छैन ? कुलुङहरू अन्य जातिसरह अलग्गै स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो÷होइन ? कुलुङको जनसंख्या कति छ ? कुलुङ मातृभाषी कति छन् ? आदि–इत्यादि बारे जान्ने प्रयास गरौँ ।

नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्नुपर्दा बाहुन नेपालको एउटा जात मानिन्छ भने बाहुनभित्र घिमिरे, निरौला, पाण्डे, पोखरेल, गौतम, हुमागाईं, सुवेदी, बराल, दाहाल आदि बाहुनको थरहरू हुन् । त्यस्तै कुलुङ भनेको पनि बाहुन भने जस्तै नेपालको जाति हो । कुलुङ जातिको पनि बाहुनभित्र विभिन्न थरहरू भए जस्तै विभिन्न थर/उपथरहरू छन् ।

जस्तै कुलुङ जातिभित्रको विभिन्न थरहरूमा थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ती, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, होङेलु, रिन्हो, छेन्हो, हिमार, पोखोती, होबेर्मीलगायत २ सय ६० वटाभन्दा बढी कुलुङ जातिभित्र थर÷उपथरहरू रहेका छन् ।

कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि साविकका गाविसका विभिन्न स्थानहरू हुन् । यी ठाउँलाई कुलुङहरू आफ्नो मातृभाषामा ‘मा कुलू’ भन्छन् भने कतिपय विदेशी लेखक तथा अन्वेषकहरू र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् ।

कुलुङको बाक्लो बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, इलाम, मोरङ, झापा र भारतको दार्जीलिङ, सिक्किम, आसाम लगायतका ठाउँहरू र भुटानमा छ । नेपालको तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, उदयपुर, सिराहा, कास्की, म्यग्दी, मुस्ताङ, खोटाङ, काठमाडांै, ललितपुर, भक्तपुर, मुस्ताङ, सिरहा, धनुषालगायत लगभग ४६ जिल्लामा पातलो रूपमा कुलुङ जातिको बसोवास रहेको छ ।

०६८ को जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३१ भएता पनि कुलुङको वास्तविक जनसंख्या कम्तिमा २ लाख ४० हजारभन्दा माथि हुन सक्ने, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कुलू गूसखोम), केन्द्रीय कार्यसमितिका महासचिव इन्द्र कुलुङ बताउँछन् ।

वास्तवमा राईकरणको मारमा परेका सबै किरातीहरूको तथ्यांक ०६८ को राष्ट्रिय जनगणनामा यसरी नै कम देखाइएको छ । ०५८ को राष्ट्रिय जनगणनामा त राईकरणको मारमा परेका कुनै पनि किराती जातिभित्रका अलग्गै जातीय तथ्यांक नै आएको थिएन । भाषाको भने अलग–अलग तथ्यांक आएको थियो । जस्तो ०५८ को जनगणनामा ते¥हथुम जिल्लामा एक जना पनि कलुुङ देखिएन । तापनि तेह्रथुम जिल्लामा कुलुङ भाषीको जनसंख्या लगभग १ हजार ५ सयको हाराहारीमा देखिन्छ ।

नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आफ्नै अलग्गै मातृभाषा छ । जसलाई उनीहरू ‘कुलु रिङ’ भन्छन् । जहाँका कुलुङ भए पनि कूलपितृ आदिमा कुलुङ जातिका मोप÷नोक्छोले कुलु रिङमै रिदूम (अरू किरातीहरूले मुन्धुम भन्छन्) फलाक्छन् । त्यस्तै ०५८÷५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारले पत्रपत्रिकामा त्यो वेला लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्तीलगायत अन्य कुलुङहरूको सक्रियतामा भाषाविद्हरू अमृत योन्जन–तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो ।

त्यस अनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिवद्ध गरिँदा दीर्घलाई ह«स्व मान्ने र दीर्घ जनाउँदा विसर्ग (ः) दिने वा ः चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ । कुलुङ जातिको अरू जातिको भन्दा भिन्न प्रकारको संस्कार–संस्कृतिहरू रहेको छ । जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पूर्खाले मूख्य भूमिका खेल्छन् ।

जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृत्युसंस्कार गर्दा मृतक (मृतआत्मा) को आत्मालाई महा कुलुङको पोम्लालुङ भन्ने ठाउँमा पठाउनुपर्छ । कुलुङ समुदायमा चलेको विश्वास मान्यताअनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाउँ छ । यो ठाउँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाउँ सोलुखुम्बु जिल्लाको बुङ गाविसमा पर्छ । यसरी मृत्युपछि आफन्तलाई पठाइने कुलुङहरूको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ हालको सोलुखुम्बु जिल्लाको गुदेल गाविसमा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्रस्थल मान्ने गर्छन् ।

विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रूपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरू दुईपटक विवाह गर्दछन् । पहिलो बिहेसम्म चेलीको मृत्यु भइहालेमा माइतीले नै काजक्रिया गर्नुपर्छ । दोस्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ ।

त्यस्तै कुलुङ जातिको आफ्नै जातीय पहिरन र गरगहनाहरू छन् । आफ्नै मौलिक बाजागाजाहरू पनि छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आपैmँले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने, स्थान र समयअनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाइदिने गरिन्छ । र, यसरी नुहाएपछि चोखो भएको मानिन्छ ।

मृत्यु संस्कारमा भने अकालमा मरेकाहरूलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्यूलाई कुलुङहरू ‘हिल्सी’ भन्छन् । स्वाभाविक रूपमा मृत्यु भएकाहरूलाई भने घु¥यान वा घर नजिकैको बारीमा गाडिन्छ । यसरी गाड्दा मृतकको खुट्टा अलिकति खुम्च्याउने चलन छ ।

कुलुङ जातिले मृत्युपछि मरेर जानेको नाममा सेतो लुगा लगाउने, नुन बार्ने, कांसा–तामा, मासु–मंस बार्ने गर्दैनन् । अझ, मूलथलोका कुलुङहरू मान्छे मरेकै दिन घरमा जे छ, त्यसैले चोखिन्छन् । तर, मूलथलो छाडेका कुलुङहरू भने अन्य जातजातिको देखासिकी र, त्यसो नगर्दा बहिष्कृत हुनुपर्ने र हेलोहोचो हुनुपर्ने डरले नुन बारे पनि ३–४ दिन बार्ने, कपाल काट्ने, बर्खी गर्ने, भैँसी, राँगा, बाख्रा, खसी मार्ने गर्दछन् । (स्मरणरहोस्, कुलुङ जातिमा मृतकलाई चढाउँदा/बिदा दिँदा सिङ भएको जनावर चल्दैन ।)

कुलुङ जातिको उत्सव र चाडपर्वहरूमध्ये चाक्चाकुर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम÷साइपोको आदि प्रमुख हुन् भने साह्रै अनिकाल प¥यो, दुःख, बिमार भयो भने मात्रै ‘देदाम’ गर्ने प्रचलन छ । तर, यो साह्रै खर्चिलो हुन्छ । जोडी सुंगुर, असंख्य कुखुरा, दी र हाङ्मुवा (जाँड रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुंगुरलाई ढाडमा तरबारले हानेर मार्नुपर्छ ।

त्यसरी सुंगुर मार्दा नोक्छोले एकपटकमा जति गहिरो काट्न सक्छ त्यो भन्दा माथिको भाग नोक्छोले आफ्नो घरमा लाने प्रचलन छ । तोस गर्दा ‘योंङ्कुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’ मा लिप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दी’ ले सुक्तुलू (चुल्हो) पुजिन्छ । यो पूजा ठाउँअनुसार फापर, जौ र कोदोको जाँडले गरिन्छ ।

यसरी हेर्दा कुलुङ जातिको संस्कारगत कुराहरू बाहुन–क्षेत्री त के अहिलेसम्म कथित् ‘राई जाति’ एकै हौँ, भाषा मात्रै फरक हो ! भनिएका किरातीहरू, जस्तै आठपहरिया, याम्फु, बान्तावा, तिलुङ, बाहिङ आदिसँगसमेत मिल्दैन । फेरि हिन्दू जात समूहमा जसरी पण्डित जो भए पनि संस्कार गर्न मिल्छ वा हुन्छ, त्यसरी कुलुङको घरमा आएर आठपहरिया, याम्फु, बान्तावा, बाहिङ आदिका धामी वा पूर्खाले पूजाआजा गर्न मिल्दैन । कुलुङ जातिकै नोक्छो, मोप वा पूर्खा चाहिन्छ ।

किनभने, कुलुङको सुक्तुलु अर्थात् चुला अरू जातिले छुनसमेत हुँदैन । वास्तवमा यो यथार्थ कुलुङ जातिमा मात्रै लागू नभएर हालसम्म राईकरणको मारमा परेका आठपहरिया, बान्तावा, बाहिङ, तिलुङलगायात सम्पूर्ण किरातीहरूको हकमा लागू हुन्छ ।

 

प्रतिक्रिया